शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रसूति अस्पतालमा नवजात शिशुको मृत्यु, परिवारद्वारा शव बुझ्न अस्वीकार

मङ्गलबार, १९ कात्तिक २०७६, ११ : २९
मङ्गलबार, १९ कात्तिक २०७६

काठमाडौँ । राजधानीको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि परिवारले शव बुझ्न अस्वीकार गरेको छ ।

आइतबार बिहान गोरखा आरुपोखरी–७ घर भएका कृष्णबहादुर कुँवरले ३५ वर्षीय पत्नी ज्ञानुकुमारीलाई प्रसूतिका लागि भर्ना गरेका थिए ।

सोमबार बेलुका प्रसूति कक्षमा लगिएकी ज्ञानुकुमारीबाट मङ्गलबार बिहान जन्मिएको बच्चाको मृत्यु भएको परिवारजनको भनाइ छ । चिकित्सकले सालनाल बेरिएका कारण गर्भमै बच्चाको मृत्यु भएको बताएको कृष्णबहादुरको भनाइ छ ।

‘मरेकै बच्चा जन्मिएको हो भने सालनाल किन काटेको ? बच्चा किन सफा गरेको ?,’ उनले प्रश्न गरे । बच्चाको नाकबाट रगत आएको, बच्चालाई सफा गरिएको र सालनाल काटेका कारण जीवित बच्चा जन्मिएर चिकित्सकको लापरवाहीका कारण मरेको हुन सक्ने उनको जिकिर छ ।

हाल पत्नी ज्ञानकुमारीको समेत स्वास्थ्य अवस्था नाजुक रहेको उनले बताए । चिकित्सकले ‘आइसीयु’ मा भर्ना गर्नुपर्छ भनेको उनले सुनाए ।

‘आइसीयुमा राख्नुपर्छ भनेका छन्,’ रातोपाटीसँग उनले भने, ‘बच्चाको त्यो हालत भयो, अब बच्चाको आमालाई यो अस्पतालमा राख्दिनँ, यहाँ जेसूकै हुन सक्ने रहेछ ।’

उनले शिशुको शवसमेत आफूले नबुझ्ने बताए । ‘अहिले पत्नीको स्वास्थ्य मेरो लागि महत्त्वपूर्ण हो,’ उनले भने, ‘अर्कै अस्पतालमा लगेर पहिला उनलाई बचाउँछु, त्यसपछि शिशुको बारेमा कुरा गर्न आउँछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप