शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

व्यापार घाटा साँघुरिदै, दीगो हुने–नहुनेमै शंका

३ महिनाको तथ्याङ्कलाई हेरेर दङ्ग पर्ने अवस्था हुँदैन : अर्थविद्
सोमबार, १८ कात्तिक २०७६, ११ : ४६
सोमबार, १८ कात्तिक २०७६

काठमाडौँ । चालु आर्थिक वर्ष (२०७६/०७७) शुरु भए यता लगातार व्यापार घाटा कम भएको प्रतिवेदन सार्वजनिक भइरहेको छ । वैदेशिक व्यापारको स्थितिलाई लिएर प्रत्येक महिना भन्सार विभागले प्रतिवेदन सार्वजनिक गर्ने गर्छ । भन्सार विभागको पछिल्ला प्रतिवेदनले व्यापार घाटा न्युनिकरण हुनु सकारात्मक देखिएपनि यस्तो घाटा कतिको दीगो छ भन्ने विषयले अर्थ राख्ने विज्ञहरु औल्याउँछन् ।

कतिपयले राजस्वमुखी अर्थतन्त्र भएकाले आयात कम हुँदा राजस्व कम हुने र यसले आर्थिक बृद्धिदरमा असर गर्ने बताइरहँदा एकाथरी भने भन्सार विन्दुको राजस्व कमजोर भएर आन्तरिक उत्पादनको राजस्व मजबुत बन्नुपर्ने तर्क गर्दछन् ।

वर्षौँदेखि व्यापार घाटाले ग्रसित देशमा यस वर्षदेखि थोरै भएपनि घाटा साँघुरिन खोज्नुले व्यापार घाटा कम होला कि भन्ने आशा गर्नु अस्वभाविक पनि होइन । अर्थविद् केशव आचार्य आयात कम हुनु ज्यादै खुसीको विषय भएको बताउँछन् । तर यसपटक ह्वात्तै निर्यात बढेको पाम आयलको निर्यात बृद्धि टिकाउ नहुने सङ्केत उनी गर्छन् ।

आचार्य भन्छन्, ‘कश्मीर र भारतको विवादका कारण मलेसिया भारतसँग रुष्ट भयोे र भारतले मलेसियासँग पाम आयल किन्न छाड्यो । अहिले नेपालमा पाम आयल भारत नै निर्यात भएको छ । तर, मलेसिया र भारत बीचको रुष्टता धेरै समय रहने देखिएको छैन । यसले नेपालको पाम आयलको निर्यात पनि दिगो देखिएको छैन ।’

यो तीन महिनामा प्रशोधित पाम तेल ५ अर्ब ७५ करोड रुपैयाँको निर्यात भएको छ । विद्युत आपुर्तिमा आएको सुधारका कारण डिजेल, पेट्रोलको आयात कम भएको छ जसले व्यापार घाटा कम गर्न मद्दत पुगेको आचार्य बताउँछन् ।

अर्थविद् प्रा. डा. चन्द्रमणि अधिकारी तथ्याङ्क हेर्दा सन्तोषजनक देखिएपनि यो टिकाउ होला की नहोला भन्ने प्रति चिन्ता व्यक्त गर्छन् । उनले भने, ‘निकासीमा कस्तो वस्तु निकासी भएको छ, त्यसले हामीलाई कतिको योगदान गर्छ र पैठारीको अवस्था कस्तो छ केलाउनुपर्छ । ३ महिनाको तथ्याङ्कलाई हेरेर दङ्ग पर्ने अवस्था हुँदैन ।’ अहिलेको निर्यात बृद्धिदर धेरै ठुलो उपलब्धि नभएको उनले भने । 

तीन महिनाको तथ्याङ्कलाई आधार मान्ने हो भने देशमा अहिले ३ खर्ब ७ अर्ब ७८ करोड रुपैयाँ व्यापार घाटामा छ । यो भनेको गत वर्षको यसै अवधिको तुलनामा ८.८६ प्रतिशतले व्यापार घाटा साँघुरिएको हो । निर्यात १४.४१ प्रतिशतले बढ्दा आयात १०.३४ प्रतिशतले घटेको छ । कुल वैदेशिक व्यापारमा भारतको हिस्सा ६२.२१५ प्रतिशत छ भने चीनको हिस्सा १६.४९५ प्रतिशत छ ।

भन्सार विन्दुको राजस्व कमजोर हुनुपर्छ : अर्थविद् आचार्य

अर्थविद् केशव आचार्य भन्सार विन्दुको राजस्व निकै कमजोर भएर आन्तरिक उत्पादनको राजस्व बढ्नुपर्ने बताउँछन् । उनले भने, ‘बल्ल नेपाली अर्थतन्त्र यो मुद्दामा आएको छ । आन्तरिक उत्पादनको आधारबाट उठेको राजस्व खुसीको कुरा हो । व्यापार घाटा बढाएर राजस्व बढाउनुको कुनै अर्थ छैन । भन्सार विन्दुको राजस्व एकदम कमजोर भएर जब आन्तरिक उत्पादनमा आधारित राजस्वको दर बढ्छ अनि मात्र त्यसमा हामी सबैले खुसी हुनुपर्छ ।’

‘सरकारले मूल्याङ्कनमा, भिसिटिएसमा कडाइ गरेको छ । यसले पनि आयात घटाएको हुन सक्छ,’ उनले भने ।

झिनो वृद्धिसँग रमाएर बस्ने बेला होइन : प्रा.डा.चन्द्रमणि अधिकारी

सरकारले अहिले पनि पुँजीगत खर्च गर्न सकेकोे छैन । सरकारी पैसा सरकारसँगै छ । यसले विकास निर्माणको काम भएको छैन भन्ने बुझिन्छ । विकास निर्माणको काम हुन नसक्दा सो को लागि चाहिने सामानको आयात घटेको हुनसक्छ । उसले देशकै आर्थिक वृद्धिमा असर गर्छ । भिसिटिएस सिद्धान्ततः राम्रो भएपनि व्यवहारिकतामा कठिनाइ देखियो । पुस्तकमा लागेको करका कारण आयात भएन । आन्तरिक उत्पादन बढाएर आयात घटेको भए राम्रो हुन्थ्यो तर यहाँ आन्तरिक उतपादन पनि बढेको देखिएको छैन । निजी क्षेत्रको लगानीमा पनि उत्साहप्रद नदेखिएकाले आयात घटेको हो ।

मुख्य कुरा त बजारमा सामान बढी देखिने तथ्याङ्कमा नदेखिएको हो भने यो यो राजस्व चुहावटको चिन्ताको विषय हो । खुला बोर्डरको फाइदा उठाएर सामान बजारमा भित्रिएिका पो छन् की ?

प्रमुख आयातित वस्तुहरु

चालु आवको तीन महिनामा डिजेल २० अर्ब १६ करोड रुपैयाँ बराबरको आयात भएको छ भने तयारी कपडा १० अर्ब ९० करोड रुपैयाँ बराबरको आयात भएको छ । यस्तै एम. एस. विलेट १० अर्ब ४ करोड, पेट्रोल ९ अर्ब ३२ करोड, एच.आर. सीट ८ अर्ब १ करोड, मोवाइल टेलिफोन ७ अर्ब १९ करोड रुपैयाँ बराबरको भएको छ । मोटरसाइकल ६ अर्ब ७६ करोड, एल पि ग्यास ६ अर्ब ६३ करोड, औषधी एलोपेथीक ६ अर्ब ५० करोड, हवाइजहाज र हेलिकप्टर ५ अर्ब ७० करोड रुपैयाँ बराबरको आयात भएको छ ।

पाम आयल सबैभन्दा बढी निर्यात, प्रमुख निर्यातित वस्तुहरु

प्रशोधित पाम तेल ५ अर्ब ७५करोड रुपैयाँको भएको छ । सेन्थेटिक यार्न  २ अर्ब १९ करोड, उनी गलैंचा कार्पेट २ अर्ब १९ लाख, तयारी कपडा १ अर्ब ७७ करोड, भटमासको तेल प्रशोधित १ अर्ब ४७ करोड, अलैँची १ अर्ब २६ करोड, फलफूलको जुस  ९८ करोड ९१ लाख, चिया ८७ करोड १३ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप