बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी गर्दैछ आयोगले उपनिर्वाचनको तयारी (भिडियो)

कागजको मतपत्रबाटै निर्वाचन, १६ हजार बढी मतदाता थपिए
सोमबार, १८ कात्तिक २०७६, ०८ : २४
सोमबार, १८ कात्तिक २०७६

निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको तयारी थालेको छ । आयोगले एउटा प्रतिनिधि सभा, ३ वटा प्रदेश सभा र ४८ वटा स्थानीय स्थानीय तहका लागि आवश्यक तयारी थालेको हो ।

आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको मनोनयन दर्ता गर्ने मिति कार्तिक २१ गतेका लागि तय गरेको छ भने स्थानीय तहको मनोनयन दर्ता गर्ने मिति कार्तिक २७ गतेका लागि तोकिएको छ ।

यस्तै प्रतिनिधि सभा र प्रदेश सभाको मुख्य निर्वाचन अधिकृतको कार्यालय आइतबार स्थापना गरिएको छ । कार्तिक २० गते भने स्थानीय तहको उपनिर्वाचन हुने क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र अधिकृतको कार्यालय स्थापना गर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।

यो निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतका रुपमा ३७ जना जिल्ला न्यायाधीश खटिदैछन् भने न्याय सेवाका ५२ जना उपचिवलाई निर्वाचन अधिकृतका रुपमा खटाउँदैछ ।

साथै विराटनगर, काठमाडौै र नेपालगञ्जमा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र जिल्ला निर्वाचन अधिकृतहरुको निर्वाचन सञ्चालनका लागि व्यवस्थापन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।


निर्वाचन सामग्रीको व्यवस्थापन

उपनिर्वाचका लागि आयोगले यसअघि प्रयोग भएका सामग्रीको प्रयोग गर्नेछ । मतपेटिका लगायत निर्वाचन आयोगसँग मौज्दात रहेका सामग्रीहरु र तयार गर्नुपर्ने सामग्री तयारी गरेर जिल्लामा पठाउने काम सुरु गरेको छ । मतदता शिक्षाका लागि पोष्टर, ब्रोसर लगायतका सामग्री तयार गरेर पठाउन थालिएको छ । मतपत्र छपाइका लागि तयारी पनि गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।

उपनिर्वाचनमा विद्युतीय यन्त्रबाट मतदान गरिने भनेपनि कागजको मतपत्रबाटै निर्वाचन गरिने भएको छ ।

यो निर्वाचनमा ५ लाखभन्दा बढी मतदाता सहभागी हुनेछन् । अघिल्लो निर्वाचनमा भएका मतदाता मध्ये उपनिर्वाचन हुने क्षेत्रमा १६ हजार बढी मतदाता थपिएका छन् । निर्वाचनको मिति घोषणा भएको बेलासम्म १८ वर्ष उमेर पुगेका व्यक्तिहरुले मतदान गर्न सक्ने श्रेष्ठले बताए । 

यसैबिच आयोगले कार्तिक ८ गतेदेखि मतदान हुने क्षेत्रका लागि निर्वाचन आचार संहिता समेत लागू गरिसकेको छ ।  जसमा उम्मेदवारले पालना गर्नुपर्ने, राजनीतिक दलले पालना गर्नुपर्ने, सरकारले पालना गर्नुपर्ने र विभिन्न सञ्चार माध्यमले पालना गर्नुपर्ने आचार संहिताहरु छन् । 

यस्तो छ मनोनयन दर्ता प्रक्रिया

निर्वाचनमा सहभागी हुन उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचत अधिकृृतको कार्यालय वा अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्नुपर्ने हुन्छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्र्वाचनका लागि जिल्ला सदरमुकाममा मुख्य निर्वाचत अधिकृतको कार्र्यालयकोे व्यवस्था गरिएको छ भने स्थानीय तहको निर्वाचनका लागि गाउँपालिका वा नगरपालिकाको केन्द्रमा मुख्य निर्वाचन अधिकृृतको कार्यालयको व्यवस्था गरिदैँछ । सो स्थानमा गएर उम्मेदवारहरुले आफ्नो मनोनयन दर्ता गर्न सक्नेछन् ।

यो निर्वाचनकोे पर्यवेक्षण गर्न ५ वटा गैरसरकारी संस्थाले आवेदन दिएका छन् । आयोगले गत कार्तिक ५ गते निर्वाचन पर्यवेक्षणका लागि आवेदन दिन ७ दिनको सूचना निकालेको थियो । अहिले उनीहरुको निवेदन छानविन गरिरहेको आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिए । निवेदन दिनेहरुमा नेपालभित्रै क्रियाशिल विभिन्न एनजिओहरु रहेका छन् । छानविनपछि पर्यवेक्षणमा जानेहरुको विवरण माग्ने र उनीहरुलाई परिचयपत्र वितरण गर्ने आयोगले जनाएको छ ।

यी हुन् निर्वाचन हुने क्षेत्रहरु

प्रतिनिधि सभाको निर्वाचनतर्फ गण्डकी प्रदेशको कास्की जिल्लाको क्षेत्र नम्बर २ मा निर्वाचन हुदैछ । सो क्षेत्र अन्र्तगत पोखरा उपमहानगरपालिकाका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र २३ रहेका छन् ।

यस्तै प्रदेश सभा निर्वाच तर्फ गण्डकी प्रदेशको बाग्लुङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा निर्वाचन हुँदैछ । सो क्षेत्र अन्र्तगत ढोरपाटन नगरपालिकाका वडा नम्बर १ देखि ९ सम्म, तमानखोला गाउँपालिकाको वडा नम्बर १ देखि ६ सम्म र निसीखोला गाउपालिकाको वडा नम्बर १ देखि ७ सम्मका वडाका मतदानमा सहभागी हुनेछन् ।

यस्तै प्रदेश नं. ३ को भक्तपुरको निर्र्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र नम्बर १ मा निर्वाचन हुदैछ । चाँगुनाराण नगरपालिकाका वडा नम्बर १ देखि ९ वडासम्म र भक्तपुर नगरपालिकाको वडा नं. १० मा चुनाव हुदैछ ।

यता प्रदेश नम्बर ५ को दांगको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा क्षेत्र नम्बर २ मा निर्वाचन हुँदैछ । यो क्षेत्र अन्र्तगत तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर १, २, १० र ११ दगीशरण गाउपालिकाको १ देखि ७ सम्म, बबई गाउपालिकाको वडा नम्बर १ देखि ७ सम्म र शान्तिनगर गाउपालिकाको वडा नम्बर १ देखि ७ सम्म पर्छ । यी स्थानमा हुने निर्वाचनका लागि दलहरुले उम्मेदवार घोषणा गर्न सुरु गरेका छन् भने निर्वाचन आयोगले पनि आफ्नो तयारी थालेको छ ।

यी हुन् स्थानीय तहका उपनिर्वाचन हुने ४८ स्थानहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप