शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मन्त्री पोखरेलद्वारा डा.केसीलाई अनशन तोड्न आग्रह

सोमबार, २५ कात्तिक २०७६, १३ : ०३
सोमबार, २५ कात्तिक २०७६

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनशनरत डा.गोविन्द केसीले उठाएका मुख्य माग पूरा भइसकेको भन्दै उनलाई अनशन तोड्न आग्रह गरेका छन् ।

मन्त्रालयद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले डा.केसीले उठाएका सबैजसो माग पूरा भइसकेको भन्दै चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा सहयोग गर्न उनलाई अपिल गरे । चिकित्सा शिक्षामा सुधारको माग राख्दै आएका डा.केसी ६ दिनदेखि १७औँ पटक डडेल्धुरा पुगेर अनशन बसेका छन् । डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गए पनि सरकारले माग सम्बोधनमा पहल नगरेको भन्दै डा केसीका समर्थकले प्रदर्शन गर्दै आएका छन् । 

मन्त्री पोखरेलले भने, ‘अहिले सिङ्गो देश कालापानी र लिपुलेकलगायत नेपाली भू–भाग अतिक्रमणको बहसमा केन्द्रित भएको अवस्थामा अनशन तोडेर राष्ट्रियताको विषयमा केन्द्रित हुन आग्रह गर्दछु ।’ कालापानी, लिपुलेकलगायत नेपाली भूभाग अतिक्रमणबारे भारतसँग कूटनीतिक रुपमा समाधानको माग गर्दै विभिन्न राजनीतिक भ्रातृ सङ्गठन, नागरिक समाज र युवाले विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएका छन् । कालापानी, लिपुलेकलगायत नेपाली भूभागलाई भारतीय क्षेत्रका रुपमा चित्रित गरी भारतले हालै प्रकाशित गरेको नयाँ नक्साप्रति विरोध जनाउँदै आएका छन् । 

मन्त्री पोखरेलले शिक्षा नीति र विज्ञान प्रविधि नीतिको टुङ्गो लागिसकेको जानकारी दिए । उनले समग्र शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताए । शिक्षासम्बन्धी कार्यक्रममा भाग लिन मन्त्री पोखरेल आजै फ्रान्सको राजधानी पेरिस प्रस्थान गर्दै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप