बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

डा.गोविन्द केसीलाई सुविधासम्पन्न अस्पताल लैजाने पहल विफल, सर्वपक्षीय बैठकमा जुटेन सहमति

सोमबार, २५ कात्तिक २०७६, १३ : ०८
सोमबार, २५ कात्तिक २०७६

काठमाडौं– विगत ८ दिनदेखि डडेल्धुरामा आमरण अनशनरत डा. गोविन्द केसीलाई सुविधासम्पन्न अस्पताल पठाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुराले गरेको पहल विफल भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयकै पहलमा बोलाइएको सर्वपक्षीय बैठकले ‘डा. केसीलाई इच्छाविपरीत लान मिल्दैन’ भन्दै उनको माग सम्बोधनका लागि सबैले पहल गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले रातोपाटीलाई दिएको जानकारीअनुसार बैठकमा सहभागी प्रतिनिधिहरुले जोर जबरजस्ती गरेर डा.केसीलाई बाहिर पठाउन नहुने तर्क गरेका थिए । डा.केसीका सहयोगीहरुले संघीय सरकार वा प्रदेश सरकारका प्रतिनिधि आएर माग पुरा गर्ने सम्बन्धमा प्रतिबद्धता जनाएको अवस्थामा मात्र डा. केसीसँग सुविधा सम्पन्न अस्पतालमा लैजानेबारे आफूहरुले कुरा गर्न सक्ने बताएपछि बैठक निष्कर्षमा पुग्न नसकेको हो ।

डा.केसीको स्वास्थ्य चिन्ताजनक
डडेल्धुरा अस्पतालका प्रमुख डा.जितेन्द्र कँडेलका अनुसार डा.केसीको स्वास्थ्य अवस्था चिन्ताजनक छ । डा.केसीको मुटुको चाल बढ्न थालेको, रक्तचाप घट्दै गएको तथा रगतमा अक्सिजनको मात्रा घटेको उनले बताए । 
जिल्ला अस्पतालमा आइसीयु सेवा, एबीजी सेवा, दक्ष जनशक्ति र उपकरणसमेत नभएका कारण आकस्मिक रुपमा भइपरी आउने समस्यालाई व्यवस्थापन गर्न कठिन हुने उनले बताए । कुनै पनि बेला डा. केसीको स्वास्थ्य अवस्था आफूहरु र जिल्ला अस्पतालको क्षमताभन्दा बाहिरको परिस्थितिमा पुग्न सक्ने उनको भनाइ छ ।

हेलिकप्टर तयारी अवस्थामा

डा.केसीलाई लिनका लागि डडेल्धुरामा हेलिकप्टर पुगेको छ । सेनाको रनबम गण दहब्यारेकमा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलले अझै पनि आफूले डा. केसीलाई बाहिर पठाउनका लागि सरोकारवालासँग छलफल र परामर्श गर्ने बताए । ‘सर्वपक्षीय बैठकमा सहमति त जुटेन तर पनि म दिनभर यसमै पहल गर्नेछु,’ उनले भने, ‘हेरौं, दिनभरीमा के हुन्छ !’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप