बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

१३ औँ साग तोकिएकै मितिमा हुने

शनिबार, २३ कात्तिक २०७६, १३ : ३७
शनिबार, २३ कात्तिक २०७६

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) नेपालमा तोकिएकै समयमा हुने भएको छ । दक्षिण एसियाली ओलम्पिक कमिटीको शनिबार काठमाडौँमा बसेको बैठकले साग तोकिएकै समय अर्थात् मंसिर १५ देखि २४ गतेसम्म गर्ने निर्णय गरको हो । बैठकमा सातवटै देशका ओलम्पिक कमिटीका अध्यक्षको सहभागिता रहेको थियो ।

बैठकमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले दशरथ रंगशाला लगायत अन्य भौतिक संरचनाको निर्माण र तयारी उद्घाटन अघि सम्पन्न भइसक्ने प्रतिवद्धता जनाएका थिए । 

सदस्य सचिव सिलवालले काठमाडौं, पोखरा र ललितपुरका बन्दै गरेका भौतिक संरचना सम्पन्न भइसक्नेमा आस्वस्त पारेका थिए । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सिलवालले सागको मिति अब नसर्ने बताए । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले सरकारको प्रतिबद्धता सहित सागलाई सबै देशले अपनत्व लिएकाले अब साग समयमै भएर छाड्ने बताए ।

यसैगरी बैठकले सागको आगामी १४ औँ संस्करण पाकिस्तानमा आयोजनाका लागि प्रस्ताव गरेको छ । ‘साग आयोजना गर्ने पालो पअब पाकिस्तानको हो । १३ अघि हामी पाकिस्तानको अवस्था बुझ्छौं । पाकिस्तानले गर्न नसक्न जनाएका श्रीलंका र माल्दिभ्सले संयुक्त रुपमा आयोजना गर्ने इच्छा देखाएका छन्,’ पत्रकार सम्मेलनमा श्रेष्ठले भने ।

श्रेष्ठ दक्षिण एसियाली ओलम्पिक कमिटिका पनि अध्यक्ष हुन् । नेपालले सागका लागि आगन्तुक खेलाडी, अफिसियल र पदाधिकारीको एक्रिडिएसन कार्ड, होटल र बसोबास, खेल र अभ्यास स्थल लगायत विषयको तयारीलाई तिब्रता दिएको पनि जनाएको छ । १३ औँ सागका खेलहरु काठमाडौं, ललितपुर, पोखरा र जनकपुरमा हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप