शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाललाई आतङ्कवादीको ‘ट्रान्जिट प्वाइन्ट’ चित्रित गर्ने अमेरिकी प्रतिवेदन : किन चुपचाप छ नेपाल सरकार ?

बिहीबार, २१ कात्तिक २०७६, १६ : ०७
बिहीबार, २१ कात्तिक २०७६

नोभेम्बर १, २०१९ मा अमेरिकाको विदेश मन्त्रालयले एउटा रिपोर्ट सार्वजनिक गर्‍यो । प्रतिवेदनमा देशैपिच्छे गरिएको विश्लेषणमा नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादीको ‘ट्रान्जिट प्वाइन्ट’ बन्न सक्ने खतरा औँल्याउँदै नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादीको आश्रयस्थल बन्न सक्नेतर्फ संकेत गरेको छ ।

रिपोर्टले आन्तरिक आतङ्कवादको रुपमा विप्लव समूहलाई लिएको छ भने अन्तर्राष्ट्रिय आतङ्कवादीले पनि आफ्नो आश्रयस्थल वा ट्रान्जिट प्वाइन्ट बनाउनसक्नेतर्फ पनि संकेत गरेको छ ।

अमेरिकी रिपोर्टमा नेपालको एयरपोर्टको सुरक्षा अवस्था र चेकजाँज अत्यन्तै कमजोर रहेको तथा नेपालमा उत्रनेहरुको लगत पनि राम्रोसँग नराखिएको उल्लेख गरेको छ ।

यद्यपि अमेरिकी विदेश मन्त्रालयले अन्य ठोस प्रमाण वा कारण दिएर नेपाल आतङ्कवादीको आश्रयस्थल बन्ने वा बनेको बारे केही उल्लेख गरेको छैन । यद्यपि अमेरिकाले आरोप भने लगाएको छ ।

अमेरिकाले रिपोर्ट सार्वजनिक गरेको ३ दिनपछि सोमबार मात्रै भारतीय मिडियाले नेपालको बाटो हुँदै ७ जना ‘पाकिस्तानी आतङ्ककारी’ भारत प्रवेश गरेको दाबी गर्यो ।

Photo: https://www.acamstoday.org

भारतीय गुप्तचर विभाग ‘रअ’लाई उद्दृत गर्दै भारतीय मिडियाले ७ जना पाकिस्तानी आतङ्ककारी भारत प्रवेश गरिसकेको उल्लेख गरेका छन् । भारतीय मिडियाले उनीहरुको नामसमेत सार्वजनिक गरेको छ ।

भारतीय मिडियामा सार्वजनिक भएको नाम अनुसार मोहम्मद याकुब, अबु हमजा, मोहम्मद शाहबाज, निसार अहमद र मोहम्मद कौमी चौधरी रहेका छन् । अन्य २ जनाको नाम भने भारतीय मिडियाले सार्वजनिक गरेको छैन ।

सन् १९९२ को डिसेम्बर ६ मा भारत उत्तरप्रदेशको फजियावादमा भएको बाबरी मस्जिद तोडफोड र त्यसपछिको राजनीतिक तथा धार्मिक गतिरोधलाई लिएर आगामी केही दिनमा नै यसको अन्तिम फैसला आउने सम्भावना रहेको छ । यो मुद्दालाई लिएर भारतको सर्वोच्च अदालतको पूर्ण इजलासले फैसला गर्ने तयारी गरेको छ । यो फैसला सम्भवतः १५ नोभेम्बर, २०१९ भित्रै हुने छ ।

भारतीय मिडियाको दाबीलाई मान्ने हो भने यी ७ आतङ्ककारीहरु फैसला आएलगत्तै त्यहाँ आन्दोलन गर्न र दङ्गा भड्काउनका लागि उपस्थित भएका हुन् । र, उनीहरु अयोध्या वा गोरखपुरमा लुकेर बसेको दाबी गरिएको छ ।

अमेरिकाको विदेश मन्त्रालयले प्रस्तुत गरेको ‘खुल्ला सिमाना’ र भारतीय मिडियाले ‘रअ’को हवाला दिँदै गरेको दाबीलाई हेर्ने हो भने यो कहीँ न कहीँ नियोजित प्रोपोगाण्डा वा सत्यतामा निहित रहेको स्पष्ट हुन्छ ।

त्यसो त भारतका लागि आतङ्कवादी रहेकाहरु नेपालबाट पक्राउ नपरेका होइनन् । कतिपयलाई त नेपालमै आएर सार्प सुटरको प्रयोग गरी हत्यासमेत गरिएको छ भने कतिपयलाई हत्या गर्ने कोशिश गरिएको छ ।

पूर्वमन्त्री तथा राप्रपाका तत्कालीन सांसद मिर्जा दिलसाद वेगको १५ असार, २०५५ मा काठमाडौंको सिफलमा गोली हानी हत्या भयो । प्रहरीले उक्त घटना छानबनिका लागि टोली गठन गर्यो । त्यो टोलीले मिर्जाको हत्या भारतीय अन्डरवर्ल्ड डन छोटा राजन समूहले गरेको दाबी गर्यो ।

उक्त हत्याको छानबिन गर्न बनेको उच्चस्तरीय न्यायिक समितिले पनि घटनामा भारतीय आपराधिक समूह छोटा राजनको हात रहेको र मिर्जा दिलसाद वेगको हत्या अन्डरवर्ल्ड डन दाउद इब्राहिमसँग जोडिएको दाबी गर्यो ।

मिर्जाले दाउदका लागि काम गरेको कारण उनको हत्या भएको निष्कर्ष निकालियो । दाउद भारतका लागि आतङ्ककारीको सूचीमा थिए ।

२०६४ माघ २४ गते काठमाडौंको अति सुरक्षित रहेको भनिएको स्थान लाजिम्पाटमा सञ्चार उद्यमी जमिम शाहको गोली हानी हत्या भयो ।

दिनदहाडै उच्च सुरक्षा सतर्कता रहेको स्थानमा शाहको गोली हानी हत्या भएको थियो । उक्त हत्यामा बहालवाला र पूर्वप्रहरी अधिकारीको संलग्नता र सहयोग रहेको खुलेको थियो । यद्यपि छानबिन समितिको प्रतिवेदनमा उक्त घटना पनि भारतीय अन्डरवर्ल्ड डनले नै गराएको उल्लेख भयो ।

जमिम शाह हत्याकाण्डको ३ वर्षप्छि २०६७ फागुन २६ गते भारतीय जाली नोटको कारोबारमा संलग्न रहेका युनुस अन्सारीमाथि केन्द्रीय कारागार सुन्धारामै गोली प्रहार भयो । भारतीय नागरिक मनमित सिंह भाटियाले भित्री वस्त्रमा लुकाएर लगेको पेस्तोलबाट गोली हाने । अन्सारीको ‘सफाया’ गर्न रिश्क मोलेर आएका भाटियाको प्रयास अन्सारीले छलिदिँदा सफल हुन सकेन । उक्त घटनामा पनि भारतीय अन्डरवर्ल्डलाई दोष थुपारेर प्रहरीले अनुसन्धानको बाटो बन्द गर्यो । यद्यपि गोली प्रहार गर्ने मनमित सिंह भाटिया भने अझै पनि नेपालको जेलमै छन् ।

युनुस अन्सारीलाई गोली हानेको १ वर्ष पूरा नहुँदै २०६८ साल असोज ९ गते मुस्लिम संघका महासचिव फैजान अहमदलाई घण्टाघरमा गोली हानी हत्या गरियो । उक्त हत्या पनि भारतीय अन्डरवर्ल्ड समूहले गराएको भन्दै अनुसन्धानको फाइल बन्द गराइयो ।

यहीबीचमा नेपाल प्रहरीको सहयोग लिएर भारतीय प्रहरीले इण्डियन मुजाहिद्धीनका संस्थापक यासिन भड्कल र सदस्य अब्दल करिम टुण्डालाई पोखराबाट पक्राउ गरी भारत लग्यो ।

त्यसैगरी भारतको डिजाइनमा २०७५ असोज १० गते सुनसरीमा स्थानीय समाजसेवी खुर्शिद आलमको गोली हानी हत्या गरियो । उक्त हत्या भारतीय प्रहरीले गरेको इथेष्ट प्रमाण भएपनि अज्ञात समूहले हत्या गरेको भन्दै फाइल राखिएको छ ।

भारतको नजरमा सबै पाकिस्तानी र अधिकांश मुस्लिम ‘आतङ्कवादी’

यी त भारतीयका नजरमा आतङ्कवादी देखिएका नेपाली नागरिकहरुका कुरा भए । तराईको सीमाक्षेत्रमा पनि भारतीय प्रहरीले गोली हानी हत्या गरेका धेरै ‘आतङ्कवादी’को सङ्ख्या धेरै नै छ । नेपालबाट अपहरण वा गिरफ्तार गरी लगेकाहरुको सङ्ख्या पनि धेरै नै छ ।

भारतका लागि अधिकांश मुस्लिम समुदाय ‘आतङ्ककारी’को सूचीमा छन् । अझ पाकिस्तानी समुदायसँग हेलमेल भएका वा पाकिस्तानी नागरिक भएमा त ती व्यक्ति स्वतः ‘आतङ्ककारी’को सूचीमा पर्ने गरेका छन् ।

त्यसो त नेपालमा आउने पाकिस्तानीको अवस्था र उद्देश्य पनि त्यति स्पष्ट रहेको देखिँदैन ।

तराईक्षेत्रका मदरसा र मस्जिदहरुमा धार्मिक गुरुका रुपमा आउने पाकिस्तानी नागरिक वा अन्य देशका मुस्लिम धर्मगुरुको खास उद्देश्य पनि स्पष्ट छैन । न त नेपाल सरकारले यसबारे ध्यान दिएको नै छ । तर मदरसा र मस्जिदमा आउने सबै धर्मगुरुलाई शंकाको नजरले हेर्नु पनि त्यति जायज होइन । यद्यपि भारतले भने उनीहरु सबैलाई आतङ्ककारी देख्दा त्यसले समस्या निम्त्याएको छ ।

एयरपोर्टको सुरक्षा चुनौती

२४ डिसेम्बर, १९९९ इण्डियन एअरलाइन्सको विमान काठमाडौँबाट अपहरण गरी कान्दाहार पुर्‍याइयो । १ सय ७८ जना यात्रु सवार उक्त विमान सुरुमा अमृतसर, त्यसपछि पाकिस्तानको लाहोर, त्यसपछि दुबई र अन्तिममा अफगानिस्तानको कान्दाहारमा ल्याण्ड गरियो । भारतीय जेलमा रहेका अतिवादी मुस्लिम नेताहरुलाई छाड्नका लागि उक्त विमान अपहरण गरिएको थियो । उक्त विमान अपहरण गर्न नेपाली भूमि प्रयोग गरिएको थियो ।

यी र यस्तै घटनाहरुलाई लिएर अमेरिका र भारतले नेपालले अन्तर्राष्ट्रिय आतङ्कवादीको आश्रयस्थल र ट्रान्जिट प्वाइन्ट रहेको दाबी गरिरहेको छ । यद्यपि नेपाल सरकार भने यो विषयमा अझै चुपचाप बसिरहको छ ।

यता परराष्ट्रविद्हरु भने अमेरिकी रिपोर्टका सम्बन्धमा नेपाल सरकार चुपचाप बस्न नहुने बताइरहेका छन् ।

https://www.facebook.com

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेका अनुसार अमेरिकी रिपोर्ट एउटा गम्भीर विषय हो । उनी भन्छन्, ‘नेपालमा दुईवटै छिमेकीहरुको सुरक्षा चासो बढ्न थालेको केही वर्ष भयो । दुबै छिमेकीहरुले आफ्नो चिन्ता नेपाललाई कुटनैतिक स्तरबाट जानकारी दिने गरेका छन् । तर त्यो चिन्तालाई नेपाल सरकारले सम्बोधन नगरेको हुनाले सार्वजनिकरुपमा उनीहरुले बोल्ने गरेका हुन् ।

यस विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसद्वारा गठित छाँया सरकारका परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकाले नेपाल आतंकवादीको अखडा बन्न सक्ने खतरा औल्याउनुलाई नेपालले सूचनाको रुपमा लिनुपर्ने बताएका छन् ।

‘हाम्रो सूचनाको राम्रो व्यवस्था छैन । त्यसैले नेपालको सुरक्षाबारे अमेरिकाले सर्वाजनिक गरेको रिर्पोटलाई सूचनाको रुपमा हेर्नुपर्छ ।’ यद्यपि उनले यस विषयमा सरकारलाई आधिकारिक धारणा सार्वजनिक गर्न माग गरे ।

‘नेपाल सरकारले यस विषयमा आफ्नो अधिकारी धारणा सार्वजनिक गर्नुपर्छ । अमेरिकाले औल्याएको जस्तै नेपाल खतरा छ भने सुरक्षा अवस्थालाई कसरी बलियो बनाउन सकिन्छ । त्यतारित सोच्नुपर्छ । होइन भने सरकारले त्यसको खण्डन गर्न सक्नुपर्छ ।’ यस विषयमा सरकारले सुरक्षा र कुटनीतिका विज्ञलाई राखेर अगाडि बढ्नु पर्नेमा उनले जोड दिए ।

 यस अवस्थामा अमेरिकाबाट जुन सरकारी प्रतिवेदन सार्वजनिक भएको छ, त्यो गम्भीर कुरा हो । दुबै छिमेकीहरुलाई नेपालमा उनीहरुका लागि चिन्ता बढाएर राख्नु हुँदैन । नेपाल सरकारले यस्तो संवेदनशील कुरामा हेलचेक्र्याईँ गर्नु देशको हितमा कदापि हुँदैन । सरकारले चाँडै डिफेन्स गरेर त्यस्तो होइन भन्ने वा स्वीकार गरेर सुधार गर्ने काम गर्नुपर्नेछ । त्यसका लागि परराष्ट्र मन्त्रालयले औपचारिकरुपमा विज्ञप्ति जारी गर्ने कार्य गर्नुपर्छ ।’

यता परराष्ट्र मामिलाका जानकार रमेश ढुङ्गेल पनि नेपाल सरकारले यस सम्बन्धमा चाँडै नै आफ्नो धारणा पेश गर्नुपर्ने बताउँछन् ।

 ढुङ्गेल भन्छन्, ‘कुनै अर्को देश वा संस्थाले आफ्नो देशको सुरक्षा व्यवस्था कमजोर रहेको औँल्याएपछि नेपाल सरकारले त बोल्नु पर्‍यो नि । यस विषयमा त पहिले परराष्ट्र मन्त्रालय, त्यसपछि गृह मन्त्रालय र नागरिक उड्डयन मन्त्रालय वा प्राधिकरणले पनि बोल्नु पर्‍यो नि ।

‘उनीहरुले एयरपोर्टकै विषयलाई महत्वका साथ उठाएका छन् । त्यहाँको सुरक्षाको संयन्त्र कमजोर छ भनेर उठाएका छन् । जनशक्ति मात्रै होइन, प्रविधि पनि नभएको र यकिन तथ्यांकसमेत राख्ने नगरेको कुरा उल्लेख गरेका छन्’, उनी भन्छन्, ‘नेपालमा अपराधीलाई ट्रयाक गर्ने सिस्टम छैन भनेर उसले ठाडै दोष दिएको छ । यसरी प्रतिवेदन नै आएपछि कि त नेपाल सरकारले हाम्रो कमजोरी भयो यसलाई सुधार गर्छौँ भन्नुपर्यो, कि अमेरिकन रिपोर्ट ठीक छैन भनेर भन्न सक्नुपर्‍यो । तर यस विषयलाई चुपचाप लिएर मात्रै बस्नु जायज हुँदैन ।’

उदाहरण प्रस्तुत गर्दै उनी अगाडि भन्छन्, ‘जस्तो कि भारतका माओवादी विश्वकै छैटौँ हिंस्रक आतंककारी भनेर अमेरिकी रिपोर्ट पेस भएपछि भारतको परराष्ट्र मन्त्रालयले त्यसको प्रतिकार गर्‍यो । भारतले अमेरिकाले दिएको डाटा ठीक छैन मात्रै भनेन, भारतमा मात्रै होइन, अमेरिकामा पनि त्यस्तो आतङ्ककारी गतिविधि छ तर त्यसलाई उल्लेख नगरेको भनेर आपत्ति जनाएको छ । तर नेपाल सरकार भने यस विषयमा चुपचाप छ । न्युज लेख्नेले त्यत्तिकै लेखेको जस्तो गरेर सरकार हेरिरहेको छ । ढिलो चाँडै विज्ञप्ति त निकाल्नै पर्छ । आखिर किन ढिलो गरेको हो । यदि हाम्रो सुरक्षा संयन्त्र र प्रविधिमै कमजोरी हो भने त प्रविधिमैत्री अमेरिकाकै सहयोग लिएर भने पनि यसलाई सुधार गर्नुपर्छ । यो विषयलाई त्यत्तिकै छाड्नु हुँदैन ।’

अमेरिकाले विप्लव समूहको विषयलाई खासै महत्व दिएको देखिँदैन । तर उसले इण्डियन मुजाहिद्दनको विषयलाई जोड्न खोज्नु र भारतले पनि इण्डियन मुज्जाहिद्दीन तथा काश्मिरी आतंकवादको कुरालाई उठाउनुको खास अर्थ भने पक्कै पनि राखेको छ ।

 भारतले नेपालमा पाकिस्तानी तथा इण्डियन मुजाहिद्दीनका आतंककारी लुकेर बसेको भन्नु र अमेरिकाले पनि अन्तर्राष्ट्रिय आतंकवादको सेल्टर रहन सक्ने भन्दै चिन्ता व्यक्त गर्नुको अर्थ अमेरिकी र भारतीय सेना कुनै पनि बेला यही नाममा नेपाल प्रवेश गर्ने बाटो खोजेको वा त्यसका लागि आधार तयार गरेको त होइन भन्ने सवाल उठेको छ ।

अमेरिकी प्रतिवेदन तथा भारतीय मिडियाको आरोपको विषयमा कुराकानी गर्नका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई सम्पर्क गर्दा उनी बोल्न चाहेनन् ।

यस्ताे छ अमेरिकी प्रतिवेदन

Title photo source: https://cdn.vox-cdn.comhttp://www.spangledwithstars.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप