शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ससुराले बुहारीलाई बोक्सी भन्दै डाम्न खोजेपछि...

बुधबार, २० कात्तिक २०७६, १६ : १३
बुधबार, २० कात्तिक २०७६

पाँचथर– पाँचथरको याङ्वरक गाउँपालिक–२, फलैँचामा एक महिलालाई आफ्नै ससुराले बोक्सी भन्दै डाम्न खोजेका छन् । हिलिहाङ गाउँपालिका–३, कुर्लुम्बा माइतीघर भएकी पूजा भारतीले आफूलाई ससुरा कान्तप्रसाद गिरीले बोक्सी भन्दै यातना दिएको बताएकी छिन् ।

ससुराले छिमेकी महेन्द्रप्रसाद पौडेलसँग मिलेर निर्घात कुटपिट गर्नुका साथै फलाम तताएर डाम्न खोजेको उनले बताइन् । कुटपिटपछि ससुराले डाम्नलाई फलाम तताउँदै गर्दा महेन्द्रले समाइरहेको अवस्थामा आफू फुत्किएर भाग्न सफल भएको पुजाले सुनाइन् ।

पूजा भागेर अहिले माइतीको शरणमा पुगेकी छिन् । गत भदौ ३१ गते राति कान्तप्रसाद र महेन्द्रप्रसादले आफूलाई बोक्सी भन्दै निर्घात कुटपिटसमेत गरेको पूजाको भनाइ छ । सोही रात आफूमाथि भएको जघन्य अपराध विरुद्ध नजिकैको प्रहरी चौकीमा ठाडो उजुरी दिएको उनको भनाइ छ ।

यद्यपि पीडकहरुलाई तत्काल पक्राउ गरेर कारबाही गर्न प्रहरी अग्रसर नभएको पीडितको गुनासो छ । प्रहरीले निकै समय गुज्रेपछि जाहेरी बिना कारबाही गर्न नमिल्ने भनेपछि असोज २७ मा जाहेरी गरेपनि प्रहरीले पीडकलाई अझै पक्राउ नगरेको पीडित पूजाको दुःखेसो छ । उक्त घटनापछि कान्तप्रसाद र महेन्द्रप्रसाद हाल फरार रहेको पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए । कान्तप्रसादले धामीको काम गर्ने गरेको जनाइएको छ । 

कान्तप्रसादले ‘मेरो छोरो खान लागिस्, घटेर मर्न लाग्यो’ भन्दै ससुराले यातना दिएको पीडित पुजाको दुःखेसो छ । सासूबाट समेत बोक्सीकै लाञ्छना पाउँदै लामो समयदेखि मानसिक यातना पाएको उनले पीडा पोखे । बाबुआमाकै कुरा सुन्ने गरेका श्रीमान् तेजप्रसादबाट पनि आफू अपहेलित भएको पूजाले सुनाए । फरार आरोपितहरुको खोजी भइरहेको प्रहरी निरिक्षक पौडेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप