बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कृषि व्यवसायमा लाग्नेका लागि खुसीको खबर : सरकारले नै दिन्छ ५० प्रतिशत खर्च, यसरी दिन सकिन्छ आवेदन

बिहीबार, २१ कात्तिक २०७६, १६ : ०६
बिहीबार, २१ कात्तिक २०७६

कृषि व्यवसायमा लाग्ने सोच छ ? त्यसो हो भने तपाईँलाई सरकारले आधा लगानी गरिदिनेछ । युवालाई विदेश जानबाट रोक्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयले एउटा विशेष कार्यक्रम चाँडै नै ल्याउने भएको छ । ‘कृषि युवा उद्यम’ नामक विशेष कार्यक्रम यसै वर्षदेखि सञ्चालनमा आउने मन्त्रालयले जनाएको छ । 

यस कार्यक्रम अन्तर्गत कृषि गर्ने युवालाई सरकारले २० लाख रुपैयाँसम्म अनुदान दिने कृषि तथा पशुपक्षी व्यवसाय महाशाखा प्रमुख शवनम शिवाकोटीले जानकारी दिइन्  । यद्यपि यो कार्यक्रमको  अर्थमन्त्रालयबाट अन्तिम स्वीकृत हुन भने बाँकी नै छ । शिवाकोटीका अनुसार बजेट नै बिनियोजन भएको सन्दर्भमा चाँडै नै स्वीकृत हुनेछ । 

यता कृषि मन्त्रालयबाट कृषिमा युवा उद्यम सञ्चालन प्रक्रिया २०७६ स्वीकृत भइसकेको छ । मन्त्रालयले यसलाई अन्तिम स्वीकृतिका लागि अर्थमन्त्रालय पठाउने तयारी गरेको छ । 

यस कार्यक्रमका लागि अर्थमन्त्रालयबाट ५० करोड बिनियोजन भइसकेको छ । कार्यक्रम पहिलो चरणमा सातै प्रदेशका २० देखि २५ वटा जिल्लाका ५ सय किसानबाट सुरू गर्न लागिएको उनले बताइन् ।

यसरी दिन सकिन्छ आवेदन 
यो चालू आर्थिक वर्षमा नै सञ्चालन गर्ने भनेर स्वीकृत गरिएको कार्यक्रम हो  । यो कार्यक्रम कृषि विभाग र पशु सेवा विभागको समन्वयबाट काम अगाडि बढ्नेछ । 

शिवाकोटीका अनुसार यसमा निवेदन अनलाइन मार्फत दिने व्यवस्था गरिनेछ ।  त्यसका लागि अनलाइन सफ्टवेयर निर्माण भइरहेको बताउँदै उनले सो काम सकिएपछि सूचना निकालिने जानकारी दिइन् । 

अनुदान पाउन संघीय कार्यालयका रुपमा प्रधानमन्त्री आधुनिक कृषि आयोजनाको जिल्लास्थित कार्यालयमा निवेदन दिन सकिने छ । कृषि विभाग र पशु सेवा विभागमा पनि निवेदन दिन सकिनेछ । 

७ वटै प्रदेश कार्यक्रममा सहभागी हुनेछन् । जसअनुसार  प्रदेश १ को सुनसरी, झापा, भोजपुर र ताप्लेजुङ, प्रदेश २ को रौतहट, सर्लाही र बारा, प्रदेश ३ को धादिङ, सिन्धुपाल्चोक, चितवन र काठमाडौं उपत्यका र गण्डकी प्रदेशको बाग्लुङ, पर्वत, गोरखा र पूर्व नवलपरासी, प्रदेश ५ को गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान, कपिलवस्तु र पूर्व रूकुम, कर्णाली प्रदेशको सल्यान र पश्चिम रूकुम र सुदुर पश्चिम प्रदेशको कञ्चनपुर र कैलालीमा यो कार्यक्रम सञ्चालन हुनेछ ।

कृषि विकास बैंकमार्फत रकम वितरण 

शिवाकोटीका अनुसार सुरूमा किसानले २५ प्रतिशत लगानी गर्नैपर्छ । त्यसपछि सरकारले २५ प्रतिशत दिनेछ । किसानले फेरि २५ प्रतिशत लगानी गरेपछि अन्तिममा सरकारले २५ प्रतिशत दिने छ ।

रकम वितरण कृषि विकास बैङ्कमार्फत हुने छ । यस कार्यक्रममा रहेर काम गर्नेको उमेर हद १८ देखि ४५ वर्षसम्म तोकिएको छ । यस कार्यक्रममा विदेश जान लागेका वा विदेश गएर आएकालाई विशेष प्राथमिकता दिइने जनाइएको छ । 

पशुअन्तर्गत दूध उत्पादन, मासुजन्य पशुपालन, माछापालनलगायतका उद्देश्यका लागि अनुदान दिइनेछ । यस्तै कृषिअन्तर्गत संरक्षित खेती र खुला खेती दुवै समावेश गरिएको छ । जसमा तरकारी तथा फलफूल नर्सरी स्थापना परियोजना समेत पर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप