बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ट्वीटरमा काम गर्ने कर्मचारीहरुले साउदी सरकारको लागि जासुसी गरेको आरोप

बिहीबार, २१ कात्तिक २०७६, १२ : २४
बिहीबार, २१ कात्तिक २०७६

एजेन्सी । ट्वीटरका दुई कर्मचारीहरुमाथि साउदी अरबको लागि जासुसी गरेको आरोप लागेको छ । 

बुधबार सान फ्रान्सिस्कोमा सार्वजनिक भएको मुद्दाका अनुसार ती कर्मचारीहरुले साउदी एजेन्टले चाहेको केही ट्वीटर प्रयोगकर्ताको व्यक्तिगत जानकारी दिएका थिए । त्यसरी खोजिएका धेरैजसो ट्वीटर एकाउन्टहरु साउदी सरकारका मुखर आलोचकहरु थिए । 

अदालती कागजातले आरोप लागेका दुई कर्मचारीहरुको नाम पनि सार्वजनिक गरेको छ । तिनको नाम अहमद अबुआम्मो र अली अल्जाबराह रहेको अदालतले जनाएको छ । अहदम अमेरिकी नागरिक हुन् भने अली साउदी अरबियाका हुन् । 

तेस्रो व्यक्ति साउदी नागरिक अहमेद अल्मुटेरीमाथि पनि जासुसीको आरोप लागेको छ । 

अल्मुटेरीले आरोपित ट्वीटर कर्मचारी र साउदी अधिकारीबीचमा मध्यस्थकर्ता गरेको मुद्दामा उल्लेख छ । 

अबुआम्मोलाई बुधबार सियाटल अदालत अघि प्रस्तुत गरिएको थियो । शुक्रबार अर्को सुनुवाई बाँकी रहेकाले उनलाई हिरासतमै राखिएको छ ।

उनलाई जाली कागजात र एफबीआईलाई झुटो वयान दिएको आरोप पनि लगाइएको छ । अहिले अबुआम्मोले ट्वीटरको मिडिया साझेदारी म्यानेजरको काम छाडिसकेको बताइएको छ । 

अलि अल्जबराह र अहमद अल्मुटेरी दुवै साउदी अरबमै रहेको विश्वास गरिएको छ । 

ट्वीटरका पूर्व इन्जीनियर अल्जाबराहले ६ हजारभन्दा बढी ट्वीटर प्रयोगकर्ताको व्यक्तिगत सूचना हेरेको छ । अल्जाबराह सन् २०१५ मा साउदी एजेन्टको रुपमा भर्ति भएको अनुसन्धानले देखाएको छ । 

तर अल्जाबराहको कार्यबारे ट्वीटरका उच्चाधिकारीले पहिले सुइको पाएपछि उनीसँग सोधखोज गरिएको थियो । त्यस लगतै उनले प्रशासनिक बिदा लिएर आफ्नी श्रीमती र छोरीका साथ साउदी अरब लागेका थिए । 

घटनाबारे ट्वीटरले एक वक्तज्य जारी गर्दै भनेको छ ,‘ट्वीटर प्रयोग गरेर विश्वसँग आफ्नो दृष्टिकोण साझा गर्ने र शक्तिमा रहेकाहरुको उत्तरदायित्व माग गर्ने मानिसहरुले सामना गर्ने असाधारण खतराबारेमा हामी जानकार छौं । हामीसँग तिनको गोपनीयता र महत्वपूर्ण काम गर्ने तिनको क्षमता संरक्षण गर्नको लागि उपायहरु छन् ।’

साउदी अरब मध्य–पूर्वमा अमेरिकाको प्रमुख मित्र शक्ति हो । अघिल्लो वर्ष साउदी संस्थापनका विरोधी पत्रकार जमाल खशोग्गीलाई साउदी अरबले  हत्या गरेको आरोप लागेपछि ठूलो अन्तराष्ट्रिय आलोचना भएको थियो । 

त्यसको बावजुद अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबसँग नजिकको सम्बन्ध कायम राखिरहेका छन् । खशोग्गी इस्तानबुलस्थित साउदी अरबको वाणिज्यदूतावासमा पासपोर्टको लागि काम गर्न जादाँ मारिएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप