केन्द्रीय संस्करण
समाज

ती महिला जसको जिन्दगी विवाहको पहिलो रातले बर्बाद गरिदियो

person explore access_timeकात्तिक २०, २०७६ chat_bubble_outline1

हेवर हसन।बीबीसी

विवाहबारे संसारभरिका मानिसहरूबीच निकै उत्सुकता हुने गर्छ । तर संसारका केही भागमा विवाहसँग सम्बन्धित केही रीतिरिवाजले धेरैलाई शारीरिक र मानिसक पीडा खेप्न बाध्य बनाएको हुन्छ । उनीहरूको विवाहको पहिलो रात यसरी बित्छ कि जसका तिता यादले जीवन रहुञ्जेल उनीहरूलाई पछ्याइरहेको हुन्छ ।

थुप्रै अरब र मुस्लिम देशमा विवाहको पहिलो रात महिला कुमारी (भर्जिन) होस् भनेर आशा गरिन्छ ।

बीबीसी अरबीले समाजका विभिन्न तप्काबाट आएका यस्ता थुप्रै महिलासँग कुराकानी गरेर विवाहसँग सम्बन्धित यी परम्पराले उनीहरूको वैवाहिक जीवनमा कस्तो असर पारेको छ भनेर जान्ने कोसिस गरेको छ । यौन शिक्षाको कमीले उनीहरूको विवाहमा कस्तो प्रभाव पारेको छ भनेर पनि यहाँ जान्न खोजिएको छ ।

यो ती महिलासँग भएको कुराकानीको सङ्क्षिप्त अंश हो जसमा उनीहरूले विवाहको पहिलो रातले आफ्नो जीवन कसरी बर्बाद भएको बारे जानकारी दिएका छन् ।

सोमैया, ३३ वर्षः

सोमैयाले आफ्ना प्रेमी इब्राहिमसँग विवाह गर्नका लागि परिवारसँग लामो सङ्घर्ष गरेकी थिइन् । परिवार उनको इच्छाविपरीत थिए । तर सोमैया इब्राहिमलाई अत्यधिक माया गर्थिन् र उनलाई कुनै पनि युवतीका लागि आदर्श श्रीमान्का रूपमा चित्रित गर्थिन् ।

तर सोमैयालाई अलिकति पनि अन्दाज थिएन कि उनले ठूलो झट्का पाउँदैछिन् । विवाहपछि इब्राहिमसँगको पहिलो रातमा यस्तै भयो । विवाहपछिको पहिलो रात वा सुहागरातलाई ‘प्रवेशको रात’ पनि भनिन्छ । त्यो रात सोमैयाको कुमारित्वमाथि उठेको प्रश्नले उनको मनबाट इब्राहिमका लागि अथाह माया सधैँका लागि हरायो ।

त्यतिबेला सोमैया २३ वर्ष मात्रै थिइन् । उनी सिरियाको राजधानी दमिस्कको युनिभर्सिटीमा अरबी साहित्य पढिरहेकी थिइन् । उनको डिग्री पूरा हुने स्थितिमा थियो । तर उनी इब्राहिमलाई असाध्यै माया गर्थिन् । इब्राहिमले पनि सोमैयासँग जेसुकै भए पनि उनलाई पढाइमा सहयोग गर्ने वाचा दिएका थिए ।

तर सुहागरातमा सोमैयाले ठूलै झट्का लाग्यो । सोमैया विवाहको विभिन्न काम सिध्याएर राम्रोसँग सास पनि फेर्न पाइरहेकी थिइनन् उनका श्रीमानले उनलाई शारीरिक सम्बन्ध स्थापित गर्न दबाब दिन थाले ।

सोमैयाका श्रीमान् इब्राहिमलाई उनको कौमार्य परीक्षण गर्न हतार थियो । उनी यो मात्र थाहा पाउन चाहन्थे कि सोमैयाको योनीद्वारको झिल्ली ठीक अवस्थामा छ कि छैन । इब्राहिमले ‘यो त उनको सोमैयाप्रतिको प्रेम हो जसलाई पाउन उनी असाध्यै हतार भएको’ भन्दै आफ्नो नयाँ दुलहीलाई सम्झाए ।

सोमैया भन्छिन्, ‘म निकै थाकेकी थिएँ तर मैले सहयोग गरेँ । उनको जिद्दीपनको अगाडि म झुकेँ ।’

जब अचानक रोमान्स समाप्त भयोः

तर सोमैयाको ‘रोमान्टिक फिलिङ’ले त्यतिबेला हावा खायो जब यौन सम्बन्ध स्थापित गर्ने बित्तिकै इब्राहिमले ‘रगत त आएन’ भने । त्यसपछि सोमैयालाई लाग्यो कि उनका श्रीमानलाई उनको कुमारित्वमाथि शङ्का लागेको छ । इब्राहिमलाई यो लागिरहेको थियो कि उनकी श्रीमती कुमारी अर्थात् भर्जिन छैनन् ।

धेरैजसो यौन सम्बन्ध स्थापित गर्दा पहिलो पटक महिलाको रगत बग्छ । यसको मात्रा महिलापिच्छे फरक हुन्छ । यसको कारण हुन्छ, योनीमाथि भएको एउटा झिल्ली जसलाई हाइमेन भनिन्छ ।

तर डाक्टर र जानकारका अनुसार पहिलो पटक यौन सम्बन्ध स्थापित गर्दा सबै महिलाको रगत निस्कनै पर्छ भन्ने छैन किनभने हाइमेन पनि विभिन्न प्रकारका हुन्छन् । कतिपटक यो यति मोटो हुन्छ कि यसलाई काट्नै पर्छ । यस्तै, कुनै यति नाजुक हुन्छन् कि रगत नबगीकनै यो च्यातिने गर्छ । यस्तै, कति महिलाको योनीमा हाइमेन नै हुँदैन वा कुनै दुर्घटनाका कारण उनको योनीको यो झिल्ली बाल्यकालमा नै फाटेको पनि हुनसक्छ ।

सोमैया आफ्नो श्रीमानको प्रतिक्रियाबारे भन्छिन्, ‘उनको आँखाको छुरा मेरो छातीमा रोपिएको थियो । उनले यो थाहा नै पाएनन् कि त्यो नजरले मलाई कसरी घोचिरहेको छ भनेर ।’

सोमैया भन्छिन्, ‘इब्राहिमले मसँग कुरा गर्ने पनि कोसिस गरेनन् । मलाई यस्तो लागिरहेको थियो कि म सन्दिग्ध हुँ र ममाथि मुद्दा चल्नेवाला छ । विवाहअघि हामीले धेरै विषयमा चर्चा गरेका थियौँ । यहाँसम्म कि हामीले विवाहको पहिलो रातबारे पनि कुरा गरेका थियौँ, जुन हाम्रो जीवनको सबैभन्दा सुन्दर रात हुनुपथ्र्यो । हामीलाई यस्तो लाग्थ्यो कि हामी एक–अर्कालाई राम्रोसँग चिन्छौँ तर जब सुहागरातमा रगत निस्किएन तब सबै माया हावामा बिलायो ।’

रगत लत्पत्तिएको तन्नाः

यद्यपि, सोमैया  जुन समाजकी थिइन् त्यहाँ यस्तो कुरा सामान्य हो । तर सोमैयालाई अलिकति पनि अन्दाज थिएन कि उनी आफै पनि यस्तो परिस्थितिबाट गुज्रनु पर्नेछ । सोमैयालाई लाग्थ्यो कि नयाँ पिढीको यस्तो विषयप्रति दृष्टिकोण परिवर्तन भएको छ । उनका भावी श्रीमान् पनि बुद्धिमान छन्, खुला विचारधाराका छन् र उनले विश्वविद्यालयमा पढेका छन् ।

तर विवाह भएको भोलिपल्ट इब्राहिमले सोमैयाले जब कुमारित्व परीक्षणका लागि डाक्टरकोमा जानुपर्ने बताए तब उनी छानाबाट खसेझैँ भइन् ।

महिलाको कुमारित्व परीक्षण निकै पुरानो परम्परा हो । तर यसको उद्देश्य र कुमारित्व परीक्षण गर्ने तरिका दुवै हरेक स्थान र समाजको हिसाबले भिन्न हुन्छ ।

धेरैभन्दा धेरै रुढिवादी परिवारमा कुनै महिलाको विवाह भएको राति उनको कुमारित्व प्रमाणित भएको उत्सव निकै धुमधामका साथ मनाइन्छ । उदाहरणका लागि दुलहा र दुलहीको परिवारलाई रगत लत्पत्तिएको तन्ना देखाइन्छ । थुप्रै पटक कुमारित्व प्रमाणित हुँदा विशेष उत्सव पनि मनाइन्छ ।

यस्तै, कुमारित्वको प्रमाण हासिल गर्ने विभिन्न तरिका प्रचलित छन् । यदि कुनै युवतीको योनीको झिल्ली फाटेको छ भने त्यसलाई शल्यक्रियामार्फत् पुनः सिलाउन सकिन्छ । त्यसपछि चीनमा बनेको प्रोस्थेटिक हाइमेन पनि आउँछ । जब यौन सम्बन्ध स्थापित गर्नेबेला तीमाथि दबाब पर्छ तब त्यसबाट रगत जस्तो देखिने रातो पदार्थ बाहिर निस्कन्छ ।

तर, महिलाले भिन्न प्रकारको स्थितिको पनि सामना गर्नुपर्ने सम्भावना हुन्छ । यदि उनीहरूको विवाहको दिन कुमारित्व प्रमाणित भएन भने उनीहरूको सम्मानको नाममा हत्या पनि हुनसक्छ ।

जब सेक्ससँग घृणा लाग्न थालेको थियोः

विवाहको भोलिपल्ट सोमैया र उनका श्रीमानले डाक्टरलाई भेटे । परीक्षणपछि सोमैयाको हाइमेन निकै मोटो भएको र उनले प्राकृतिक रूपमा बच्चा जन्माउँदा मात्रै यो फुट्ने बताए । यो सुनेर सोमैयाका श्रीमानले राहतको सास फेरे र उनको अनुहारमा मुस्कान छायो । तर त्यतिबेलासम्म निकै ढिला भइसकेको थियो  । सोमैयाले इब्राहिमसँग जतिसक्दो चाँडो सम्बन्धविच्छेद गर्ने निर्णय गरिसकेकी थिइन् ।

सम्बन्ध विच्छेदका लागि किन यति धेरै समय लाग्यो भन्ने प्रश्नमा उनले भनिन्, ‘मेरा श्रीमान् मेरा लागि पूर्ण रूपमा अपरिचित जस्ता भइसकेको थिए । उनको सोच पनि समाजका अन्य व्यक्तिको जस्तै छ भनेर म असाध्यै चिन्तित भइसकेकी थिएँ । उनी पनि कुमारित्व बारे त्यही सोच राख्ने जो अरू व्यक्तिले सोच्छन् । जे पनि हुनसक्थ्यो । म अब उनीसँग बसेर आफूलाई सुरक्षित महसुस गर्दिनथेँ । उनले वर्षौंको प्रेमलाई केही मिनेटमा नै हत्या गरिदिएका थिए ।’

केहीबेर चुप लागेपछि सोमैया थप्छिन्, ‘वास्तविकता यो थियो कि मैले आफ्नो स्थितिको कसरी विश्लेषण गर्ने भन्ने पनि थाहा थिएन । म त्यो रातपछि उनीबारे कस्तो महसुस गर्दथेँ । तर जब उनले मेरो अस्तित्वलाई एक झिल्लीसँग सीमित गरे त्यो दिनदेखि मेरा लागि उनीसँग एक पल बिताउनु पनि अभिशाप जस्तो भएको थियो । आखिर म एक व्यक्ति हुँ, मांशपेशीको डल्लो त होइन ।’

त्यो दिनपछि सोमैयाको चैन खोसिएको थियो । उनले मानिसहरूलाई भेट्न छोडिदिएकी थिइन् । उनी कतै पनि जाँदिनथिन् । उनलाई लाग्थ्यो कि उनी कुनै साधारण महिलाको जस्तो जीवनयापन गरिरहेकी छिन्, जहाँ श्रीमती आफ्नो श्रीमानको सहमतीबिना कमजोर हुन्छिन् । उसको आफ्नै कुनै पहिचान हुँदैन । 

त्यसको तीन महिनासम्म उनले मन नलागे पनि इब्राहिमसँग यौन सम्बन्ध स्थापित गरिरहिन् । सोमैया भन्छिन्, ‘जब उनले मसँग यौन सम्बन्ध स्थापित गर्दथे तब मलाई निकै घिन लाग्थ्यो । मलाई ऊ मनपर्दैनथ्यो । मलाई केही पनि महसुस हुँदैनथ्यो किनभने मेरो सबै उत्साह सुहागरातमा नै समाप्त भइसकेको थियो । उसले आफ्नो काम कहिले सिध्याउला भनेर म प्रतीक्षा गरिरहेकी हुन्थेँ । उसले मलाई कहिले छोड्ला भनेर सोच्थेँ । ऊसँग यौन सम्बन्ध स्थापित गर्न मलाई घिन लाग्थ्यो, धोका हो जस्तो लाग्थ्यो । मेरा लागि यो एउटा काम थियो । एउटा जिम्मेवारी थियो, जुन जुनसुकै हालतमा पनि निभाउनु पर्दथ्यो । यो प्रेम थिएन ।’

विवाहको रातका लागि सल्लाहः

सोमैया जुन समाजसँग सम्बन्धित छिन् त्यहाँ यस्तो कुरा साधारण हो । तर यस्ता विवाहबाट जन्मिने बच्चा र परिवारमाथि यस्ता कुराले निकै असर पार्छ । विशेषगरी जब यस्ता मसलामाथि खुल्ला रूपमा चर्चा हुँदैनन् ।

अमल अल–हामिद एक मनोचिकित्सक हुन् । उनले बीबीसीसँग यसबारे कुरा गरिन् र विवाहको रात कुनै युवतीको हालत कस्तो हुन्छ भनेर जानकारी दिइन् ।

अमलले विशेषगरी विवाहको तयारीमा भएका युवतीलाई अनावश्यक तनाव पैदा नहोस् भनेर सल्लाह दिन्छिन् । अमल भन्छिन्, ‘हाम्रो समाजमा साधारणतया मनोवैज्ञानिक सल्लाह लिइँदैनन् किनभने यसबारे विभिन्न प्रकारका पूर्वाग्रह छन् ।’

अमल अल–हामिदका अनुसार विवाहअघिका यस्ता सर–सल्लाहले विवाहित जीवनको सुरुवात तितो तरिकाले सुरु हुँदैन । किनभने कुनै पनि विवाहित जीवनको आधार एकअर्कासँग खुलेर कुरा गर्ने र समझदारीले राम्रो हुन्छ ।

अमल भन्छिन्, ‘विवाह गर्ने जोडीले विवाहअघि एकअर्काको काम बारे जानकारी लिने र चाहे जतिसुकै निजी किन नहोस्, त्यसबारे सोध्नुपर्छ । जस्तै, हाइमेनका विभिन्न प्रकार र पहिलो पटक यौन सम्बन्ध कसरी स्थापित गर्ने भन्ने बारे कुराकानी गर्नै पर्छ । यसो गर्नाले युवतीले जीवनभरी घाउ बोक्न पर्दैन । तर वास्तवमा यसको ठीक विपरीत हुन्छ । महिलाका लागि विवाहको पहिलो रात जीवनको सबैभन्दा डरलाग्दो रात बन्ने गर्छ ।’

अमल भन्छिन्, ‘धेरै मामलामा यस्ता समस्या सुल्झाउनुको साटो, घाउ बढ्न दिइन्छ जुन भविष्यमा थप समस्याको कारण बन्ने गर्छ ।’

कुमारी भएको प्रमाणः

बीबीसीले २० जनालाई ‘पहिलो पटक शारीरिक सम्बन्ध स्थापित गर्दा श्रीमतीको कुमारित्वको प्रमाण नपाए, के गर्छौ ?’ भनेर साध्यो ।

उनीहरूको उमेर २० देखि ४५ वर्षबीचको थियो । यीमध्ये कोही विवाहित थिए भने कोही निकै शिक्षित तप्काका थिए, जो डाक्टर थिए, अध्यापक थिए र आफूलाई ‘खुल्ला विचारधारा’ भएको दाबी गर्दथे ।

उनीहरूको जवाफ कस्तो थियो ? धेरैको उमेर सीधा वा घुमाउरो पारामा नकारात्मक नै थियो ।

धेरै पुुरुषले तन्नामा रगतको दागलाई युवती कुमारी भएको प्रमाण माने । उनका अनुसार यो सुखी र खुसी वैवाहिक जीवनको आधार थियो जुन विश्वास र आपसी समझदारीका साथ सुरु हुन्थ्यो ।

त्यहाँ न प्रेम बाँकी रह्यो न जुनुन:

विवाहको केही महिनापछि सोमैयाले आफ्ना श्रीमानसँग सम्बन्धविच्छेद गर्ने इच्छा व्यक्त गरिन् । साथै उनले कुनै पनि कुराले उनको निर्णय परिवर्तन नहुने पनि बताइन् । किनभने उनलाई इब्राहिम वरिपरि जानु नै आफ्नो ज्यानको खतरा भएको लाग्थ्यो र पहिलो रातमा जे भयो त्यसपछि उनीहरू दुईबीच न प्रेम बाँकी थियो न एक अर्काको लागि प्यासन नै ।

सोमैयाले उनको शङ्काले आफ्नो भूमिकालाई कसरी तल्लो स्तरको देखाएको र अपमान गरेको पनि उनले बताइन् ।

सोमैया भन्छिन्, ‘मेरो कुराले इब्राहिमलाई ठूलै झट्का लागेको थियो । उसलाई यो लाग्थ्यो कि पुरुष भएको नाताले श्रीमतीलाई विवाहअघि यौन सम्बन्ध थियो थिएन भनेर सोध्नु आफ्नो अधिकार हो । उनले मलाई जीवनभरी सम्बन्धविच्छेद नदिने पनि बताएका थिए । उनले मलाई आफ्नो निर्णयबारे सावधानीपूर्वक विचार गर्न र आफ्नो विद्रोही व्यवहारबारे पुनः सोचविचार गर्न पनि भने ।’ 

सोमैया भन्छिन्, ‘हाम्रो समाज निकै घिनलाग्दो छ जहाँ पुरुषले विभिन्न महिलासँग सम्बन्ध बनाउनु पनि राम्रो मानिन्छ, उनीहरूको जताततै तारिफ हुन्छ । जब महिलाको कुरा आउँछ तब यस्तो व्यवहारलाई समाजले अस्वीकार गर्छ । कतिपटक यसको सजाय हत्याको रूपमा पनि दिने गरिन्छ ।’

सोमैया भन्छिन्, ‘मेरो पूर्व श्रीमान् यस्तै व्यक्ति थिए । उनले आफ्ना साथीहरूलाई आफूले थुप्रै महिलासँग यौन सम्बन्ध स्थापित गरेको भनेर गर्व गर्दथ्यो । तर मैले ठट्टा गर्दा पनि रिसले रन्थनिन्थ्यो ।’

सोमैयाका परिवारले पनि इब्राहिमसँग सम्बन्धविच्छेद गर्न उनलाई मद्दत गर्न अस्वीकार गरे । उनीहरूका अनुसार उनले जसलाई ठूलो मसला बनाइरहेकी छिन् त्यो निकै सानो भएको र त्यसलाई सुल्झाउन सकिन्छ । त्यसपछि सोमैयाले सिरिया छोडिन् र युरोप गइन् ।

जुमना, ४५ वर्षः

जुमनाले आफ्नो जीवनको धेरैजसो समय सिरियाको अलेप्पो सहरको अलबाब क्षेत्रमा बिताएकी थिइन् । सन् २०१६ मा उनी बेल्जियमको राजधानी ब्रसेलस आएकी थिइन् ।

जुमनाले बीबीसीसँगको कुराकानीमा सम्बन्धविच्छेदका लागि उनले २० वर्ष प्रतीक्षा गर्नुपरेको बताइन् ।

उनी भन्छिन्, ‘बुवाले मेरो विवाह काकाको छोरासँग निश्चित गर्दा म १९ वर्षकी थिएँ । मलाई यो विवाहमा कुनै पनि रुचि थिएन । मलाई ऊ मन पर्दैनथ्यो । म पढ्न चाहन्थेँ । तर मेरो बुवाले उनी मेरा लागि सबैभन्दा सही दुलहा भएको भन्दै विवाहका लागि दबाब दिए । उनी मलाई बिस्तारै मनपर्न थाल्ने र पछि प्रेम पनि हुने बताइयो ।’

धेरैजसो रुढिवादी परिवारमा, विशेषगरी ग्रामीण इलाकामा, दुलहा दुलहीका वृद्ध आफन्त (महिला वा पुरुष) नयाँ विवाहित जोडीको घरमा युवतीको कुमारित्व प्रमाणितका लागि प्रतीक्षा गर्छन् ।

जुमनालाई आफ्नो विवाहको पहिलो रात निकै राम्रोसँग याद छ । उनी त्यो रातबारे निकै दुःखी हुँदै कुरा गर्छिन् ।

जुमना भन्छिन्, ‘मेरा श्रीमानले ढोका बन्द गरे र हामीले चाँडै नै गर्नुपर्ने बताए । किनभने परिवारका वृद्ध सदस्यले कुमारित्वको प्रमाणका लागि हाम्रो प्रतीक्षा गरिरहेका छन् ।’

जुमना भन्छिन्, ‘मलाई त्यो कुरा असाध्यै मन परेको थिएन । मेरा श्रीमानले मसँग एक मिनेट पनि कुरा गरेनन् । उनलाई यो कुराको मतलबै थिएन । उनी त बस् आफ्नो काम पूरा गर्न थाले जब कि म डर र घिनले काँपिरहेकी थिएँ ।’

उनी भन्छिन्, ‘शारीरिक समस्या र भावनात्मक तनाव हुँदा हुँदै पनि मेरा श्रीमानलाई एउटा कुराको चिन्ता थियो– रगतको दाग ।’

लज्जाः

जुमना भन्छिन्, ‘त्यो रात मेरो रगत बगेन । त्यतिबेला मेरा श्रीमानले रातको सन्नाटालाई चिर्दै ‘रगत किन बगेन ?’ भनेर चिच्याए । उनले मलाई यति भद्दा गाली गरेँ कि म ती शब्द भन्न पनि सक्दिनँ । उनका आँखा बलिरहेको कोइला जस्तो थिए, जसले मलाई कुनै पनि बेला खरानी पार्न सक्थ्यो ।’

करिब एक घण्टासम्म जमुन अत्यधिक पीडामा थिइन् । उनको मुखबाट एक शब्द पनि निस्किएन । उनले बिहानसम्म पनि प्रतिक्षा गरिन् र कुमारित्व परीक्षण गर्नका लागि त्यसै राति डाक्टरलाई भेट्न गइन् ।

जुमना भन्छिन्, ‘मलाई याद छ कि ती डाक्टरले मलाई आफ्नै बुवाले जस्तै सान्त्वना दिइरहेका थिए । उनले मेरा श्रीमानलाई उनको व्यवहारका लागि गाली पनि गरिरहेका थिए ।’

जुमना त्यसपछिको धेरै वर्षसम्म श्रीमानसँग बस्न बाध्य भइन् । किनभने न त जुमनाको परिवार न नै उनका वरिपरिका मानिसहरू उनलाई सम्बन्धविच्छेदका लागि साथ दिन तयार थिए, न त त्यो रात कसैले जुमनालाई साथ दिए, न नै २० वर्षको वैवाहिक जीवनमा उनको समर्थनमा उत्रिए ।

२० वर्ष र चार सन्तान भएपछि पनि जुमनाले आफूमाथिको उक्त दुर्व्यवहार बिर्सन सकिनन् । उनी आफ्ना सन्तानसहित जब ब्रसेल्स पुगिन् तब आफ्ना श्रीमान् र आफूलाई निच देखाउने त्यो समाजसँग बदला लिनका लागि आफ्नो विवाहमाथि पूर्णविराम लगाउने निर्णय गरिन् ।

जुमनाका अनुसार ब्रसेल्सको जीवन उनको आफ्नो र सन्तानका लागि उत्कृष्ट छ । अब उनी पुनः विवाह गर्न चाहन्नन् । यसको साटो उनी आफ्नो पढाइको सपना पूरा गर्न चाहन्छिन् ।

जुमना भन्छिन्, ‘म अब खुसी छु किनभने मैले आफ्ना दुई छोरीलाई पनि यहाँ ल्याउन सकेँ ।’

रोजाना र अमिनाः हाइमेनको मर्मतको शल्यक्रिया

अर्की एक रोजाना नामकी युवतीले पाँच वर्षपछि प्रेमीसँग किन छुट्टिइन् भनेर जानकारी दिइन् । रोजानाले भनिन्, ‘म उनलाई विश्वास गर्थेँ र उनलाई निकै माया गर्थेँ । हाम्रो थुप्रै पटक भेट भइसकेको थियो र एक भेटमा उनले मलाई सेक्स गर्नका लागि जिद्दी गर्न थाले । मैले उनलाई आफ्नो श्रीमान् नै मान्थेँ त्यसकारण म उनको जिद्दीपनको अगाडि झुकेँ र हामीले सम्बन्ध स्थापित गर्‍यौं ।’

६ महिनापछि रोजाना र उनको प्रेमीको परिवारबीच ठूलो झगडा भयो । त्यसपछि उनीहरू अलग्गिए ।

उनी भन्छिन्, ‘हाम्रो समाजमा कुमारित्व गुमाउँदा के सजाय हुन्छ, यसमा कुनै बहस हुँदैन । यसको सजाय मृत्यु मात्रै हो ।’

रोजाना भन्छिन्, ‘मेरा साथीहरू मेरो पक्षमा थिए । उनीहरूले मलाई गोप्य रूपमा कुनै महिला डाक्टरलाई भेट्ने सल्लाह दिए र उनले मलाई शल्यक्रिया गरेर नयाँ चाइनिज हाइमेन लगाउन भनिन् । यो सानो शल्यक्रिया नभएको भए म उहिल्यै मरिसक्थेँ ।’

यसैगरी अमिनामाथि पनि बाल्यकालमा यस्तै घटना भयो । उनी बाथरुमको सिँढीमा लडेकी थिइन् र उनको योनीबाट रगत बगेको थियो । अमिना एक रुढिवादी र निकै गरिब परिवारकी हुन् ।

उनलाई त्यतिबेला के भएको थियो भनेर थाहा थिएन तर अमिनाले आफ्नी आमालाई यो कुरा बताइन् । आमाले अमिनालाई तत्काल एक महिला डाक्टरकोमा लिएर गइन् । परीक्षण गर्दा अमिनाको हाइमेन टुटेको थाहा भयो ।

त्यसपछि उनको निकै गोप्य तरिकाले हाइमेनको शल्यक्रिया गरियो ।

कुमारित्व परीक्षणः

थुप्रै अरब र मुस्लिम देशमा धेरैजसो युवतीले विवाहअघि कुमारित्व परीक्षणबाट गुज्रिनुपर्छ । त्यसपछि नै दुलहीले कुमारी भएको उपाधि पाउँछिन् ।

ह्युमन राइट्स वाच (एचआरडब्ल्यू) ले इन्डोनेसिया र अन्य अरब र मुस्लिम देशमा हुने यो पीडादायी ‘कुमारित्व परीक्षण’को घोर विरोध गरेका थिए ।

यस्ता देशमा हुनेवाला दुलहीको योनीमा दुईवटा औँला हालेर उनीहरूको योनीको झिल्ली सुरक्षित छ छैन भनेर परीक्षण गर्छन् । यो जिम्मेवारी साधारणतया वृद्ध महिलालाई सुम्पिइन्छ ।

यो परम्परा मध्यपूर्व र उत्तर अफ्रिकी देशमा निकै साधारण छ । ह्युमन राइट्स वाचले सन् २०१४ मा प्रकाशित आफ्नो रिपोर्टमा यसलाई लैङ्गिक हिंसाको एउटा रूप बताएका थिए, जुन महिलाप्रति अमानवीय भेदभाव र मानव अधिकारको उल्लङ्घन हो ।

बीबीसीको एक अध्ययन अनुसार भारत, अफगानिस्तान, बङ्गलादेश, इरान, इजिप्ट, जोर्डन, लिबिया, मोरोक्को र अन्य अरब देशका साथै दक्षिण अफ्रिकाजस्ता देशमा कुमारित्व परीक्षण सबैभन्दा धेरै गरिन्छ ।

ह्युमन राइट्स वाचका अनुसार इजिप्ट, मोरोक्को, जोर्डन र लिबियामा कुमारित्व परीक्षण निकै साधारण छ ।

कमेन्ट

  1. Nov. 6, 2019, 2:21 p.m. usbichar
    k ta haru ko linga change gardinu paryo
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...