शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तारे होटल र पार्टी प्यालेसमा यसरी पुग्छ भारतदेखि आएको गुणस्तरहीन मासु

आइतबार, २४ कात्तिक २०७६, १९ : ०९
आइतबार, २४ कात्तिक २०७६

-प्रयास श्रेष्ठ/मदन ढुङ्गाना

काठमाडौं । भारतबाट अवैध रुपमा गुणस्तरहीन मासुजन्य पदार्थ आयात गरेर बेचबिखन हुने गरेको खुलासा भएको छ । राजधानीका विभिन्न होटल, क्यासिनो तथा रेष्टुरेन्टका लागि भन्दै अवैध रुपमा ल्याइएको झण्डै १२ हजार किलोग्राम मासुजन्य पदार्थ राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएर नष्ट गरेसँगै सो खुलासा भएको हो ।

अवैध गिरोहले दुई वटा भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरी सो परिमाणको मासु नेपाल भित्र्याउँदै गर्दा विभागले गत १९ गते थानकोटबाट नियन्त्रणमा लिएको थियो । 

चिप्स, कुरकुरे लगायतका फास्फूड सामान बोकेको ट्रक खानतलासी गर्दा विभागले अवैध मासुजन्य पदार्थ फेला पारेको थियो । उक्त ट्रकमा बोइलर कुखुराको मासुसँगै मलेसियन हाँसको मासु, गाईको मासु (बिफ), साल्मन जातका माछा सहित तयारी ड्राई मिट समेत ल्याएको भेटिएको छ । 

यसरी ल्याएको मासुको आयातकर्ता तथा निर्यातकर्ता कसैको पनि नाम उल्लेख नभएको र मासुको बिल बिजक समेत केही नभएको पाइएको छ । भारतदेखि सर्लाही भन्सार हुँदै राजधानी भित्रदै गर्दा राजस्व अनुसन्धान विभागले विशेष सूचनाको आधारमा  नागढुङ्गाबाट सो ट्रक सहित मासु नियन्त्रणमा लिएको हो । अवैध मासु सहितको ट्रक गत कात्तिक १४ गते सर्लाही भन्सारबाट जाँच पास भएर काठमाडौंका लागि छुटेको खुलेको छ । 

नियन्त्रणमा लिइएको ट्रकमा १० हजार ३ सय ७८ केजी सेतो बोइलर कुखरा मासु, ५५ केजी कवाफ, ५३८ केजी हाँसको मासु, ६० केजी केभ स्टिक, ६० केजी सालमन माछा र ४ सय ६८ केजी प्राउन गरी जम्मा ११ हजार ५ सय ४९ केजी मासुजन्य पदार्थ ल्याएको भेटिएको विभागले बताएको छ । 

योसँगै ट्रकमा दुई हजार ७ सय २० केजी बटर, एक हजार ४ सय ८८ केजी ट्रोपोलाइट क्रिम, एक हजार ५ सय केजी केराउ र केही मात्रामा मकै समेत ल्याइएको विभागले बताएको छ । 
मासु र मासुजन्य वस्तु ढुवानी गर्न प्रयोग गरिएका दुई वटै गाडी नियन्त्रणमा लिइएपनि मासु ल्याउने गिरोह भने फरार छ । मासु ल्याउन प्रयोग गरिएको एउटा ट्रकको चालक भने विभागको नियन्त्रणमा छन् । 

किन ल्याइयो भारतबाट बोनलेस चिकेन ?
भारतमा चिकेन अर्थात् कुखुराको मासुको मूल्य नेपालमा भन्दा सस्तो पर्छ । भारतमा दानादेखि उद्योग खोल्न पनि सस्तो पर्ने र सरकारले अनुदानसमेत दिने भएकाले त्यहाँ बोनलेस चिकेनको मूल्य प्रतिकेजी २ सय ९० देखि ३ सय १० नेपाली रुपैयाँमा पाइन्छ । तर नेपालमा भने बोनलेस चिकेनको मूल्य ५ सय ५० रुपैयाँ रहेको छ । 

भारतमै ३ सय रुपैयाँको हाराहारीमा बोनलेस चिकेन पाएपछि काठमाडौं आइपुग्दा प्रतिकेजी ३० रुपैयाँ खर्च भएपनि ३ सय ४० रुपैयाँमा आइपुग्छ । जबकी बजारमा ५ सय ५० रुपैयाँ रहेको बोनलेस चिकेन ५ सय रुपैयाँमा बेचेपनि त्यही चिकेन बिक्री हुन्छ । भारतीय चिकेन सस्तोमा पाइने भएपछि नेपालमा ठूला पार्टी प्यालेस तथा तारे होटलहरुमा नेपाली कुखुराको मासु सप्लाई हुन छाडेको थियो । 

नेपालका तारे होटलहरुमा कहाँबाट मासु जान्छ भनेर खोज्दै जाँदा भारतबाट अवैधरुपमा मासु आयात भइरहेको तथ्य भेटिएको छ । 

वैशाखमा कम्पनी दर्ता, ७ महिनामा ८ पटक सामान आयात
कात्तिक १९ गते नागढुङ्गाबाट नियन्त्रणमा लिइएको भारतीय नम्बर प्लेटको एच आर ५५ आर ४८५० र यूपी ८३ एटी ९६४७ गाडी शुक्रबार बेलुका राजश्व अनुसन्धान विभागले सिल खोलिहेर्यो । 

विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएको उक्त गाडीमा उनीहरुले भनेको भन्दा फरक सामान आएको छ भन्ने उजुरी परेको थियो । तर गाडीमा के सामान राखिएको छ भन्ने कुराचाहिँ राजश्व अनुसन्धान विभागलाई पनि थाहा थिएन । 

जब शुक्रबार गाडी खोलेर हेरियो, केराउ र फिङ्गर चिप्स ल्याएको भनिएको गाडीमा त १० हजार किलो कुखुराको मासु र ४ सय किलो टेण्डरलाइन पाइयो । 

हरियो केराउ र फिङ्गर चिप्सको नाममा सर्लाहीको मलंगवा भन्सार कार्यालयबाट कात्तिक १४ गते भन्सार जाँचपास पूरा गरेको उक्त गाडी कात्तिक १९ गते काठमाडौं आइपुगेको थियो । भन्सार छली गरी अरु नै सामान ल्याएको सुराकीपछि राजश्व अनुसन्धान विभागले उक्त गाडी नियन्त्रणमा लिएको थियो । 

दुई मध्ये एउटा गाडी सी आर टे«डिङले मगाएको सामानले भरिएको थियो भने अर्को गाडीचाहीँ दिपज्योति सप्लायर्स पेप्सीकोलाको नाममा आएको थियो । 

सी आर ट्रेडिङ नामक कम्पनी गएको वैशाख १३ गते मात्रै आन्तरिक राजश्व कार्यालयमा दर्ता गरिएको थियो । राजश्व कार्यालयमा वैशाखमा कम्पनी दर्ता गरेलगत्तै यो कम्पनीले भारतबाट हरियो केराउ, आलु लगायतको नाममा सामान ल्याएको भन्दै भित्री भागमा कुखुरा तथा बफ र बिफको मासु ल्याउने गरेको थियो । भन्सार कार्यालयको रेकर्ड हेर्ने भने सी आर ट्रेडिङले गएको वैशाखदेखि कात्तिक महिनासम्म ८ पटक सामान ल्याइसकेको छ । 

होटल सोल्टीका लागि ल्याइएको थियो गाईको मासु
राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएका दिपज्योति सप्लायर्सले चाहिँ सोल्टी होटलका लागि मासु ल्याएको बताएको छ । 

यद्यपि उसले पनि भन्सार प्रज्ञापन पत्रमाचाहिँ हरियो केराउ र फिङ्गरचिप्स तथा केही मात्रामा बेक्टी फिस ल्याएको प्रज्ञापनपत्र बनाएको थियो । अवैध गिरोहमा मुछिएको सप्लायर्स दीपज्योति प्रा.लि रहेको बुझिएको छ । यसका सञ्चालक बासुदेव मरहठ्ठा हुन् ।

तर दीपज्योतिले पनि बफ ल्याएकोचाहीँ खुलाएको थिएन । जब विभागले ट्रक नियन्त्रणमा लियो, त्यसपछि अनुसन्धान गर्दै जाँदा दीपज्योतिले बफ ल्याएको दावी गरेको छ । तर खासमा त्यो बफ अर्थात् भैंसीको मासु हो कि बिफ अर्थात् गाई÷गोरुको मासु हो खुलेको छैन । भारतमा बफ धेरै नचल्ने भएकाले त्यो बिफ अर्थात् गोरुको मासु हुनसक्ने अनुमान गरिएको छ । 

अनुसनधानका क्रममा दीपज्योति सप्लायर्सका सञ्चालक बासुदेव मरहठ्ठाले उक्त मासु सोल्टी होटलका लागि ल्याइएको बताएका छन् । 

सोल्टी होटलसँग एक वर्षका लागि मासु दिने एग्रिमेण्ट भएको भन्दै उनले सोल्टी होटलकै लागि उक्त मासु ल्याएको प्रारम्भिक बयान दिएका छन् ।

त्यसैगरी दीपज्योति सप्लायर्सले पनि यसअघि पटकपटक भारतबाट सामान ल्याएको देखिन्छ । उसले भारतबाट सामान ल्याउँदा प्रायजसो हरियो केराउ र फिङ्गरचिप्सका नाममा सामान ल्याउने गरेको देखिन्छ । 

यसपटक पनि दीपज्योति सप्लायर्सले भन्सार कार्यालयमा हरियो केराउ र फिङ्गर चिप्सकै नाममा भन्सार प्रज्ञापनपत्र बनाएको थियो । तर गाडीको भित्री भागमा भने १० हजार किलो बोनलेस चिकेन ल्याइएको थियो । 

काठमाडौंका तारे होटल र ठूला पार्टी प्यालेसमा भारतीय मासु


अहिले काठमाडौंका धेरैजसो तारे होटल र ठूला पार्टी प्यालेसहरुले नेपाली कुखुराको मासु प्रयोग गर्ने गरेका छैनन् । भन्सार छली तथा क्वारेन्टाइन चेकजाँज नगरी मासु ल्याउने हो भने नेपाली भन्दा भारतीय मासु सस्तो पर्छ । पार्टी प्यालेसहरुले सस्तोमा मासु पाउने भएपछि नेपाली भन्दा भारतीय मासु प्रयोगमै जोड दिने गरेका छन् । नेपालका तारे होटलहरुले पनि सस्तो मूल्यमै भारतीय मासु पाउने भएपछि उनीहरुको ध्यान पनि भारतीय मासुकै केन्द्रीत रहने गरेको छ । 

तर क्वारेन्टाइन चेकजाँज नभएको मासु स्वस्थ छ कि छैन भनेर ध्यान दिन भने सकिएको छैन । बर्ड फ्लु तथा अन्य मासुजन्य रोगको बिगबिगी बढिरहेको स्वास्थ्य परीक्षण नगरिएको भारतीय मासुले जुनसुकै बेला भयावह स्थिति भने ल्याउन सक्नेछ । 

अहिले विश्वभर नै अन्य देशबाट मासु ल्याउँदा धेरै सतर्कता अपनाउने गरिएको छ । तर नेपालमा भने भन्सारमा सेटिङ मिलाएर स्वास्थ्य जाँच नगरिएको अस्वथ मासु पनि खुलेआम आयात हुँदै पार्टी प्यालेस र तारे होटलहरुमा पुगिरहेको छ ।  

भारतबाट मासु ल्याउने कानुनी व्यवस्था के छ ?
नेपालमा अहिले दैनिक ५ लाख किलो कुखुराको मासु खपत हुन्छ । त्यसमध्ये ३ लाख ५० हजार किलो मासु उपत्यकामा खपत हुन्छ भने बाँकी १ लाख ५० हजार किलो अन्य भूभागहरुमा हुन्छ । 
नेपालमा उत्पादन भएको कुखुराले नै बजार धान्न सक्ने अवस्था रहेको छ ।

तर नेपालमा उत्पादित कुखुराले नै बजार धान्ने भएपनि भारतबाट लुकिछिपी कुखुराको मासु ल्याउने गरिएको थियो । 

यदि सबै प्रक्रिया पूरा गरेर भारतबाट मासु ल्याएमा करिब ५१ प्रतिशत महसुल र कर तिर्नुपर्छ । भारतबाट तयारी मासु ल्याएमा ३० प्रतिशत भन्सार महसुल, ५ प्रतिशत अन्तशुल्क र त्यसको १३ प्रतिशत मूल्य अभिवृद्धि कर तिर्नुपर्छ । यो सबै शुल्क जोड्दा करिब ५१ प्रतिशत महसुल तिर्नुपर्ने हुन्छ । 

५१ प्रतिशत महसुल तिर्दा नेपालमा भन्दा महङ्गो पर्ने भएपछि विधिसङ्गत ढङ्गबाट कुखुराको मासु आयात हुँदैन । केही होटलले नेपालमा उत्पादन नहुने गाईको मासु विधिसङ्गत बाटोबाट ल्याउने गरेपनि नेपालमै पाइने मासु भने भारतबाट आयात हुने गरेको छैन । 

तर भन्सार कार्यालयमा सेटिङ मिलाउन सकेमा र झुक्याएर सामान ल्याउन सकेमा एक किलो बोनलेसमै १ सय ६० रुपैयाँ मात्रै नाफा लिन सकेमा पनि एक ट्रकमा ३० हजार किलो चिकेन ल्याउन सकिन्छ । एक ट्रक चिकेन भारतबाट ल्याउन सकियो भने एक ट्रकमै ४८ लाख नाफा हुन्छ ।

तर एक ट्रक चिकेन ल्याएर हरियो केराउको नाममा भन्सार महसुल काट्न सकेमा पनि करिब २० लाखको फाइदा हुन्छ । 

अहिले भारतमा हरियो केराउको खुद्रा मूल्य करिब ७० रुपैयाँ प्रतिकिलो रहेको छ । होलसेलमा सामान ल्याउँदा करिब ६५ रुपैयाँ भारतीय अर्थात् १ सय ४ नेपाली रुपैयाँमा ल्याउन पाइन्छ । 

हरियो केराउमा जम्मा १० प्रतिशत भन्सार महसुल मात्रै लाग्ने भएकाले भन्सार कार्यालय आइपुग्दा १ सय १५ रुपैयाँ हुन्छ । भारतबाट नेपालसम्म सामान आइपुग्न प्रतिकिलो करिब ६ रुपैयाँ लाग्छ । यसरी १ सय २० रुपैयाँमै हरियो केराउ नेपाल आइपुग्छ । 

तर महङ्गो मूल्यको सामान र महङ्गो भन्सार महसुललाई छलेर चिकेन ल्याएर हरियो केराउकै दाममा भन्सार महसुल तिर्दा नेपाल सरकारलाई एक किलो चिकेनमै करिब १ सय ५० रुपैयाँ राजश्व घाटा लाग्छ । एउटा ट्रकमा ३० हजार किलो सामान आउने भएकाले यदि चिकेन मात्रै ल्याएमा सरकारलाई कम्तीमा ४० लाख रुपैयाँ राजश्व घाटा हुन्छ । तर यी कम्पनीहरुले महिनौंदेखि यसैगरी झुक्याएर वा छली गरेर चिकेन र बफका नाममा बिफ अर्थात् गोरुको मासु ल्याउने गरेका थिए । 

शुक्रबार नियन्त्रणमा लिइएका गाडीमध्ये सी आर ट्रेडिङ रिंकी चौधरी साहको नाममा दर्ता छ । यद्यपि यसको मालिकचाहिँ भारतीय नागरिक राजु रियाजुद्दिन रहेका छन् । राजुका सहयोगीलाई भने राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिइसकेको छ । तर मालिक राजु भने फरार छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप