शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उपनिर्वाचन २०७६: बागलुङमा वाम तालमेल काङ्ग्रेसलाई चुनौती

शुक्रबार, २२ कात्तिक २०७६, १५ : २७
शुक्रबार, २२ कात्तिक २०७६

–रामबहादुर थापा
बागलुङ– नेपाली काङ्ग्रेससामु क्षेत्र नं २ (ख) मा हुने प्रदेशसभा सदस्य उपनिर्वाचनमा वाम तालमेलको पुरानै चुनौती खडा भएको छ । विसं २०७४ को चुनावमा पनि काङ्ग्रेसले वाम गठबन्धनको सामना गर्नुपरेको थियो ।

सो चुनावमा काङ्ग्रेसका जीतबहादुर शेरचनलाई तीन हजार २६० मतले पछि पार्दै गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती विजयी भएका थिए । घर्तीले ११ हजार ८८४ मत पाउँदा शेरचनको मत आठ हजार ६६४ थियो । उपचुनावमा पनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समर्थनमा राजमोका उम्मेदवार खिमविक्रम शाही चुनावी मैदानमा रहेका छन् । काङ्ग्रेसले अघिल्लो चुनावमा पराजित शेरचनलाई पुनः उम्मेदवार बनाएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा तत्कालीन नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राजमोको गठबन्धनले सबै क्षेत्रमा एकलौटी जितेको थियो । विसं २०७० को संविधानसभा सदस्यको दोस्रो चुनावमा जिल्लाका तीनवटै निर्वाचन क्षेत्र जितेको काङ्ग्रेस वाम तालमेलकै कारण पराजित भएको थियो ।

विसं २०७४ को चुनावपछि भने तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० बनिसकेको छ । त्यो बेलाको तीनदलीय वाम गठबन्धन उपचुनावसम्म आइपुग्दा दुईमा झरेको छ । नेकपा र राजमोको केन्द्रीय नेतृत्वबीच उपचुनावमा पनि वाम तालमेललाई निरन्तरता दिने सहमति भएपछि उक्त क्षेत्र राजमोले पाएको हो ।

यो चुनावमा पनि परिचित प्रतिद्वन्द्वी वाम गठबन्धन र नेपाली काङ्ग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने निश्चित देखिएको छ । चुनाव जित्ने जिकिर भने दुवैतर्फका उम्मेदवार र नेताको छ । नेपाली काङ्ग्रेसका सभापति दीपेन्द्रबहादुर थापा यसपालिको वाम तालमेललाई ‘आत्मिय’ नभएको रूपमा अथ्र्याउँछन् ।

‘पहिले वाम तालमेल गरेका हुनाले उपचुनावमा पनि बाध्यता प¥यो होला’, सभापति थापाले भने, ‘उहाँहरुको एकता आत्मियखालको छैन, एकतर्फीजस्तो छ ।’ काङ्ग्रेसका उम्मेदवार शेरचन अघिल्लो चुनावपछि जनतामाझ घुलमिल भएकाले चुनाव जित्नेमा विश्वस्त रहेका छन् । ‘गएको चुनावमा केही मतको अन्तरले हारेपनि जनताको काम र सेवा गर्न छोडिन’, उनले भने, ‘अहिले परिस्थिती फरक छ, हामी चुनाव जित्छौँ ।’

उनले पहिले चुनाव जितेका दल र उम्मदेवारले जनतामाझ गरेको वाचा पुरा गर्न नसकेको आरोपसमेत लगाए । पहिले चुनाव हारेका कारण आफूले सद्भावको मत पनि बटुल्ने शेरचनको भनाइ छ । राजमाका जिल्ला अध्यक्ष अमर थापा भने अघिल्लो चुनावमा भन्दा बढी मतका साथ चुनाव जितिनेमा ढुक्क रहेका छन् । उनले  भने, ‘काङ्ग्रेसले जितिरहेको ठाउँ हो, जनमत पनि राम्रो थियो, सरकार पनि काङ्ग्रेसकै थियो’ उनले भने, ‘त्यो परिस्थितिमा त काङ्ग्रेस ठूलो मतान्तरसहित चुनाव हा¥यो, अहिले कसरी जित्छ ? जित्दैन ।’

तीनै तहमा बलियो कम्युनिष्ट सरकार भएको, जनतामा आशा जागेको, विकास, निर्माणदेखि राष्ट्रिय मुद्दामा दरिलो अडान लिएका कारण आफ्नो उम्मेदवारले झन् बढी मत लिएर जित्ने अध्यक्ष थापाको ठोकुवा छ । उहाँले उम्मेदवारीलाई लिएर छिटपुट असन्तुष्टि देखिए पनि त्यो समाधान हुने बताए ।

सो क्षेत्रमा नेकपाका नेता शेरमान घर्तीले स्वतन्त्र उम्मेदवारी दिएपछि गठबन्धनलाई अप्ठेरो परेको छ । ‘उहाँ पुरानो हाम्रै पार्टीको साथी हो, जिम्मेवार व्यक्ति कम्तीमा अर्को दललाई चुनाव जिताउन लाग्नुहुन्छ भन्ने लागेको छैन’, अध्यक्ष थापाले भने, ‘विश्वास छ उहाँले उम्मेदवारी फिर्ता लिनुहुन्छ, त्यसमा नेकपाका साथीहरुले पहल गर्नुहुनेछ ।’

शेरमान तत्कालीन नेकपा (माआवोदी केन्द्र) मा आउनुपूर्व राष्ट्रिय जनमोर्चामा आवद्ध रहेका थिए । गएको स्थानीय तह चुनावमा उनी माओवादी केन्द्रबाट ढोरपाटन नगरपालिकाको प्रमुख पदमा चुनाव लडेका थिए। नेकपाका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लेसमेत बिहीबार पोखरामा आयोजित एक कार्यक्रममा उनको उम्मेदवारी फिर्ता हुने बताएका थिए ।

राजमोका उम्मेदवार शाहीले वाम गठबन्धन नै आफ्नो जितको पहिलो आधार भएको बताए । ‘अहिलेको सरकार जनतामाझ लोकप्रिय हुँदै गएको छ, हाम्रो सङ्गठन पनि विस्तार भएको छ’, उनले भने, ‘सजिलै चुनाव जितिनेमा म ढुक्क छु ।’ उनले चुनावी अभियानलाई पनि प्रभावकारी बनाइने उल्लेख गरे । अव्यवहारिक र महत्वकाङ्क्षी योजनाभन्दा पनि जनताका आधारभूत मुद्दा सम्बोधन गर्ने गरी अगाडि बढ्ने उनको भनाइ छ ।

को हुन् शाही र शेरचन ?

राजमोका उम्मेदवार शाही पार्टीका जिल्ला सदस्य हुन् । निसीखोला गाउँपालिका–३ बोहोरागाउँका शाही शिक्षण पेशाबाट निवृत्त भएपछि राजनीतिमा सक्रिय भएका हुन् । उनी राजमोका पाका र विश्वासिला नेता मानिन्छन् । यस्तै नेपाली काङ्ग्रेसबाट उम्मेदवार बनेका शेरचन विद्यार्थीकालदेखि नै काङ्ग्रेसको राजनीतिमा आवद्ध रहेका छन् । 

ढोरपाटन नगरपालिका–१ का शेरचन नेपाल विद्यार्थी सङ्घको तर्फबाट विसं २०६२ मा काठमाडौँस्थित ताहचल क्याम्पसको स्ववियु सभापतिसमेत हुनुभएको थियो । काङ्ग्रेसजनमाझ शेरचन स्पष्ट वक्ता र विकासप्रेमी नेताका रूपमा चिनिन्छन् । शेरचनलाई नेपाली काङ्ग्रेसले दोस्रोपटक उम्मेदवार बन्ने अवसर दिएको हो । 

राजमो, नेपाली काङ्ग्रेससहित आठ दल र दुई स्वतन्त्र उम्मेदवारले उपचुनावका लागि मनोनयन दर्ता गरेका छन् । अन्य दलमा समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट निमबहादुर भण्डारीले उम्मेदवारी दिएका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्ती र सन्तोष भण्डारीले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप