बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तहले ३३ वटा नयाँ सडकको ट्र्याक खोले

सोमबार, २५ कात्तिक २०७६, १२ : १३
सोमबार, २५ कात्तिक २०७६

स्थानीय तहले आर्थिक वर्ष २०७५/७६ मा २१५ किलोमिटर सडक नयाँ ट्र्याक खोलेको बताएका छन् । स्थानीय तहले आफ्नै लगानीमा जिल्लाका सातै वटा स्थानीय तहले २१५ किमी सडकको ट्याक खोलेका हुन् । 
 
गाउँगाउँमा कच्ची सडक निर्माण गर्ने मुख्य उद्देश्य बनाएका जाजरकोटका स्थानीय तहले अघिल्लो आर्थिक वर्षमा यो परिणामको सडक निर्माण गरी यातायातका साधन सञ्चालन गरेको बताएका छन् । 
 
जिल्लाको भेरी नगरपालिकाले ३४.६३ किमी, नलगाड नगरपालिकाले ४.५ किमी नयाँ ट्र्याक खोलेको छ भने ५२.९ किलोमिटर मर्मतका साथै स्तरोन्नति गरेको बताएको छ । छेडागाडले ३४.७२ किमी नयाँ सडक र ३३.३४ किलोमिटर सडक स्तरोन्नति गरेको छ । 
   
बारेकोट गाउँपालिकाले चार वटा सडक ट्याक खोलेको छ । त्यस्तै कुशे गाउँपालिकाले १४२ किमी, जुनीचाँदे गाउँपालिका २०, शिवालय गाउँपालिकाले नौ किमी गरी ३३ वटा आन्तरिक नयाँ सडकको ट्याक खोलेको छ ।

भेरी नगरपालिकाले २६.९ किलोमिटर सडक ग्राभेल गरेको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए । तेत्तिस किलोमिटर सडक स्तरोन्नति गरेको उनको भनाइ छ । सातै स्थानीय तहले ११० किलोमिटर पुरानो सडकलाई स्तरोन्नति गरेको बताएका छन् ।
  
सबै स्थानीय तहले मूल सडकबाट आफ्नो प्रशासकीय केन्द्रमा कच्ची सडक निर्माण गरी यातायातको पहुँच विस्तार गरेको बताएका छन् । बारेकोट गाउँपालिकाले यसै आर्थिक वर्षभित्र यातायात सञ्चालन गर्ने लक्ष्य राखेको छ ।
  
जाजरकोट–डोल्पा सडक खण्डबीचमा रहेको नलगाड नगरपालिका, भेरी नगरपालिका, शिवालय गाउँपालिका र छेडागाड नगरपालिकाले मूल सडकसँग आन्तरिक सडक जोडेका छन् । त्यस्तै मध्यपहाडी लोकमार्ग (पुष्पलाल) सँग भेरी नगरपालिका, शिवालय र छेडागाड नगरपालिका आफ्ना आन्तरिक सडक जोडेका छन् । 

सडक निर्माणलाई विशेष जोड दिएका स्थानीय तहले जिल्लाको विकासलाई मूल प्रवाहमा ल्याउन बजेटको अभाव भएको बताएका छन् ।
 
हिउँदयाममा मात्र सडक सञ्चालन ल्याउन सकिने तर वर्षायाम सडक भत्किने भएको समस्या हुँदै आएको छ । ठाउँठाउँमा रहेका खोलामा पुल नहुँदा सडक निर्माणका लागि आवश्यक सामग्री ल्याउन समस्या भएको छ ।
  
सङ्घीय सरकारबाट निर्माण भइरहेका सडकको स्तरोन्नतिमा ढिला हुँदा स्थानीय सडक निर्माणमा बाधा पुगेको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताए ।   

सडक निर्माणमात्र मुख्य विषय बनाउनुभन्दा पनि विकासका सबै कुरा जोडेर लिएमा मात्र जनताको जीवनस्तर बदल्न सहयोग पुग्ने कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप