शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डेंगु नियन्त्रणमा आएको सरकारको दाबी, स्वास्थ्यकर्मी भन्छन्– ढुक्क हुने अवस्था छैन

बिहीबार, २१ कात्तिक २०७६, १३ : २०
बिहीबार, २१ कात्तिक २०७६

काठमाडौँ । वैशाख अन्तिमबाट प्रदेश नं. १ सुनसरीको धरानबाट सुरु भएको डेंगु महामारीले देशभरनै समस्या निम्त्यायो । 

सरकारी तथ्याङ्क अनुसार ६ जनाले अकालमा ज्यान गुमाउनु प¥यो । असार, साउन, भदौ र असोज अन्तिमसम्ममा महामारीको रुपमा फैलिएको डेंगुको संक्रमणमा देशभर झण्डै १५ हजार बिरामी परे । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःशुल्क उपचारको घोषणा गरे पनि नागरिक तोकिएको भन्दा महङ्गो मूल्यमा डेंगु परीक्षणको किट किन्न बाध्य भए । कतिले सहज रुपमा उपचार नै पाउन सकेनन् । 

देशको एकमात्र सरुवा रोगको उपचार हुने टेकुको शुक्रराज ट्रोपिकल अस्पतालमा नागरिकले पेलामपेल र ठेलामठेल बीच डेंगु परीक्षण गरे । सरकारले देशभर फैलिएको डेंगुजस्तो महामारी नियन्त्रण गर्न नसकेको भन्दै विशेषत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकै आलोचना खेप्नु प¥यो । 

तर स्वास्थ्य मन्त्रालयले जनसरोकारको कुरालाई बेवास्ता गर्दै आफ्नै पारामा चलिरह्यो । डेंगुजस्तो महामारी नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले सोचेअनुसार लाग्न सकेन, यो नागरिक आफैँले पनि महसुस गरेको कुरा हो । 

असोज अन्तिमसम्म पनि ठूलो महामारीको रुपमा फैलियो डेंगु । अहिले संक्रमण घटेको हो कि भन्ने धेरैको अनुमान छ । दशैँ, तिहार, छठको लामो सार्वजनिक बिदाका कारण पनि तथ्यांक संकलनमा केही सुस्तता हुन सक्ने जानकारहरु बताउँछन् । सरकार र स्वास्थ्यकर्मीको भनाइ भने बाझिएको छ । सरकार डेंगु नियन्त्रणमा आएको बताउँदै आईरहेको छ भने चिकित्सकहरु नियन्त्रण भयो भन्न सक्ने अवस्था नरहेको बताउँछन् । 

सरकारको दावी 
स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार कात्तिक २० सम्ममा १४ हजार ६ सय ६२ जना डेंगुका बिरामी रहेको तथ्याङ्क छ । प्रदेश नं. १ मा १ हजार २ सय ४६, प्रदेश नं. २ मा २ सय ६८, प्रदेश नं. ३ मा ७ हजार १ सय ५१, गण्डकी प्रदेशमा ३ हजार ८ सय ७, प्रदेश नं. ५ मा १ हजार ९ सय ७७, कर्णाली प्रदेशमा ७३ र सुदूरपश्चिम प्रदेशमा १४० जना छन् ।

महाशाखाले असोज १३ गते सार्वजनिक गरेको तथ्याङ्कमा १० हजार ९ सय ९३ जना बिरामी संख्या थियो । यो तथ्याङ्क अनुसार ३ हजार ६ सय ६९ जना बिरामी बढेको देखिन्छ । सरकारले नियन्त्रण भयो भनिरहँदा तथ्याङ्कलाई नै आधार मान्ने हो भने नियन्त्रण भईसकेको अवस्था देखिदैन बरु अझै बढेको देखिन्छ ।

अहिले डेंगु नियन्त्रणमा आएको महाशाखाका उत्तम प्याकुरेलले रातोपाटीलाई बताए । महामारीको रुप लिएको डेंगु अहिले नियन्त्रणमा आएको भन्दै उनले दिनमा सरदर एक÷दुई जनामात्रै आउने गरेको बताए ।
चिकित्सक भन्छन्– नियन्त्रण भन्न मिल्दैन

यता डेंगुको उपचारमा दिनरात खट्ने चिकित्सक र तथ्याङ्क दिने सरकारी निकायको कुरा भने बाझिएको छ । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन भन्छन्, ‘डेंगुको संक्रमण अझै छ । अहिलेको अवस्थालाई नियन्त्रण नै भनिहाल्न चै मिल्दैन ।’ 

उनले नागरिकलाई सतर्क रहन आग्रहसमेत गरे । डा.पुनले डेंगुका बिरामी हेर्ने, स्वास्थ्य परीक्षण गर्ने र बिरामीलाई परामर्श दिने काम अहिले दैनिक भईरहेको भन्दै नियन्त्रण भयो भनेर ढुक्क हुने समय आईनसकेको बताए । 

डा. पुनसहित टेकु अस्पतालको स्वास्थ्यकर्मीको टोली दिनरात नभनि असोज अन्तिमसम्म स्वास्थ्य परीक्षण, उपचार र नागरिकलाई जानकारी गराउन खटेका थिए । तर अहिले केही मात्रामा संख्या घटे पनि डेंगुकै उपचारमा लागिरहेको कर्मचारीहरुको भनाइ छ ।  

अस्पतालमा डेंगुका बिरामी दशैँ अघि आउनेभन्दा फरक स्थानबाट आईरहेको र ती बिरामीहरु नयाँ बिरामी भएको उनले बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप