शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौँमा फेरि घन्कियो ‘गो ब्याक इन्डिया’ को नारा (फोटोफिचर)

बुधबार, २० कात्तिक २०७६, १६ : २९
बुधबार, २० कात्तिक २०७६

काठमाडौँ । भारतले आफ्नो देशको नक्सामा नेपाली भूमि समेतलाई समेटेपछि नेपालमा चर्को विरोध भइएको छ। 

 भारतले हेपाहा प्रवृत्ति देखाएको भन्दै विभिन्न राजनीतिक दलका नेतादेखि सर्वसाधारणसम्मले विभिन्न माध्यमबाट चर्को विरोध गर्दै आइरहेका छन् । 

यही क्रममा बुधबार सत्तारुढ तथा विपक्षी दलसम्बद्ध विद्यार्थी संगठनले भारतविरोधी प्रदर्शन गरेका छन् । 

उनीहरुले ‘गो ब्याक इन्डिया’ को नारा लगाउँदै नेपाली भूमि अतिक्रमण प्रयासको चर्को विरोध गरे । राजधानीको भृकुटीमण्डपमा भेला भएका विद्यार्थी संगठनले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग नेपालको भएको भन्दै तत्काल नक्सा सच्याउन माग गरे ।

भारतको अघोषित नाकाबन्दीको समयमा नेपालमा ‘गो ब्याक इन्डिया’ नारा लाग्ने गर्थे । सोही बेलालाई सम्झाउने गरी अहिले पनि भारतको विरोधमा चर्को नाराबाजी भएको हो । 

३७२ वर्ग किलोमिटर अतिक्रमित नेपाली भूभागलाई औपचारिक रूपमा आफ्नो नक्साभित्र पारेर भारतले आफ्नो हेपाहा र विस्तारवादी नीतिलाई प्रदर्शन गरेको छ । तर भारतको यो हेपाहा नीति सार्वजनिक भएको चार दिन बितिसक्दा पनि नेपाल सरकारले भने आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छैन । 

 नेपालको दार्चुला जिल्लामा पर्ने लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई भारतले सन् १९६२ देखि सैनिक अतिक्रमण गरेर कब्जा गर्दै आएको छ । यसबीच, काश्मीर र लद्दाखको नयाँ अवस्थितिलाई चित्रित गर्ने क्रममा जारी गरेको नयाँ नक्सामा भारतले औपचारिक रूपमै उक्त अतिक्रमित नेपाली भूमिलाई समेत आफ्नो भूमिका रूपमा चित्रित गर्दै नक्साभित्र राखेर नयाँ नक्सा सार्वजनिक गरेको हो । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप