शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफ सोमबार लण्डन जाने

आइतबार, २४ कात्तिक २०७६, १५ : ४३
आइतबार, २४ कात्तिक २०७६

इस्लामाबाद- केही समयदेखि सख्त बिरामी भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ थप उपचारका लागि सोमबार लण्डन जाने भएका छन् । सरिफको स्वास्थ्य स्थिति अध्ययन गरेपछि सरकारले उनलाई बेलायत जाने अनुमति दिएको हो ।  

स्रोतले भनेको छ, ‘नवाज सरिफ नोभेम्बर ११ तारिख सोमबारका दिन लण्डन उड्नुहुने भएको छ ।’ उनी यही नोभेम्बर २७ तारिखमा फर्किने समेत तय भएको स्रोतले जनाएको छ । प्रधानमन्त्रीका विशेष सहयोगी नइम उल हकले सरिफको स्वास्थ्य सम्बन्धी सम्पूर्ण विवरण सरकारले अध्ययन गरेर उनको अवस्था नाजुक रहेको निश्कर्ष निकालेको संचारकर्मीहरुलाई जानकारी दिए ।

उनले भने, ‘हरेक पाकिस्तानीले आफूले चाहेको ठाउँमा उपचार गर्न पाउनु उनीहरुको अधिकार हो, त्यसैले पूर्व प्रधानमन्त्री सरिफलाई पनि विदेश उपचारका लागि सरकारका तर्फबाट कुनै रोकतोक छैन ।’ उनका धेरै विषय अदालतको आदेशका आधारमा हुने भएकाले उहाँ कहिले जाने र कहिले आउने भन्ने कुरा पनि त्यसैमा निर्भर हुने नइमले बताए । 

‘पूर्वप्रधानमन्त्री सरिफलाई कति पटक र कति लामो समय उपचारका लागि विदेश जान दिने भन्ने कुरा अदालतले निर्णय गर्नेछ,’ उनले पत्रकारहरुसँग भने । भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिहेका सरिफ कारागारमै बिरामी भएपछि अदालतकै आदेशमा उहाँलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । 

स्वदेशकै अस्पतालमा केही दिन उपचारपछि उनलाई केही दिनदेखि जाटी उम्र स्थित निवासमै राखेर उपचार गरिएको छ । निवासमा उपचारका लागि उनलाई चिकित्सकहरुको टोली र अति विशिष्ट कक्ष (आइसियु) को व्यवस्था गरिएको थियो ।  पाकिस्तानी सञ्चारमाध्यमहरुका अनुसार ६९ वर्षीय सरिफसँगै उनका भाइ तथा पाकिस्तान मुस्लिम लिग—नवाजका अध्यक्ष शहवाज सरिफ जानेछन् ।–एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप