बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

महिलाको हत्या भएको आरोप, माइतीपक्षले दिए प्रहरीमा उजुरी

आइतबार, १७ कात्तिक २०७६, १८ : ५२
आइतबार, १७ कात्तिक २०७६

बुटवल । बिरामी भएर घरमै मृत्यु भएको भनिएकी रुपन्देहीको मायादेवी गाउँपालिका–३, हरनामपुरकी श्रीमती गडेरियाको हत्या भएको माइती पक्षले आरोप लगाएको छ । 

यही कार्तिक १२ गते भाइटीकाको साँझ गडेरियाको शंकास्पद मृत्यु भएको थियो । मृतकका दाजु रामअचल गडेरियाले ज्वाइ सुरेश गडेरिया, ससुरा रुखमुन गडेरिया र सासु इशरावती गडेरियाले आफ्नो बहिनीको हत्या गरेको आरोप लगाए ।

पहिलादेखि नै बहिनीलाई घर छाडेर माइतीमा गएर बस्, होइन भने तँलाई मार्दिन्छु भनेर ज्वाईले धम्काउने गरेको र एक्कासी बिरामी नै नभई बहिनीको मृत्यु भयो भन्नु संकास्पद भएको उनले बताए । उनले हत्या नै भएको र शंका गर्ने धेरै आधार रहेको उनको दाबी छ । 

प्रहरीले पनि अनुसन्धानमा बेवास्ता गरिरहेको रामअचलले आरोप लगाए । ६ वर्षअघि उनको सुरेशसंग विवाह भएको थियो । गडेरियाको शंकास्पद मृत्यु भएको माइती पक्षको आरोपपछि प्रहरीले शव पोष्टमार्टमाका लागि भैरहवास्थित भीम अस्पतालमा लगेको थियो । तर अस्पतालका चिकित्सकहरुले घांटीको हड्डी भांचिएको बताएपछि त्यहाँ पोष्टमार्टम नगरी काठमाडौं पठाइएको छ ।

काठमाडौंस्थित टिचिङ अस्पतालमा पोष्टमार्टम गरिए पनि रिपोर्ट अझै आएको छैन । मृतकका श्रीमान् सुरेश विवाहको एक वर्षपछि रोजगारीका लागि कतार गएका थिए । उनी ५ वर्षपछि असोजको दोस्रो हप्ता मात्रै घरमा आएका थिए ।घरमा आएपछि श्रीमतीलाई गाली गर्ने, पिट्ने गरेकाले गडेरियाको सामान्य मृत्यु हुनै नसक्ने स्थानीय रामप्रसाद गडेरियाले जनाए । स्थानीय बाबुराम पालले पैसाको बलमा सुरेशका परिवारले हत्यालाई बिरामी भएर मृत्यु भएको भन्ने गराउन चलखेल गरिरहेको आरोप लगाए ।

 स्थानीयले सुरेशको घर पछाडि रगतसमेत देखिएकाले उनको हत्या भएको दावी गरेका छन् ।

प्रहरीले अनुसन्धानमा बेवास्ता गरेको र गडेरियाको हत्या नै भएको भन्दै सोही वडाका वडा अध्यक्ष रफिक मुसलमानसहित ९१ जना स्थानीयले हस्ताक्षर गरेर रुपन्देही प्रहरीमा आइतबार उजुरी दिएका छन् ।

रुपन्देही प्रहरी प्रमुख एसपी हेमकुमार थापाले हत्या वा स्वभाविक मृत्यु भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको बताए । परिवारले भनेजस्तो अनुसन्धान नै भएन भन्ने नभइ घटना भएको दिनदेखि नै आफूहरुले अनुसन्धान गरिरहेका उनले बताए । उनले आइतबार मात्रै मृतकका श्रीमान सुरेशलाई पक्राउ गरी अनुसन्धान थालिएको जनाए ।

यसैबीच दाङमा आफ्नै सासु (आमा)को घरमा आगो लगाएर फरार रहेका ज्वाइ पक्राउ परेका छन् । सासुको घरमा आगो लगाएर फरार जिल्लाको साविक घोराही नगरपालिका वडा नं. ६ र हालको घोराही उपमहानगरपालिका वडा नं. १८ गिठेपानी निवासी २६ बर्षीय रामबहादुर विक पक्राउ परेका हुन् । विकले घोराही उपमहानगरपालिका वडा नं. २ निवासी सुन्तली विकको घरमा २०७३ साल बैशाख १३ गते बेलुका ६ बजेतिर आगो लगाएका थिए ।

उच्च अदालत तुलसीपुरले उक्त कसुरमा दोषी ठहर गर्दै २०७५ साल फागुन १४ गते ४ बर्ष कैद सजायको फैसला गरेको थियो । त्यसयता फरार रहँदै आएका विकलाई आइतवार विहान ६ बजेतिर गोप्य सूचनाको आधारमा घरवाटै पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिए । पक्राउ परेका विकलाई आवश्यक कानुनी कारवाहीको लागि आइतवार नै अदालत पेश गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप