शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एउटा फोन जसले सुनको मोलमोलाइ गर्न नभ्याउँदै समातिए २ जना

सोमबार, २५ कात्तिक २०७६, १३ : २८
सोमबार, २५ कात्तिक २०७६

काठमाडौँ । महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी बालनर सिंह राणाको नेतृत्वमा आइतबार साँझ ६ बजे तार्केश्वर नगरपालिका–५ सानोपुल शेषमति पुग्यो ।

आइतबार दिउँसो ३ बजेतिर डीएसपी राणालाई एउटा फोन आएको थियो – ‘एउटा नेवारी खाजाघरमा अवैध रुपमा सुनको कारोबार हुन्छ । त्यस्ता गतिविधि रोक्न पर्यो ।’

डीएसपी राणा सोही मिसन सफल पार्न त्यहाँ पुगेका थिए । सादा पोसाकमा गएका डीएसपी राणासँग एकजना प्रहरी जवान मात्र साथमा थिए ।

खाजा पसलमा पुगेका राणाले नेवारी खाजा सेट अर्डर गरे । खाजा खाँदै गर्दा तीनजना खाजा पसलमा छिरे । एक साइडको कुनामा बसेका डीएसपी राणाले उनीहरुको गतिविधि नियालिरहेका थिए ।

तीनजना मध्येका एकजनाले तीनवटा चुरोट मागे । होटल साहूले चुरोट दिए । चुरोट तान्दै त्यहाँ उनीहरुबीच कुराकानी सुरु भयो– ‘अहिले ३ केजी छ । बाँकी २ केजी छिट्टै व्यवस्था गर्छौं ।’

तीनजना मध्ये २ जना बेच्ने र एकजना किन्ने व्यक्ति थिए । सुन किन्न आएका व्यक्तिले टाउको हल्लाएर सहमति जनाए ।

मोलमोलाई चलिरहेकै बेला सुन किन्न आएका व्यक्ति ट्वाइलेट जान्छु भन्दै बाहिर निस्किए । बाहिर निस्किएका ती व्यक्ति होटल भित्रै आएनन् ।

ती व्यक्तिले पहिले नै प्रहरी चिनेर भागेको हुनसक्ने प्रहरीको अनुमान छ ।

डीएसपी राणाले तत्कालै त्यहाँ रहेका २ जनालाई नियन्त्रणमा लिए । नियन्त्रणमा लिएका व्यक्तिहरुको साथबाट प्रहरीले ३ केजी नक्कली सुन समेत बरामद गरेको छ ।

डीएसपी राणाले नियन्त्रणमा लिएका व्यक्ति हुन् रसुवा कालिका गाउँपालिका–२ का निमा तामाङ र फुर्वा स्याङबा । अनुसन्धानको क्रममा उनीहरुले चीनबाट नक्कली सुन ल्याएर बेच्ने गरेको बताएका छन् ।

सोधपुछको क्रममा भागेका ती व्यक्ति सुनचाँदी व्यवसायी रहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । नाताले दाइ पर्ने लुर्बु तामाङले चीनबाट नक्कली सुन आफूहरुलाई पठाउने गरेको समेत उनीहरुले प्रहरीसमक्ष बयान दिएका छन् ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको र फरार रहेका व्यक्तिको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप