बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वीर अस्पतालको विपन्न केन्द्र नै विपन्न

बिहीबार, ०१ भदौ २०७४, १७ : ४०
बिहीबार, ०१ भदौ २०७४

काठमाडौँ । देशकै पुरानो अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा सेवा लिनेहरुको भीड दैनिक लागिरहन्छ । अस्पतालको विपन्न नागरिक उपचार केन्द्रमा पनि उत्तिकै भीड देखिन्छ । विपन्न नागरिक उपचार केन्द्रबाट सेवा लिनेहरुको सङ्ख्या दैनिक रुपमा बढ्दै गईहेको छ । वीरको विपन्न केन्द्रबाट मृगौला प्रत्यारोपण, हेमोडायलासिस, पेरिटोनियल डायलासिस, मुटु, क्यान्सर, हेड इन्जुरी, स्पाइनल इन्जुरी, ड्डसिकलसेल एनिमिया, अल्जाइमर्सर पार्किन्सस रोगको उपचारको व्यवस्था रहेको छ । 

यो केन्द्रबाट सेवा लिनेको सङख्याकै कुरा गर्ने हो भने  १ सय देखि २ सय भन्दा बढी आउने गर्छन् ।  विपन्न केन्द्रबाट १ जना बिरामी बराबर झण्डै ८ लाख औषधि र उपचार खर्च सरकारले निःशुल्क गरिदिएको छ । वि.स २०६६ बाट सुरु भएको विपन्नको सेवा लिनको लागि वार्षिक रुपमा १० प्रतिशतले बृद्धि भइरहेको छ । तर वीरको विपन्न शाखाको कुरा गर्ने हो भने शाखा आफै विपन्न रहेको छ ।  

देशभरको विपन्न परिवारको विरामीको उपचार गर्ने वीर अस्पतालको विपन्न नागरिक उपचार केन्द्र आफैमा विपन्न जस्तै देखिन्छ । जहाँ धेरै कुराको समस्या र अभावको बावजुत पनि यो शाखाले सेवा प्रदान गरिरहेको छ । नेपाल सरकारले विपन्न नागरिकको लागि उपचारमा तोकेको सबै सेवाहरु वीरको विपन्नबाट दिन सकेको छैन ।  विपन्न नागरिक उपचारकेन्द्रबाट विरामीको लागि आवश्यक पर्ने २० प्रकारको औषधिको अभाव रहेको छ ।

जुन औषधिलाई १० देखि २२ हजार सम्म पर्ने गरेको छ । वीरको यो शाखामा दैनिक जसो कुनै न कुनै औषधिको अभाव भईरहन्छ । विपन्न नागरिक उपचारकेन्द्रका मनिराज श्रेष्ठका अनुसार शाखामा प्रर्याप्त मात्रामा औषधि नहुदा बाहिरबाट महंगो मूल्यमा औषधि किन्नु  बिरामीको बाध्यता बनेको छ । विपन्न केन्द्रमा अभाव भएको औषधिको लिस्टबारे अस्पताललाई जानकारी गराउदा हुन्छ भन्ने तर समयमा नआउने बताए । औषधि अभावका कारण बाहिर औषधि लिन जादा बिरामीको उपचारमा पनि ढिला हुने गरेको छ ।  

औषधिको पैसा दिँदैन वीरले 
विपन्न नागरिक उपचार केन्द्रमा अभाव भएको औषधि वीरकै अन्य फार्मेसीहरुमा पाईन्छ । तर विपन्नका विरामीले पाउँदैनन् । विपन्न शाखा बाहेक वीरकै अन्य फार्मेसीबाट औषधि किन्दा पैसा तिर्नुपर्छ । अस्पताल र फार्मेसीको हिसाब नमिल्ने भन्दै फर्काइन्छ । वीरले विपन्न केन्दं्रमा उपचार गराईरहेका विरामीलाई वीरको जुनसुकै फार्मेसीबाट औषधि दिनमिल्ने ब्यवस्था वीरले मिलाएको छैन । निःशुल्क सेवामा रहेपछि अस्पतालमा औषधि नहुँदा बाहिरबाट ल्याएको खण्डमा बिरामी र बिरामीको आफन्तलाई औषधिको पैसा दिनुपर्ने हो तर वीरले यो कामको पनि कुनै ब्यवस्था गरेको छैन ।

कर्मचारीको अभाव 
वीर अस्पताको विपन्न शाखामा कर्मचारीको पनि अभाव देखिएको छ । विपन्न शाखामा निकै लामो समयदेखि निराजन श्रेष्ठ एक्लै थिए । केही समय पहिला देखि एक जना कर्मचारी थपिएको छ । तर अझै पनि ३ जना कर्मचारीको अभाव रहेको श्रेष्ठ बताउँछन् । विपन्नमा सेवा लिने विरामाको कागजपत्र मिलाउने, तथ्याङ्क संकलन गर्ने, औषधि दिने काम हुन्छ यो कामको लागि कर्मचारीको अभाव बिरामीलाई सेवा लिनको लागि ३ घण्टा कुर्नु पर्छ । भने डाटा लिनको लागि नै घन्टौ समय कुर्नुपर्ने हुन्छ । यस्तै शाखाको लागि ठाउँ साँघुरो भएको, कम्प्यूटर राम्रोसँंग नचल्ने जस्ता समस्याहरु धेरै रहेका छन् ।  

समस्या राख्नुनै बेकार 
वीरको हरेक बैंठकमा मनिराजले आफ्नो शाखाको समस्याबारे जानकारी गराउदै आईरहेका छन् । लामो समयदेखि वीरमा काम गर्दै आएका उनी भन्छन्, ‘समस्या त हरेक पटक जानकारी गराउँदै आएको छु तर सुनुवाई अहिलेसम्म भएको छैन ।’ 

विशिष्ट व्यक्ति पनि विपन्न
विपन्न भन्नाले जो आफ्नो स्वास्थ्य उपचार गराउन सक्ने अवस्थामा छैनन् । यो सेवा विषेशत त्यस्ता नागरिकको लागि हो भनेर पनि स्वास्थ्य सेवा विभागले भन्दै आइरहेको छ । तर, वीरको विपन्नमा सेवा लिनको लागि आउने बिरामीहरुको अवस्था हेर्ने हो भने विपन्न सम्पन्न दुबै नागरिकहरु आउने पाइएको छ । यो सेवा लिनको लागि डाक्टरदेखि सरकारी निकायको माथिल्लो पदमा कार्यरत व्यक्ति पनि आउने गरेका छन् । केन्द्रका मनिराज श्रेष्ठ भन्छन्, ‘रोग लागे पछि उपचार खर्च कति लाग्ने हो, कहिलेसम्म निको हुने हो भन्ने कुरानै यकिन नएकोले सम्पन्न परिवार पनि सरकारी सेवामानै आउने गरेका छन् ।’  

अर्काे त विपन्न र सम्पन्न नागरिकको पहिचाननै नगरी गाउँपालिका, नगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालयले सिफारिस दिने हुँदा सबै विरामीलाई सेवा दिनुपर्ने बाध्यता अस्पतालको रहेको सुनाए । केन्द्रका एक कर्मचारी भन्छन्, ‘विपन्न नागरिकको सिफारिस हातमा हुन्छ तर घाँटीमा सुनको सिक्री हुन्छ । अनि त्यस्ता व्यक्तिलाई विपन्न भन्ने की सम्पन्न ?’ जिल्लाबाटनै प्रकृयासहित आएको विरामीलाई फर्काउन नमिल्ने उनको भनाई छ । 

खुशी छन् कालिकोटका बासुदेव  
कालिकोटका बाँसु देव उपाध्यय वीरमा भर्ना भएको ४ महिना भयो । अहिले पनि वीरको विपन्न शाखाको ५९ नम्बर वेडमा हुनुहुन्छ । डाक्टरले बताए अनुसार उनको पेटको ठूलो आन्द्रामा क्यान्सर भएको थियो । बालिकोटदेखि उपचार गर्न आएका बासुको अप्रेशनको लागि २ लाख ५० हजार लाग्यो । त्यो पैसा आफ्नो भाइले १ लाख र गाँउबाट १ लाख ५० हजार ऋणमा लिएका छन् । उनलाई विपन्न नागरिकको लागि यो सेवा सुरु गरिएको छ भनेर पहिला थाहा थिएन । अप्रेशनपछि वीरकै डाक्टरले सेवाको बारेमा जानकारी दिए । अहिले उनी विपन्नबाटनै सेवा लिईरहेका छन् । घरको आर्थिक अवस्था कमजोर भएका बासु विस्तारै निको हुँदैछन् । उपचारमा लाग्ने सबै औषधि उपचार सरकारलेनै ब्यहोेर्दै आइरहेको छ । तर विपन्न शाखामा सबै औषधि नहुँदा बाहिरबाट औषधि किन्नु परेको बताए । 


  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप