शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संशोधन पास नभए राजपाको यस्तो रणनीति, अब के गर्ला एमाले ?

बिहीबार, ०१ भदौ २०७४, १६ : ११
बिहीबार, ०१ भदौ २०७४

काठमाडौं–मधेशवादी दलको मागअनुसार ल्याइएको संविधान संशोधन विधेयकको छिनोफानो  भदौ ५ गते हुँदैछ । बुधबार संसदमा पेश भएको  विधेयकमाथि दाफावार छलफल शुरु भएको छ भने भदौ ५ गते भोटिङ हुने छ । 


एमालेले संशोधनमा पार्टीको समर्थन नरहने बताइरहेको भएपनि चुनावको मुखैमा संशोधन विधेयक निर्णायार्थ पेस हुने भएपछि उसलाई  अप्ठ्यारो परेको छ । एमालेलाई मात्र होइन, विधेयकको विपक्षमा रहेका अन्य दलहरुलाई पनि अप्ठ्यारो भएको छ । 


दुई नम्बर प्रदेश मधेशी बाहुल्य भएको प्रदेश हो । र, यो विधेयक मधेशीको चासोको विषय भएका हुनाले जो यसको विरोधमा जान्छ, त्यो मधेशी विरोधी हुने डर सबैमा भएको हुँदा एमालेलगायत अन्य प्रतिपक्षी दलहरुले खुलेर विरोध गरिरहेका छैनन् ।

यही भएर अहिले एमाले गठनबन्धनमा रहेका अन्य साना दलहरु पर्ख र हेरको अवस्थामा रहेका छन् । त्यही भएर यसअघि छलफलका लागि समेत संसदमा प्रस्तुत हुन नदिने चेतावनी दिने एमालेले प्रस्तुत भइसक्दा पनि खुलेर विरोध गरिरहेको छैन । हिजो छलफलका लागि विधेयक प्रस्तुत गर्दा पनि एमालेले कुनै विरोध गरेको थिएन । 

मधेशसँग विग्रेका सम्बन्ध एमालेले केहि हदसम्म सुधारेको बताइन्छ । एमालेका लागि मधेशमा निर्वाचनको वातावरण बनिरहेको अवस्थामा संशोधन विधेयक अघि बढाइँदा पार्टीका नेताहरु चिन्तित बनेका छन् । 


विधेयक पास गर्न सहयोग नगर्दा बनिसकेको सम्बन्ध फेरि भत्किेने डर र  गर्दा आफ्नो एजेण्डा गुम्ने डर भएको हुँदा एमाले तनावमा रहेको बताइन्छ ।  

सो दलले पहिला जसरी विरोध गरिरहेको थियो अहिले त्यसरी गरेको छैन । यद्यपी  एमालेका सचिव योगेश भट्टराई भन्छन्, ‘हाम्रो अडान यथावत छ, विधेयकमा चुनाव भयो भने हामी विपक्षमा मतदान गर्छौ ।’ मधेशमा हामी पनि छौ, मधेशी जनताले संविधानमा संशोधन चाहेका छैनन् ।’ उनले मधेश निकट केही दलले मात्र संशोधनको कुरा उठाएको दाबी गरे । 

एमालेका दुई विकल्प, राजपाको यस्तो रणनीति
एमालेसँग अब दुईटा विकल्प छ । विधेयकलाई समर्थन गर्ने या दलहरुसँग छलफल गरेर स्थानीय चुनावपछि विधेयक निर्णयार्थ प्रस्तुत गर्न सहमति गर्ने । विधेयकको विरोधमा गयो भने एमालेलाई चुनावमा गाह्रो हुने देखिन्छ । राष्ट्रिय जनता पार्टी नेपालले यही रणनीतिका साथ विधेयकलाई निर्णायार्थ पेस गर्न सरकारलाई दवाव दिएको हो ।

विधेयकको विपक्षमा मतदान गर्ने दलको भण्डाफोर गर्ने रणनीतिमा राजपा नेपाल रहेको छ । विधेयक संसदमा निर्णायार्थ प्रस्तुत भइसकेको छ, त्यसबाट आउने परिणामलाई राजपा नेपाल स्वीकार गर्ने सहमति जनाई सकेको छ । विधेयक फेल भयो भने राजपा नेपालले फेल गराउने दलहरुको बारेमा स्थानीय तहको चुनावमा भण्डारफोर  गर्ने दलका नेताहरु बताउँछन् ।  यस्ताे अवस्था अाए एमालेलाई चुनावमा गाह्रो हुने मधेस मामलामा जानकारहरू बताउँछन् ।

एमाले मधेसी सांसदले  के गर्छन् ?

विधेयकमा एमाले पार्टीले साथ नदिए सो दलमा रहेका मधेशी सांसदले साथ दिने विश्वास राजपा नेपालले लिएका छन् । एमालेमा रहेका मधेशी नेताहरुले पनि पार्टी नेतृत्वलाई संशोधन विधेयकको बारेमा पुनः विचार गर्न सुझाव दिएको पार्टी स्रोतले जनाएको छ । चुनावको समयमा विधेयकको विपक्षमा पार्टीको गयो भने उम्मेदवारलाई प्रत्यक्ष असर पर्ने भएकाले त्यसमा पुनः विचार गर्न सल्लाह दिएको बताइन्छ ।

एमालेका केन्द्रीय सदस्य एवं सांसद रामचन्द्र यादवले सविधान संशोधन विधेयकको बारेमा राष्ट्रहितमा जे हुन्छ, त्यही गर्नुपर्ने भन्दै  पार्टीले दिने निर्देशनअनुसार आफूहरु अघि बढ्ने बताए । उनले भने, पार्टीमा छलफल चलिरहेको छ, हेरौं के हुन्छ ।’ संविधान संशोधन छलफलको विषय भएकालेले अहिले नै के हुन्छ भन्न नसकिने उनले बताए ।
अर्का केन्द्रीय सदस्य सत्रुधन महतोले पनि संशोधनको विषयलाई छलफलको विषय बनाउनुपर्ने बताए । उनले भने, हालसम्म पार्टीको अडान यथावत छ, भोटिङ्गमा के गर्ने हो त्यसको निर्देशनको पर्खाइमा छु ।’  
संशोधन विधेयक पारित गराउनमा सहयोग गर्न राजपा नेपालले एमालेलाई पनि आग्रह गर्ने तयारी गरिरहेको छ । राजपा नेपालका एक नेताले भने, एमालेलगायत विभिन्न दललाई विधेयकमा सहयोग गर्नका लागि हामीले लिखित आग्रह गर्छौ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप