बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कलाकार मनोज गजुरेलले जोगी बनेर बुझाए करको महत्व

शुक्रबार, २२ कात्तिक २०७६, १९ : ४०
शुक्रबार, २२ कात्तिक २०७६

काठमाडौं– सिस्नुपानी नेपालले कर सचेतनाका लागि ‘करमैत्री यात्रा’सुरु गरेको छ । विभिन्न हाँस्य प्रस्तुति रहेको यात्राको दोस्रो दिन सिस्नुपानीले शुक्रबार ललितपुरको स्टाफ कलेजमा ‘करमैत्री यात्रा’ कार्यक्रममा आयोजना गरेको छ ।

आन्तरिक राजस्व बिभाग लाजिम्पाटको आयोजना रहेको कार्यक्रममा सिस्नुपानीका कलाकारले गीत, कविता, प्रहसनमा ब्याङ्ग्यात्मक रुपमा प्रस्तुत गर्दै करका बिषयमा  सचेतना फैलाउने काम गरे । राष्ट्रगानबाट सुरु भएको कार्यक्रमको सुरुमा कलाकार शिशिर योगीले ‘हे आमा नेपाल तिमीलाई’ राष्ट्रिय गीत र ‘जतिसुकै नाम कमाउन’ बोलको भ्रष्टाचार विरोधी गीत प्रस्तुत गरेका थिए । उनको प्रस्तुतिमा दर्शक मज्जाले झुमेका थिए । 

त्यस्तै कार्यक्रममा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले ‘कर पुराण’ शीर्षकको प्रस्तुतिमार्फत कर छल्ने र भ्रष्टाचारीको उछितो काट्दा दर्शक पेट मिचिमिचि हाँस्न बाध्य भए । उनले विभिन्न धार्मिक प्रसंगसँग जोड्दै कर छल्नेका लागि डरको पोको ‘कर पुराण’ हाँस्य प्रस्तुतिमार्फत राख्दा हल हाँसोले गुन्जायमान भएको थियो । करिब १५ मिनेको प्रस्तुति दिएका गाम्नागेले करको दुरुपयोग गर्नेले जिउँदै र मरेपछि पनि सुख नपाउने बुझाए ।

बरिष्ठ हाँस्यकलाकार मनोज गजुरेलले फेरी लगाउने जोगीको भेषमा करका लागि राज्यदेखि सर्वसाधारणको कतव्र्य हाँस्य प्रहसनमार्फत बुझाएका थिए । सिस्नुपानी नेपालका उपाध्यक्ष धिरेन्द्र प्रेमर्षीले चर्चित फिल्मी गीत ‘कुटुमा कुटु सुपारी दाना’को रिमेक गरेर कर छलीको विरोध गरे । उनको गीतले दर्शक हँसाउन समेत सफल देखिन्थ्यो ।

कार्यक्रममा अर्जुन पराजुली, टंक आचार्य , सरोज घिमिरे लगायतको समेत दमदार प्रस्तुति समावेश थियो ।  आन्तरिक राजस्व कार्यालय ललितपुर १ नम्बरका प्रमुख लालबाबु खत्रीको बिषेश  पहलमा ‘करमैत्री यात्रा’ कार्यक्रम सुरु भएको सो अवसरमा जानकारी दिइयो ।

कार्यक्रममा आन्तरिक राजस्व विभाग ललितपुर १ नम्बरका प्रमुख लालबाबु खत्रीले कार्यक्रमको महत्व र उद्धेश्यको बारेमा प्रष्ट पारेका थिए । खत्रीले कार्यक्रमले व्यवसायी, उद्योगीदेखि सर्वसाधारणलाई समेत कर तिर्न प्रेरणा दिने बताए ।

बिहिबार काभ्रेको बनेपाबाट सुरु भएको हाँस्यव्यंग्यत्मक ‘करमैत्री यात्र’ सिस्नुपानीले  देशको विभिन्न १५ स्थानमा सञ्चालन गर्नेछ । 

‘हाँस्यव्यङ्ग्य मार्फत कर तिरौँ करको सदुपयोग गरौं भन्ने करमैत्री यात्राको मुख्य उद्धेश्यले रहेको सिस्नुपानीले जानकारी दियो । अभियान अगामी मंसिर ७ गते शुक्रबार काठमाडौमा आएर सकिनेछ । समापनको दिन बिषेश प्रस्तुत समेत रहने आयोजकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप