शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘तराई मधेशमा १२ महिना नै सिँचाइ सुविधा पुर्याइने’

सोमबार, २५ कात्तिक २०७६, २० : ३१
सोमबार, २५ कात्तिक २०७६

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले ऊर्जा क्षेत्रसँगै कृषिउपजको अभिवृद्धिका लागि सिँचाइतर्फ पनि उल्लेख्य ध्यान दिएको बताएका छन् । उनले भने, “सरकारले सिँचाइतर्फ ठूला आयोजना अघि बढाइरहेको छ, तराई मधेशमा बाहै्र महिना सिँचाइ सुविधा उपलब्ध गराउने गरी योजना अगाडि बढेको र पहाडमा लिफ्ट सिँचाइका लागि काम भइरहेको छ ।”

शिष्टाचार भेटका लागि पुगेको जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका विदेश मामिला हेर्ने विभागका उपमहानिर्देशक ताकामी नाकाडा नेतृत्वको प्रतिनिधिमण्डलसँग मन्त्री पुनले सो कुरा बताए । । 

सो अवसरमा जापानी प्रतिनिधिमण्डलले नेपालको सिँचाइ क्षेत्रमा सहयोग गर्न आफूहरु तयार रहेको बताएको थियो । नेपालका लागि जापानी राजदूत मसामिची साइगोसमेत सहभागी भेटमा सिँचाइ र जलविद्युत् क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो । 

उपमहानिर्देशक नाकाडाले कृषि, जलस्रोत र सिँचाइको क्षेत्रमा जापानले गर्दै आएको सहयोगको निरन्तरता हुने भन्दै थप सहयोग गर्न जापान तयार रहेको बताएको थियो। मन्त्री पुनले जापान–नेपालको पुरानो विकास साझेदार मुलुक भएको भन्दै आगामी दिनमा पनि दुई देशको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । 

जापानले कन्काई सिँचाइ आयोजनामा पु¥याएको सहयोगप्रति धन्यवाद दिँदै मन्त्री पुनले सिँचाइको क्षेत्रमा थप सहयोगको अपेक्षा गरेको बताए । उनले जापान सरकारको सहयोगमा मन्त्रालय मातहत अनुसन्धान केन्द्र रहेको र सरकारले त्यसमा पहिलोपटक अनुसन्धानका लागि रु २० करोड बजेटसमेत विनियोजन गरेको जानकारी दिँदै उक्त संस्थासँग सहकार्य गर्न पनि उपनिर्देशकसँग आग्रह गरे । 

त्यसैगरी सिँचाइ क्षेत्रमा जलउपभोक्ता समिति सक्रिय रहेको र काम पनि प्रभावकारी रहेको भन्दै त्यसमा सहकार्य गर्न सकिने विषयमा छलफल भएको थियो ।  त्यस अवसरमा सिक्टा सिँचाइ परियोजनामा देखिएको घुलनशील माटोको समस्या देखिएको भन्दै समाधानका लागिसमेत छलफल भएको थियो । यस्तै नलसिङ्गाड जलविद्युत् आयोजनाको बारेमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप