शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

६८ करोड राजस्व छली गरेका एघार जना विरुद्ध मुद्दा : छली गर्ने चिनियाँ कम्पनीदेखि भारतीय नागरिकसम्म

यस्तो छ राजस्व चुहावटको नालीबेली
शुक्रबार, २२ कात्तिक २०७६, ०८ : २७
शुक्रबार, २२ कात्तिक २०७६

राजस्व अनुसान्धान विभागले राजस्व चुहावट गर्ने विरुद्ध धमाधम अदालतमा मुद्दा दर्ता गरिरहेको छ । चालू आर्थिक वर्ष (२०७६÷०७७) लागे यता विभिन्न व्यक्ति र उद्योग गरी ११ विरुद्ध विभिन्न जिल्ला अदालतमा मुद्दा दायर भएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।  ६८ करोड ३० लाख १७ हजार ६ सय ४२ रुपैयाँ राजस्व छली गरेको भन्दै उनीहरुविरुद्ध मुद्दा दायर भएको हो ।

अन्तशुल्कमा लाग्ने मूल्य अभिवृद्धिकर अशुल नगरी कारोबार गरेको, बढी गुड्खा उत्पादन गरी स्टिकर नलगाई बेचेको, नक्कली बिलबिजक प्रयोग गरेको, भन्सार चोरी पैठारी गरेको लगायतका आरोपमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको हो । राजस्व चुहावट गर्ने चिनियाँ कम्पनीदेखि भारतीय नागरिकसम्म छन् ।

यसरी गरेका थिए राजस्व छली

चिनियाँ कम्पनीसमेत राजस्व छलीमा सक्रिय, पर्यो विभागको फन्दामा

नक्कली बिलबिजक जारी गरी राजस्व छली गरेको भन्दै चिनियाँ कम्पनी नेपाल दोङह्वा कन्स्ट्रक्सन इन्जिनियरिङ प्रालिविरुद्ध १३ करोड १३ लाख ११ हजार ६ सय ७७  रुपैयाँ बिगोको दोब्बर माग दाबीसहित ३ वर्र्ष कैद सजायको माग गर्दै जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ । कम्पनीले वस्तु तथा सेवा नै खरिद नगरी नक्कली मूल्य अभिवृद्धिकर मात्र खरिद गरेको पाइएको छ । राजस्व चुहावट गरेको कसुरमा कम्पनीका सञ्चालक याङ लिन, से स्याङ्जुन, वेदेगुई र सविन श्रेष्ठलाई बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद सजाय माग गरिएको छ ।

रुक्मणी इन्डस्ट्रिजले अन्तशुल्कबाट राजस्व चुहावट

रुक्मणी इन्डस्ट्रिज प्रालिले अन्तशुल्कको इजाजत नै नलिई अन्तशुल्क लाग्ने वस्तुको उत्पादन गरी कारोबार गरेको र अन्तशुल्कमा लाग्ने मूल्य अभिवृद्धि करसमेत असुल लगरी बेचेको भन्दै उसले राजस्व चुहावट गरेको पुष्टि भएको हो । ग्रेनाइटको स्थानीय बिक्रीमा लाग्ने अन्तशुल्क नउठाएको राजस्व अनुसन्धान विभागले भनेको छ । राजस्व चुहावट ऐनअनुसार सो उद्योगका सञ्चालकद्वय एकता जजोडिया र स्वेता जजोडियाबाट बाह्र करोड ४६ लाख ४० हजार ७ सय ५२ बिगो असुल गरी कैद सजायसमेत माग गरी बारा जिल्ला अदालतमा भाद्र १२ गते मुद्दा दर्ता गरिएको हो ।

१ करोड ५२ लाख बिगो माग गर्दै कृष्ण ट्रेडिङ सप्लायर्सविरुद्ध मुद्दा

गोपाल अग्रहरी भनिने मनिष लोहारले कर्मचारी बिक्की भनिने सुनिलकुमार गुप्ताको नाममा गोदाम भाडामा लिई  भन्सार चोरी पैठारी गरेको सामान भण्डारण गरेको पाइएको विभागले जनाएको छ । मनिष लोहारलाई मुख्य अभियुक्त मानी एक करोड ३० लाख बिगो गरेको भन्दै सोको दोब्बरसम्म जरिवाना हुने गरी ३ वर्ष कैद सजाय माग गर्दै कपिलवस्तु जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

स्टिकर नलगाई गुड्खा बिक्री गर्ने पान मसलाविरुद्ध मुद्दा

नेपाल पान मसला उद्योगका प्रोपाइटर कुबुद्धिन शेष समेतले अन्तशुल्क टाँस नगरिएको र तीन आर्थिक वर्षको बिक्री खाता, खरिद खाता, बैङ्क स्टेटमेन्ट, विद्युत खपतको विवरण लगायतको हिसाब किताब लापरबाहीपूर्ण राखेको भन्दै राजस्व चुहावट गरेको ठहर राजस्व अनुसन्धान विभागले गरेको छ । ७ करोड ५२ लाख २ हजार ७ सय ७४ बिगो मागदाबीसहित बाँके जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

सामान नै खरिद नगरी नक्कली बिल खरिद

यस्तै सामान नै खरिद नगरी  नक्कली बिलबिजक खरिद गरेको भन्दै एएस हार्डवेयरका प्रोपाइटर सरला श्रेष्ठसहित सात जना  विरुद्ध २२ करोड २६ लाख रुपैयाँ बराबरको राजस्व चुहावट गरेको भन्दै सरला श्रेष्ठ, अनंगपाल श्रेष्ठ, घनश्याम पोखरेल मुख्य कसुरदार र उनीहरुलाई किशोरप्रसाद पुडासैनी, चेतना पुडासैनी, उमेशकुमार भट्टराई र शालिकराम गौतमले सहयोग गरेको भन्दै  कसुरदारलाई पूरै सजाय र सहयोग गर्नेलाई आधा सजायको माग गर्दै काठमाडौँ जिल्ला अदालतमा भाद्र २५ गते मुद्दा दर्ता भएको छ ।

राजस्व चुहावट गर्ने अन्य 

चालू आर्थिक वर्षको कात्तिक १९ गतेसम्म दर्ता भएका मुद्दा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप