केन्द्रीय संस्करण

टोल कपमा राजनीतिक हुटिङ !

person explore access_timeकात्तिक २४, २०७६ chat_bubble_outline0

अरूले वल्र्ड कप खेल्छन्, हामी टोल कप ! माथिको वाक्य, सन् २०१८ को रसिया विश्वकपताका मेरो एउटा साथीको फेसबुक स्ट्याटस हो । नेपालीहरुले विश्वकपमा सहभागिता नजनाए पनि खेलकुदप्रतिको क्रेज कम्तीको छैन । गाउँदेखि सहरसम्म, युवादेखि वृद्धासम्म खेलकुको मोह उत्तिकै छ । नेपालीहरुले टोलकप खेल्न थालेको शताब्दी नै वितिसक्यो । टोलकप पनि चार्डपर्व, मेला र महोत्सव विशेष बन्दा त्यसको अवस्था पनि कम्ती बिजोगको छैन । अझ टोलकपमा मिसिने राजनीतिक गन्धले आजभोलिको टोलकपको चमकसमेत हराउँदै गएको छ । एकातिर चार्ड पर्वहरुमा मात्र हुने टोल कप, अर्काेतिर राजनीतिका हस्तक्षेप र हुटिङ ! बडो गज्जब !

नेपालीहरुका लागि चाडपर्व र खेलकुद उस्तैउस्तै हुन् । मान्ने र सहभागिता जनाउने मात्र ! समग्रतामा खास उपलब्धि हासिल गर्न नसक्ने र औपचारिकता मात्र ग्रहण गर्ने । अझ यसो भनौँ हाम्रा खेलकुद चार्ड पर्वहरुमा मनोरञ्जनको साधन मात्र बने, राष्ट्रका लागि साध्य बन्न सकेन । 

कहिलेकाहीँ चाडपर्वहरुमा हुने टोल कपले पनि विशेष महत्त्व राख्छ । महत्त्व यो मानेमा, टोलकपले राष्ट्रिय राजनीति र खेलकुदको बिम्ब प्रस्टै खिच्छ । अस्थायी रङ्गशाला, अस्थायी मञ्च, अतिथि, सहभागी खेलाडी, हुटिङलगायतका पक्षहरु बिम्बभित्रका पनि प्रतिबिम्बहरु हुन् । जसले सिङ्गो नेपाली समाजको चित्र बोक्छ । अझ सोझो भाषामा नेपाली समाज, राजनीति, खेलकुद र व्यक्तित्वको ऐना हो, टोलकप । 
खुल्ला चौर, बाँझो बारी, बाँझो खेत गाउँघरमा टोलकपका अस्थायी रङ्गाशाला हुन् । अस्थायी रङ्गशालाले राष्ट्रिय खेलकुदको अवस्था जस्ताको तस्तै उजागर गराउँछ । त्यस्तै अस्थायी रङ्गशालाको छेउमा बनाएको अस्थायी मञ्चमा प्रतिनिधित्व गर्ने अतिथिहरुको उपस्थितिले नेपाली राजनीतिको गहिराइ मापन गर्न सघाउ पुर्याउँछ । 

टोलकपमा टोले हैसियत बनाएकाहरु अतिथिको लाइनमा पर्नु र त्यही अनुसारको हैसियत खोज्नु स्वाभाविक छ । कुनै नौलो कुरा भएन । अझ लाजमर्दाे कुरा त के छ भने हैसियत नभएका तर धन भएकाहरुले हैसियत खोज्ने प्रचन व्याप्त बन्दै गएको छ । जसका लागि टोल कप एउटा गतिलो माध्यम बनेको छ । आफ्नो उपस्थिति जनाउने र मै हुँ, भन्ने भावनाको उजागर गर्ने स्थान बनेको छ, अस्थायी रङ्गशाला । खोपडीमा सुँगुरको जति गिदी भएकाहरुका लागि ठूलै स्थान बन्छन् उक्त मञ्च । कम्तीमा आफैले किनेको माला र खादा एक छिन भए पनि घाँटीभरि भिर्दा लाग्दो हो, यो देशको शासक म नै हुँ !

 हैसियत खोज्ने नाममा उपस्थितमध्येबाट सबैभन्दा धेरै रकम सहयोग गरेर प्रमुख अतिथि बन्ने संस्कारको विकास निकै डरलाग्दो छ । प्रमुख अतिथि बन्ने तर हैसियत नभएपछि नामका अगाडि थुप्रै उपसर्गहरु थपिनु स्वाभाविक छ । समाजसेवी, विकासप्रेमी, युवा व्यक्तित्व, जुझारु, मनको धनी, सहयोगी यस्तै यस्तै । उस्तै परे खादा–माला पनि आफै पैसाले किन्न लगाउने । मुतको न्यानो भनेजस्तो, एकछिन भए पनि आफैले किनेको माला घाँटीभरि बोकेर लोकप्रिय बन्ने । अरूले के सोचेका होलान् ? मेरो धरातल के हो ? मेरो हैसियत के हो ? म कुन ठाउँमा उभिँदै छु ? सायद त्यतातिर उसको ध्यान नजाला ।  

हाम्रा गाउँघरहरुमा पछिल्लो समय देखिने गरेका यस्ता घटनाहरुले हाम्रो खेलकुद र राजनीतिलाई त बदनाम गरेकै छ । मुख्य चिन्ता र प्रश्न हाम्रो समाज र संस्कारलाई कतातिर बग्दै छ ? भन्ने हो । 
एउटा कोणबाट हेर्दा हैसियत नभएकाहरुले हैसियत खोज्नु कुनै नौलो कुरा भएन । अर्काेतर्फ हैसियत भएकाहरुको पनि चुरीफुरी कम्तीको छैन । टोल कपमा जानी नजानी राजनीतिक भाषण छाट्ने, आफ्नो विचार बोक्ने समूहलाई प्रतक्ष्य हुटिङ गर्ने, रिबन काट्ने, कलसमा दियो बाल्ने, भकुण्डो हानेर उद्घाटन गर्ने, आफूलाई चित्त नबुझे कार्यक्रम नै बहिष्कार गर्ने र उस्तै परिस्थिति मिले पिर्के सलामी खाने । यस्ता गतिविधिहरु नेपाली समाजले करिब–करिब पचाउन थालिसकेका छन् । 

 टोल कपमा पिर्के सलामी खाने र प्रमुख अतिथि बन्न मरिहत्ते गर्नेको लाइनमा, केन्द्रका मन्त्रीदेखि प्रदेशका सांसदसम्मको मोह देखिन्छन् । उसो त गाउँका सिंहदरबारका शासकहरुमा पनि सलामी मोह कम्तीको छैन । अनि आफ्नो मन्तव्यको क्रममा भन्छन्, यो सबै मेरै कारणले भएको । अर्थात् मैले गरेर ! त्यतिबेला उनले आफ्नो पार्टी, विचार, वर्ग, सङ्गठन, धराताल लगायत सम्पूर्ण भुल्छन् र ममा केन्द्रित गर्छन् । यसरी पछिल्लो समय, टोलटोलमा म वादको राजनीतिक भकुण्डो निकै विकसित भइराखेको छ । म वाद अर्थात व्यक्तिवाद निकट भविष्यमा नै नेपाली राजनीति र समाजमा स्थापित हुने खतरा उत्तिकै छ । जसले गर्दा नेपालको राजनीतिमा लामो समयदेखि विचारको आधारमा बलिदान र सङ्घर्ष गर्दै आएका राजनीतिक पार्टीहरुलाई समेत खतरा हुन सक्छन् म वाद ।  

राष्ट्र र जनताप्रति बफदार हुनुपर्नेहरु ममा केन्द्रित बनेपछि विचार आफै स्खलित हुनु स्वाभाविक पक्ष हो । समाजवाद, साम्यवाद र पुँजीवादका लक्ष्य बोक्नेहरुको गन्तव्य मोडिन्छन् । नातावाद, आफन्तवाद, फरियावाद हँुदै त्यसको जालो भ्रष्टाचारसम्म पुग्छन् । अनि चुनावमा भोट हाल्ने र टोलकपमा अतिथि बनाएर लाने जनताहरुको हैसियत चाहिँ उही । 

टोलकपको हुटिङमा समेत राजनीतिक गन्ध मिसिन थालेको छ । राम्रोलाई होइन हाम्रोलाई हुटिङ गर्ने प्रचलनले फेरि एकपटक नेपाली राजनीतिको झल्को दिन्छन् । आफ्नो विचार समूह मिल्ने टिमलाई हुटिङ गर्ने, हारे धाँधली गर्ने नेपाली राजनीतिले टोलकपलाई सिकाएको अर्काे शिक्षा हो । 

मैले माथि प्रस्तुत गरेको (खेलकुद) टोलकपको घटना एउटा प्रतिनिधि घटना मात्र हुन् । नेपालको समग्र क्षेत्रहरुमा राजनीतिको फोहोरी सञ्जाल उत्तिकै फैलिएको छ । देश विकासमा केन्द्रित हुनुपर्ने राजनीति व्यक्ति र ममा केन्द्रित हुँदा जनताहरुमा राजनीतिप्रतिको घृणा पैदा हुन थालेको छ । सच्चा रूपले विचारको राजनीति गर्नेहरु मौन छन् । छुल्याहा र क्षणिकको राजनीति गर्नेहरु विगविगी छ । त्यसैले अबको चुनावमा भोट माग्दै हिँड्नेहरुको भन्दा पनि नेतादेखि सावाधान नामको ब्यानर बोक्नेहरुको लर्काे नहोला भन्न सकिन्न । 

मुलुकको राजनीतिक संस्कार नसुध्रिएसम्म अन्य क्षेत्र धरासायी बनि नै रहनेछ । राजनीति सेवाको पेसा नबनेसम्म खास अर्थ नहोला । होइन भने हामी अझै पनि वर्षाैंसम्म टोलकप नै खेलिरहनु नपर्ला भन्न सकिँदैन । टोल कपमा प्रमुख अतिथि बन्ने, आफै खादा किनेर लगाउने, नजाने पनि राजनैतिक भाषण गर्ने, पिर्के सलामी खानेहरुको बिगविगी रहिरहने छ । 

नेताहरुमा दम्भको भावना उत्तिकै छ । राजनीति भनेको शासकीय पद हो र शासन गर्नुपर्छ भन्ने भावना नेताहरुको दिमागमा गहिरो गरी बसेको छ । जनताभन्दा नेता पृथक हो, त्यसैले नेता भनेको सुकिलो मुकिला हुनै पर्छ भन्ने छाप माथिदेखि तलसम्मको नेताहरुमा परेको छ । नेता भनेको तडकभडकका साथ हिँड्नुपर्छ र जनता भनेको लुसुक्क परेर  हिँड्नु पर्छ भन्ने गलत संस्कारको विकास समाजमा व्याप्त रूपमा मौलाउँदै छ । 
जबसम्म नेताहरुले आफूलाई जनताको सेवक ठान्दैन तबसम्म हाम्रो राजनीतिक संस्कार, विकास लगायत विभिन्न पक्षहरुको गति टोलकपको भन्दा फरक हँदैन । राजनीतिले नै देशको सबै पक्षलाई प्रभाव पार्ने हँुदा राजनीतिक संस्कार परिवर्तन नभएसम्म हाम्रो अन्य क्षेत्रको परिवर्तन असम्भव नै छ । हामीले जे–जे व्यवस्था बदले पनि, राजनीतिक संस्कार बदल्न सकेनौँ भने जनताको अवस्था पक्कै पनि योभन्दा माथि उठ्ने छैन । त्यसैले नेताहरुमा जनताको सेवक हुँ भन्ने भावना र राजनीतिक संस्कार फेरिनु जरुरी छ । होइन भने यो देशको विकास र मेरो लेखको निकास उस्तै उस्तै हुने प्राय निश्चित छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.