शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पात्रो बिग्रिएको तर्क : २०७७ सालमा असोज महिना हटाउन माग (भिडियोसहित)

शनिबार, २३ कात्तिक २०७६, १२ : ३५
शनिबार, २३ कात्तिक २०७६

काठमाडौँ । पर्व सुधार राष्ट्रिय कार्यान्वयन समितिले २०७७ सालको १ महिना कटौती गरेर समय सुधार गर्नुपर्ने माग गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०६४ सालमा गठन गरेको पर्व सुधार राष्ट्रिय कार्यदलको प्रतिवेदन अनुसार समितिले वर्षमा १ महिना अघि सार्न माग गरेको छ । समय ऋतुमा आएको परिवर्तनका कारण ऋतुको चक्र अनुसार महिना मिलाउनुपर्ने समितिको तर्क छ ।

२०६५ सालमा बुझाएको प्रतिवेदनमा चैत १ गतेलाई नयाँ वर्ष बनाई एक महिनाअघि सार्न प्रस्ताव गरिएको थियो । २०६५ साल पुस १६ गते पात्रो सुधारका लागि १ महिना घटाउने मन्त्रिपरिषद बैठकले निर्णय पनि गरेको थियो ।

समितिका अध्यक्ष हरिनारायण मल्लले विक्रम संवतको पात्रो १ महिना बिग्रिएकोले त्यसलाई १ महिना अगाडि सार्नुपर्ने बताए । वैशाखमा नयाँ वर्ष पर्ने भएकोले चैत १ गतेलाई नै नयाँ वर्षका रुपमा सार्नुपर्ने भन्दै यसअघि सरकारलाई सुझाव दिएको उनको भनाइ छ । पर्व समय सुधारका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको समितिमा रहेर काम गरिरहेको उनले बताए ।

अगामी २०७७ सालमा मलमास असोजमा परेको हुनाले तिथि फरक नपर्ने हुँदा असोज महिनालाई हटाएर त्यसलाई कार्तिक बनाउन आवश्यक रहेको मल्ले बताए । यसरी एक महिना कटौती गर्दा आर्थिक वर्ष, कर्मचारीको निवृत्तिभरण लगायतका विषयमा समस्या पर्ने भएकाले त्यसबारेमा सबै मिलाएर जानुपर्नेमा उनको जोड छ ।

किन वर्षमा १ महिना घटाउने

समितिका अध्यक्ष मल्लले ऋतुको समयमा आएको समयको फेरबदलका कारण वर्षमा एक महिना घटाउनुपर्ने अवस्था आएको बताए । यो सधैँ घटाउनुपर्ने नभइ प्रत्येक २ हजार वर्षमा ऋतु समयमा फेरबदल आउने भएकोले एक महिना वर सार्नुपर्ने उनको तर्क छ ।

उनले भने, ‘सूर्य सवैभन्दा उत्तर गएको र दक्षिण गएको अधारमा उत्तरायण र दक्षिणायण भनिन्छ । माघे संक्रान्ति उत्तरायण हो, साउने संक्रान्ति दक्षिणायण हो भन्ने गर्दछौँ । पहिलाको ऋतुमा माघे संक्रान्तिबाट जाडो महिना सुरु हुँदोरहेछ । त्यसकारण उ बेलाको जमानामा माघ फागुनलाई शिशिर भनेर जनाउँदा रहेछन् । त्यस्तै साउने संक्रान्तिबाट वर्षा लाग्ने भएकाले साउन १ बाट वर्षा हुन्छ भन्ने पूरानो मान्यता रहेछ । तर आजकाल साउन १ गतेबाट वर्षा नभइकन असार १ बाटै वर्षा सुरु हुन्छ । यो कारणले ऋतु स¥यो । जाडो महिना पनि पुस माघ जाडो भन्छौँ हामी तर हाम्रो सबै धार्मिक किताव हेर्दा माघ फागुनलाई जाडो मान्दो रहेछ । त्यो म्याद सकिएको भयो । त्यसकारण वर्षलाई १ महिना वर सारेर सम्पूर्ण चाडपर्वहरु पनि वर तान्यौँ भने बल्ल त्यो चाडपर्वको फाइदा वा त्यसबाट पाइने फल पाउनका लागि १ महिना वर सार्नुपरेको हो ।’

ज्योतिषशास्त्र अनुसार सूर्य ६/६ महिनामा उत्तर दक्षिण जाँदा बन्ने अयन र विषुव दिनहरु ऋतु सूचक हुन् । छोटो दिन लामो दिन आदि २ अयन सहितको १ वर्षलाई दिव्य दिन भनिन्छ । अयन विषुव ७२ वर्षमा १ दिन सर्ने गर्छ । २१५० वर्षमा १ महिना सर्ने मान्यता छ  २६ हजार वर्षमा पूरा चक्र वा ३ सय ६५ दिन नै सर्ने भएकोले सोही चालका आधारमा समय सार्नुपर्ने समितिको तर्क रहेको अध्यक्ष मल्लले बताए ।

यस चक्रलाई अयन चक्र वा ब्रम्हाजीको दिन कल्प र एक महिना सार्नुलाई मन्वन्तर भनिने उनले बताए ।

पर्व सुधारका लागि समितिका अन्य तर्क यस्ता छन्ः

– सिंगो एक महिना एक पटकमा सार्नु नै वैदिक तरिका हो र यसलाई मनु परिवर्तन वा मन्वन्तर भनिन्छ । सूर्य सिद्धान्तमा कल्पलाई १४ मन्यन्तरमा विभाजित गरिएको छ । दुई दुई नक्षत्र गरी १४ हुन्छ तर हाल प्रस्तावित १२ संक्रान्तिको आधारमा १२ मन्वन्तर बन्दछ ।

–यसको आधार १२ आदित्य वा पुरुष पनि हो । एक पुरुष क्षेत्रबाट विषुव वा अयन अर्को पुरुषमा सर्दा विषुव पुरुष सार्नु पर्ने हुन्छ ।

–पश्चिमा तारिकमा १–१ सय वर्षमा १ दिन सारिन्छ । हाम्रोमा यस्तो १–१ दिन सर्ने सयन पद्धति होइन । २१५० वर्षसम्म निरयण गरी एक पटक सायन गरी सारिन्छ । पोप गेग्रोरीले १६ औं शताब्दीमा १० दिन मिलाएर नयाँ प्रथा सुरु गरेका थिए । सो पश्चात एक–एक दिन मिलाउने गरिएको थियो । यसो गर्दा शताब्दीऔं अर्थात १८ सय, १९ सय औं वर्ष प्रयोग गरिन्छ ।

–वेदाङ्ग ज्योतिषमा सायन निर्णयको समन्वय तिथिको आधारमा गरिने कुरा वेदाङ्ग ज्योतिषमा छैठौं श्लोकमा गरेको छ । साथै दुई–दुई महिनाको निर्णय ऋतुलाई १० औं श्लोकबाट साढे ४ नक्षत्रको १ ऋतु तोकेको छ ।

–समय सुधारका लागि भन्दै यसवर्ष गत भदौ २२ गते एक महिना अगाडि नै गोरखाको सिरानचोक गाउँपालिकामा करिब २६३४ जनाले विजयादशमीको टीका लगाएका थिए ।

–गत असार २१ र २२ गते पोखरामा गरेको गोष्ठीबाट पर्व सुधार राष्ट्रिय समाजले पोखरा घोषणापत्र–२०७६ जारी गरेको थियो ।

–जसअन्र्तगत वैज्ञानिक तथा अध्यात्मिक दृष्टिकोणबाट पर्व सुधार अत्यावश्यक रहेको, मुलुकको वर्तमान समय सुधार एवम् पञ्चाङ्ग पात्रो, सायन संक्रान्ति, निरयण संक्रान्ति एवम् चन्द्र महिना तथा अधिकमासको एक महिने हद बिग्रिएको हुँदा पर्व समय सुधार गर्नु अति आवश्यक भएकोले आगामी २०७७ सालको अधिकमासलाई समायोजन गर्दै हाललाई गण्डकी प्रदेश ४ बाट शुभारम्भ गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय घोषणामार्फत गरिएको थियो ।

–साथै क्रमशः अन्य प्रदेशहरुमा समेत पर्व सुधारसहित पञ्चाङ्ग पात्रो वि.स.२०८० सम्म लागू गर्न केन्द्रीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

विभिन्न धर्ममा आधारित पात्रो तथा विभिन्न देशले समय समयमा पात्रो परिवर्तन गर्ने गरेका कारण नेपालमा पनि बिक्रम संवतको पात्रो परिवर्तन गर्नुपर्ने मल्लको जोड छ ।

हेर्नुहोस् भिडियो वार्ता :-

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप