शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘शंकास्पद’ विदेशी लगानी फिर्ता लैजान खोजिएपछि खैलाबैला, जोखिममा नेपाली बैंक

मङ्गलबार, १९ कात्तिक २०७६, १९ : १९
मङ्गलबार, १९ कात्तिक २०७६

काठमाडौं । नेपालको होटल तथा क्यासिनो व्यवसायमा भित्रिएको एक विदेशी लगानी विवादमा तानिएको छ ।  सिल्भर हेरिटेज इन्भेस्टमेन्ट ग्रुप अस्ट्रेलियाले ल्याएको लगानी पुनः बीचमै फिर्ता लैजान चलखेल भएपछि विवाद सिर्जना भएको हो । 

हेरिटेजले रुपन्देहीमा होटल, रिसोर्टसहितको (टाइगर वन) क्यासिनो सञ्चालन गर्ने गरी योजना अघि बढाएको थियो । तिलोतमा नगरपालिका वडा नं १३ मा संचालित सो योजनामा प्राइम बैंकको नेतृत्वमा चार वटा बैंकले २ अर्ब ५० करोड कर्जा समेत लगानी गरेका छन् । 

तर, उक्त क्यासिनो सरकारी तथा सामुदायिक जग्गामा बन्न लागेको भन्दै जिल्ला अदालत रुपन्देहीमा गत असोज २७ गते रिट परेको थियो । सो रिटमाथि जिल्ला अदालतले कम्पनीलाई काम अघि नबढाउन आदेश दिएपछि होटलको काम बीचैमा रोकिएको छ । स्रोतका अनुसार हेरिटेजको लगानीनै शंकास्पद देखिएको छ ।

यही बीचमा क्यासिनोको काम रोकिएसँगै हेरिटेजले नेपाली लगानीकर्तालाई मार पार्ने गरी लगानी फिर्ता लैजान चलखेल बढाएको स्रोतको भनाइ छ ।  

यता टाइगर वनको निर्माण आयोजना रोकिएसँगै स्वदेशी लगानी जोखिममा पर्ने देखिएको भन्दै राष्ट्रबैंकले घटनाबारे चासो राख्दै प्राइम बैंकलाई पत्र काटेको छ । राष्ट्र बैंकको सुपरीवेक्षण विभागले काटेको पत्रमा बैंकलाई घटनाको यथार्थ विवरण पेश गर्न भनिएको छ । 

 विभागका उप–निर्देशक पिताम्बर पोखरेलद्वारा जारी पत्रमा नेपाली बैंकको लगानी जोखिममा पर्ने बुझिएको भन्दै प्राइम बैंकको नेतृत्वमा भएको कर्जा प्रवाहको यथार्थ विवरण र समस्या पठाउन भनिएको छ । 

विदेशी लगानी वा विदेशी मुद्रा देशमा भित्र्याउँदा अनिवार्य राष्ट्र बैंकबाट मुद्रा आयात तथा मुद्रा सटही(विनिमय) को स्वीकृति लिनुपर्छ । त्यस्तो लगानी वार्षिक रुपमा नवीकरण गर्दै जानुपर्ने नियम छ ।  कुनै कारणबस आयोजना स्थगित भएमा र लगानी फिर्ता लानु परेमा राष्ट्र बैंकसँग पुनः स्वीकृति लिनुपर्छ । यसमा पनि सम्बन्धित देशको मुद्रा सटहीका लागि बैंकसँग विनिमय स्वीकृति लिनुपर्छ । विदेशी लगानीकर्ता सिल्भर हेरिटेजको लगानीको ५ वर्ष वितिसेको छ । 

यस्तै नेपाली होटल तथा क्यासिनोमा रहेको विदेशी पैसाको नियमित रजिष्ट्रर(विनिमय) गराउनु पर्ने पनि नियम छ । तर सिल्भर हेरिटेजका नेपालमा सञ्चालित अन्य क्यासिनोहरुमा विना जानकारी र विना विनिमय स्वीकृत करोडौं विदेशी मुद्रा लुकाइएको स्रोतको दावी छ । 

नेपाली होटल तथा क्यासिनो संचालन तथा विदेशी मुद्रा आर्जनको नियममा प्रत्येक दिन जम्मा भएको विदेशी पैसा अनिवार्य रुपमा विनिमय रजिष्ट्रर गराउनुपर्ने व्यवस्था छ । तर हेरिटेजले यो नियमको उलंघन गरेको आरोप छ । 

तर अहिले भने विभिन्न बहानामा विनिमय स्वीकृति गराई उक्त पैसा बाहिर लैजान लागिएको हो ।  यसमा राष्ट्र बैंकको समेत मिलेमतो रहेको स्रोतको दाबी छ । स्रोतका अनुसार अहिले उक्त लगानी वैकल्पिक बाटो गर्दै बाहिर लैजाने खेल हुँदैछ । 

यता, प्रत्येक महिना होटल, क्यासिनोमा अनुगमन गर्नुपर्ने भएपनि राष्ट्रबैंकले लुकाएको भनिएको विदेशी मुद्राको खोजी नगरेको र अहिले अनुगमन गरेझै गरेर उल्टै सहजीकरण गर्नतर्फ लागेको स्रोतको दाबी छ । केहीदिन अघिमात्र बैंकले क्यासिनोमा अनुगम गरेको तर कम्पनीमाथि कुनै कारबाही नचालिएको स्रोतको भनाइ छ ।

यो विषयमा राष्ट्र बैंकका सुपरीवेक्षण विभागका कर्मचारी मुकुन्द्र क्षत्रीले भने आफूहरुले सिल्भर हेरिटेजमा कुनै पनि अनुगमन नगरेको र त्यस्तो खेलमा नलागेको दाबी गरे । 

‘सिल्भर हेरिटेजका कुनै पनि क्यासिनोमा हामीले छापा मारेका छैनौं । यो निराधार कुरा हो’ क्षत्रीले भने, ‘यो काम विनिमय विभागको हो । उनीहरुलाई नै थाहा होला ।’

राष्ट्र बैंकका मुद्रा विनिमय शाखाकी कर्मचारी सरिता भट्टले भने अनुगमन, निरीक्षणको काम नियमित चलिरहेको भएपनि हेरिटेजको समस्या चाहिँ आफूलाई थाहा नभएको बताइन् । 

‘होटल, क्यासिनोमा विदेशी मुद्रा अनुगमन तथा नियमनको काम भइनैरहेको हुन्छ । यसमा हामी काम गरिरहेका हुन्छौं’ भट्टले भनिन्, ‘तर हेरिटेजको समस्या के हो थाहा भएन ।’

अहिले हेरिटेजले विभिन्न देशका करिब ७ करोड शंकास्पद विदेशी मुद्रा लुकाएको र सोही रकम बाहिर लगेर नेपाली लगानीलाई भने जोखिममा पार्न खोजेको बताइएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप