बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कलाका राष्ट्रिय विभूतिहरुलाई सम्मान गर्दै चलचित्र महोत्सव सम्पन्न

आइतबार, २४ कात्तिक २०७६, १४ : ३१
आइतबार, २४ कात्तिक २०७६

वीरगन्ज– पर्सा क्षेत्र नम्बर १ का सासंद एवम् समाजवादी पार्टीका नेता प्रदीप यादवले आधा जनसंख्या रहेको तराई मधेसको भाषा, संस्कृति, सभ्यता र इतिहासमाथि चलचित्र निर्माण गरेर राष्ट्रिय एकतालाई बलियो बनाउन फिल्मकर्मीलाई अनुरोध गरेका छन् । 

वीरगन्जमा आयोजित ‘चलचित्र स्वर्णिम महोत्सव २०७६’ को समापन कार्यक्रममा  प्रमुख अतिथिको रुपमा बोल्दै सांसद यादवले यस्तो अनुरोध गरेका हुन् ।  ५० वर्षको इतिहासमा पहिलो पटक चलचित्र जगत वीरगन्जमा भेला भएकोमा खुसी व्यस्त गर्दै यादवले  महोत्सव आयोजक नेपाल चलचित्र निर्माता संघलाई धन्यवाद व्यक्त गरे । 

सांसद यादवले छापा र इलेक्ट्रोनिक भन्दा पनि चलचित्र मिडिया सयांै गुणा शसक्त भएको बताउँदै मधेसको इतिहास माथि चलचित्र बनाएर राष्ट्रियतालाई बलियो बनाउन अनुरोध समेत गरे ।   उनले मधेसको समस्यालाइ मिडिया जगतले नउठाएको कारण सयौं युवाहरु सहादत भएको उल्लेख गर्दै मधेसको माग र आन्दोलनलाई आधार बनाएर राष्ट्रियतालाई बलियो बनाउँदै चलचित्र उद्योगलाई अझ शसक्त रुपमा अगाडि बढाउन सकिने उनले भनाई राखे ।

‘अब नेपाली चलचित्रमा मुलुकको ५० प्रतिशत जनसंख्या ओगटेको मधेशको भाषा, कला, संस्कृति, रहनसहन, इतिहास र वीरताको गाथा पनि समावेश हुनुपर्छ’ उनले थपे’, ‘अनि मात्र मधेशमा नेपाली चलचित्रले सम्मान र स्थान पाउने छ ।’

मधेशको भूमी चलचित्र निर्माण र छायाँकनका लागि उत्कृष्ट रहेका उल्लेख गर्दै उनले मधेश र विशेष गरी वीरगन्जमा नेपाली चलचित्रको छायाँकनका लागि नेपाली चलचित्र निर्माताहरुलाई आग्रह समेत गरे ।  कार्यक्रममा वीरगन्ज महानगरका मेयर सरावगीले वीरगन्जमा महोत्सव आयोजन हुनु वीरगन्जको लागि पनि ठूलो अवसर भएकाले महोत्सवले नेपाली चलचित्रलाई मधेशमा पुनरागमन गर्न पनि सहज वातावरण बन्ने बताए ।

बरिष्ठ कलाकार नीर शाहले समय परिवर्तनसँगै भोजपुरी, मैथिली, अवधि, नेवारी लगायतका भाषामा पनि चलचित्र निर्माण हुनसके मात्र फिल्म उद्योग सशक्त हुने धारणा राखे । नेपाली चलचित्रका पुराना र नयाँ कलाकारहरुको सम्मान र बुलबुल, आमा र शत्रुगते चलचित्र प्रदर्शन गरिएके महोत्सव शनिबार सकिएको छ ।

नेपाली चलचित्र क्षेत्रमा विशिष्ट योगदान गर्ने अग्रज कलाकार ऋद्दिचरण श्रेष्ठ, वीरगन्ज घर भएकी नायिका नम्रता श्रेष्ठ, गायक एवम् संगीतकार प्रसाद श्रेष्ठ, भोजपुरी एवम् नेपाली चलचित्रका नायक प्रदेशी साह समेतलाई  सम्मान गरिएको थियो ।

सम्मानित सबैलाई सांसद प्रदीप यादव, वीरगन्ज महानगरका मेयर विजयकुमार सरावगी, बरिष्ठ कलाकार नीर शाहले सम्मानपत्र, खादासहित सम्मान गरेका थिए ।  वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुवोध कुमार गुप्ता, समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादव, वीरगन्ज उद्योग वाणिज्यका पूर्व अध्यक्ष अशोक वैद्य, प्रदेशसभा सांसद ओमप्रकाश शर्मा लगायतकाले आयोजकले महोत्सवका लागि आर्थिक नगरी वीरगञ्जलाई चयन गरेकोमा धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्ता कार्यक्रम वीरगन्ज ल्याए मधेसलाई राष्ट्रिय मुलधारमा जोड्न आआफ्नो क्षेत्रबाट सक्दो सहयोग र समर्थन गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप