शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस कास्कीले भन्योः संगठन चाहिने भए स्थानीयलाई उम्मेद्वार चयन गर

आइतबार, १७ कात्तिक २०७६, १९ : ०५
आइतबार, १७ कात्तिक २०७६

पोखरा– आगामी मंसिर १४ मा हुने उपनिर्वाचनको विषयलाई लिएर काँग्रेसमा मत बाझिएको छ । जिल्लाबाट सिफारिस गरेको नाम विपरित कास्की बाहिरको उम्मेदवारलाई चयन गर्न खोजेपछि कास्की काँग्रेस र केन्द्रको मत बाझिएको हो ।

उम्मेद्वार चयनको विषयलाई लिएर काँग्रेसका कास्की जिल्ला सभापति कृष्ण केसीले कास्कीमा संगठन चाहिने भए स्थानीयलाई नै उमेदवार चयन गर्न चेतावनी दिएका छन् । ‘फ्याक्ट, कुरा के हो भने हामीले जुन पुनःसंरचना गर्यौ । संघमा ३ जना प्रतिनिधि पठाउने निर्णय कास्की काँग्रेसले गर्यो, त्यसमा होलसेलमा जिल्लाभरिबाटै जाने व्यवस्था नभई १, २, ३ भनेर छुट्यायौं,’ उनले भने, ‘त्यही भूगोलभित्र रहेर पार्टीका साथीहरुले आफ्नो भविष्य खोजेर काम गरेर, जनतासामु गएर संगठन विस्तार गरे । यही भविष्य छ भनेर जेल जाने, मुद्दा खेप्ने, तारिफ खेप्ने, पीडा खेप्ने,अहिले आएर बाहिरबाट उम्मेदवार ल्याउने हो भने जनताको समस्या कस्ले सुन्ने, संगठन कसले अघि बढाउने ?’

केन्द्रले एक महिनाको लागि मात्रै उमेदवार चयन गर्न खोजे जहाँबाट गरे पनि आफूहरुले कुनै आपत्ति नजाउने उनले कडा प्रतिक्रिया दिए । स्थानीय तहमा केन्द्रलाई संगठन चाहिएको खण्डमा स्थानीय उमेदवारलाई नै चयन गर्नुपर्ने उनको माग छ । ‘भोली यहाँ संगठन चाहिन्छ भने केन्द्रले स्थानीय उमेदवारलाई चयन गरोस्,’ उनले भने, ‘यो मेरो मात्रै धारणा होइन । आम कास्की काँग्रेसका नेता, कार्यकता, शुभेच्छुक, समर्थकको धारणा हो ।’ 

बाहिर जिल्लाको उम्मेदवार चयन गरे कास्की काँग्रेसलाई मान्य नहुने उनको भनाई छ । ‘उमेदवार चयन गर्ने हो भने स्थानीयस्तरकै उम्मेद्वार चयन होस्,’ उनले भने, ‘यदि, बाहिरी जिल्लाबाट उम्मेदवार उठाइयो भने त्यो कास्की काँग्रेसलाई मान्य हुने छैन ।’

किन पठाइयो त जिल्लाबाट १६ जनाको नाम ?

उपनिर्वाचनको लागि कास्की काँग्रेसले १६ जनाको नाम सिफारिस गरेको छ । जुन विवादित पनि बनेको छ । आखिर, कास्की काँग्रेसले १६ जनाको नाम केन्द्रमा किन सिफारिस गर्यो ? भन्ने प्रश्नमा उनले भने, ‘आकाँक्षी १६ जना देखिनुभयो । नेपाली काँग्रेसले अहिलेसम्म के अभ्यास गर्दै आएको छ भन्दा, न भोटिङ गरेर ३ जनाको नाम सिफारिस गर्ने व्यवस्था थियो, न हामीले त्यो अभ्यास गर्यौ,’ उनले भने, ‘१६ जना साथी आकाँक्षी देखिएपछि १६ जना नै पठायौ ।

आकांक्षीभन्दा बाहिरका नेता, कार्यकतासँग बुझ्दा भोटिङमा गएर फलानाले यति पायो, उति मत पायो भनेर जाँदा साथीहरुमा एक किसिमको क्लेस रहन सक्छ भन्ने कुरा आयो । जटिल परिस्थितिमा आएको हुनाले १६ जनाकै नाम पठायौं । को उपयुक्त छ भनेर केन्द्रमा जाँचियोस् भनेर १६ जनाकै नाम पठायौं ।’ 

३ जनाको नाम सिफारिस गर्ने काँग्रेसको अभ्यास नभएको हुनाले पनि आकाँक्षी देखिएका सबै जनाको नाम सिफारिस गरेको उनले प्रष्ट्याए । उपनिर्वाचनको लागि उमेदवारी मनोनयन दर्ता गर्न ४ दिन मात्रै बाँकी छ । सत्तारुढ नेकपा, रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र बाबुराम÷उपेन्द्र नेतृत्वको समाजवादीले उमेदवारको टुंगो लगाइसकेका छन् । तर, काँग्रेस भने अझै विवादमा अल्झिएको छ । 

काँग्रेस पदाधिकारीको भागबण्डाअनुसार कास्की २ रामचन्द्र पौडेलको भागमा छ । पौडेलले स्याङ्जाका धनराज गुरुङलाई उमेदवार चयन गर्ने हल्ला बढेपछि सभापति केसीले केन्द्रीय समितिलाई चेतावनी दिएका छन् । काँग्रेसबाट सम्भावित उम्मेदवार मध्येका देवराज चालिसे पनि उनैको निकट छन् । 

कास्की २ मा कांग्रेसबाट देवराज चालिसे, धनराज गुरुङ, खेमराज पौडेल, शोभियतबहादुर अधिकारी, महादेव गुरुङ, वीरेन्द्रनारायण बिजुक्छे र गुरु बराल सम्भावित उम्मेद्वारका रुपमा रहेका छन् । उपनिर्वाचनको लागि उमेदवारी मनोनयन दर्ता गर्न ४ दिन मात्रै बाँकी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप