बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चार वर्षसम्म दशरथ रंगशालाको पुनर्निर्माण नहुँदा नेपाल र कुवेतबीचको खेल अन्योलमा

शुक्रबार, २२ कात्तिक २०७६, २० : १४
शुक्रबार, २२ कात्तिक २०७६

आगामी मंसिर ३ गते विश्वकप फुटबल २०२२ मा छनोटका लागि नेपाल र कुवेतबीच खेल हुने चर्चा रंगशालाको अभावमा चर्चामै सीमित भएको छ । छनोटका लागि दशरथ रंगशालामा खेल्ने भनिए पनि समयमै अन्तर्राष्ट्रिय मापदण्डअनुसार घरेलु मैदान पुनर्निर्माण गर्न नसक्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै लज्जाको विषय बनेको छ । 

३ दिन अघिमात्रै एएफसी प्रतियोगिता समितिका देङ सिओ लोङले रंगशाला निरीक्षण गरेर खेल मैदान अन्तर्राष्ट्रिय मापदण्डअनुसार नभएको भनेपछि नेपालमा खेल नहुने भएको छ । २०७२ सालमा भूकम्पका कारण क्षतिग्रस्त दशरथ रंगशालाको पुनर्निर्माण कार्य सुरु भएको करिब साढे ४ वर्ष बितिसक्दा पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।

राजनीतिक खिचातानी र निर्माण कम्पनीको ढिलासुस्तीका कारण खेलमैदान पुनर्निर्माण अन्तर्राष्ट्रिय मापदण्डअनुसार सम्पन्न नहुँदा मंसिर ३ मा आयोजना गर्ने भनिएको विश्वकप फुटबल छनोट खेल सञ्चालन गर्न नसकिएको अखिल नेपाल फुटबल संघका प्रवक्ता किरण राईले बताए । 

२०७२ सालको भूकम्पपछि पहिलो पटक दशरथ रंगशालामा विश्वकप छनोटका लागि खेल नहुने भनिएपछि उत्साहित खेलप्रेमी निराश भएका छन् । दक्षिण एसियाली खेलकुदको १३ औँ संस्करण सुरु हुन केहि दिनमात्रै बाँकी छ । रंगशालाको पुनर्निर्माण कार्य सम्पन्न हुने कुरामा भने अझै शंका पैदा भएको छ ।  

यता, राष्ट्रिय खेलकुद परिषदका प्रमुख इन्जिनियर अर्जुन उपाध्याय भारतीय नाकाबन्दीका कारण समयमै रंगशाला पुनर्निर्माण हुन नसकेको बताउँछन् । ‘प्राविधिक कारणले गर्दा छिटो पुनर्निर्माण गर्न नसकिएको हो,’ उनले भने, ‘यही कार्तिक मसान्तसम्ममा रंगशालाको पुनर्निर्माणकार्य सम्पन्न हुन्छ ।’

दशरथ रंगशालाको सम्पूर्ण काम सम्पन्न गर्न साढे ३४ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिए पनि त्यसअनुसार बजेट नभएको उनले बताए । पुनर्निर्माण गर्नेक्रममा १३ करोड रुपैयाँ खर्च भइसकेको उनको भनाइ छ ।  घरेलु मैदानमा तोकिएको समयमा विश्वकप छनोट खेल नहुनु नेपालका लागि दुःखद् विषय भएको अखिल नेपाल फुटबल संघका प्रवक्ता राईले बताए । ‘नेपालले खेलकुदको विकासका लागि अग्रसरता देखाउन सक्दैन भन्ने सन्देश विश्व माझ फैलियो,’ उनले भने, ‘खेलप्रेमी र खेलाडीप्रतिको मनोभावनामा चोट प¥यो ।’ 

निर्माण कम्पनीले आवश्यकता अनुसार दशरथ रंगशालाको निर्माण कार्यलाई तगारुकताका साथ अघि नबढाउँदा मंसिर ३ गते नेपाल र कुवेतबीच हुने विश्वकप छनोट खेल हुन नसकेको उनले बताए । एसियाली फुटबल महासंघ ‘एएफसी’ले घरेलु मैदान मापदण्डअनुसार नभएको ठहर गरेपछि नेपालले उक्त छनोट खेल भुटानको चाङ्गलिमिथाङ्ग रंगशालामा आयोजना गर्न फिफा र एएफसीसँग प्रस्ताव गरेको थियो ।  तर कुवेतका खेलाडीले भुटानमा खेल्न विभिन्न प्राविधिक समस्याहरु हुने जनाएको प्रवक्ता राईको भनाइ छ ।

कुवेती खेलाडीले भुटानको चाङ्गलिमिथाङ्ग रंगशालामा फुटबल खेल्नु परेमा ‘ट्राभल’ र ‘भिजा’को समस्या हुने बताएका छन् । कुवेतका खेलाडीले भुटानको मैदानमा फुटबल खेल्न समस्या हुने बताएपछि शुक्रबार सोसम्बन्धी छलफल र निर्णय गर्नका लागि बैठक बस्न लागेको पनि उनले बताए ।

सम्बन्धित निकाय तथा निर्माण कम्पनीले चासो नदिँदा दशरथ रंगशाला मापदण्डअनुसार निर्माण नभएको टिप्पणी गर्दै उनी एक अर्कालाई दोषारोपण गर्ने समय नभएको बताउँछन् ।  तस्बिर: सुवास श्रेष्ठ/रातोपाटी


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप