केन्द्रीय संस्करण

भिगन हुनु कति मुश्किल र यसका फाइदा के ?

person explore access_timeकात्तिक १७, २०७६ chat_bubble_outline0

ईवा ओन्टिवेरोस /बीबीसी वर्ल्ड सर्भिस

भिगन (VEGAN) जीवनशैलीको एउटै मात्र लक्ष्य हुन्छ – जनावरमाथि कुनै प्रकारको उत्पीडन नहोस् ।

एक भिगन व्यक्तिको खानाको प्लेटमा माछा, चिकेन, माछा, दुग्धजन्य पदार्थ, अण्डा वा महलगायतका केही पनि खानेकुरा हुँदैन । तर भिगन हुनु भनेको खानासँग मात्रै सम्बन्धित छैन । यसको दायरा अब गहना र कपडासम्म पनि फैलिसकेको छ । भिगन व्यक्तिहरु छाला, ऊनबाट बनेका कपडाहरु र मोती पनि लगाउँदैनन् ।

अब तपाईंले बुझिसक्नुभएको होला कि भिगन जीवनशैली अपनाउनु त्यति सजिलो छैन । भिगनले जे खान्छन् त्यसको मूल्य उच्च हुन्छ । तरपनि मानिसहरु तीब्र रुपमा भिगन जीवनशैली अपनाइरहेका छन् ।

अमेरिकामा सन् २०१४ देखि सन् २०१७ का बीच भिगन मानिसहरुको आँकडामा ६०० प्रतिशत वृद्धि भयो जबकी ब्रिटेनमा पछिल्लो एक दशकमा यो आँकडा ४०० प्रतिशत छ ।

अब थुप्रै कम्पनीले पनि भिगन विशेष खानाहरु प्रदान गर्न थालेका छन् । जस्तै म्याकडोनल्डले म्याकभिगन बर्गर अफर गरेको छ । १ नोभेम्बरमा विश्व भिगन डे पनि मनाइन्छ, यस्तोमा भिगन व्यक्तिसँग जोडिएका यस्ता पाँच महत्वपूर्ण तथ्य थाहा पाउन आवश्यक छ ।

Photo: AFP/GETTY

१. स्वास्थ्यमा असरः

ब्रिटेनमा हालै भएको एक सर्वेक्षणमा पत्ता लागे अनुसार लगभग ५० प्रतिशत मानिसहरुले स्वास्थ्यका कारण मासु खान बन्द गरेका छन् ।

केही अनुसन्धानले बताए अनुसार रेड मिट र प्रोसेस्ड मीट (ससेज) को अत्यधिक सेवन गर्दा क्यान्सरको खतरा बढ्ने गर्छ ।

तर यहाँ प्रश्न यो उठ्छ कि, के भिगन मानिसहरु साँच्चै स्वस्थ हुन्छन् ? केही धारणाका अनुसार भिगन डाइटले निकै लामो समयपछि फाइदा पुर्‍याउँछ ।

मांसाहारी, शाकाहारी र भिगनहरुको स्वास्थ्यमा भएको अनुसन्धानले सागपातमा मात्रै निर्भर हुने व्यक्तिहरुले केही समस्याको सामना गर्नुपर्ने बताएको छ । यद्यपि, भिगन व्यक्तिहरुलाई क्यान्सरको खतरा कम हुन्छ । भिगनहरु स्वास्थ्यप्रति अत्यधिक जागरुक पनि ठानिन्छन् ।

शाकाहारी खानामा यदि स्वास्थ्यको ध्यान दिइँदैन भने त्यसमा भिटामिन डी, भिटामिन बी१२ र आयोडिनको कमी हुने डर हुन्छ ।

Photo: Getty Image

२. पर्यावरणमाथि असरः

हुन त भिगन व्यक्तिहरुको संख्या बढिरहेको छ तर यसका साथै संसारभरी मासु खाने व्यक्तिहरुको संख्यामा पनि वृद्धि भइरहेको छ ।

चीन र भारत जस्तो ठूलो जनसंख्या भएको देशमा मासु खाने व्यक्तिको संख्या बढिरहेको छ ।

तर अहिलेको समयमा जुन तरिकाले मासुको उत्पादन भइरहेको छ त्यसले पर्यावरणलाई अत्यधिक क्षती पुर्याउने खतरा छ ।

सन् २०१३ मा संयुक्त राष्ट्रको खाद्य एवं कृषि संगठनको रिपोर्ट बताइए अनुसार ग्रीनहाउस ग्यासको १४.५ प्रतिशत उत्सर्जन पशुधन उत्पादनमार्फत् हुन्छ । यो आँकडा कार, ट्रेन, जहाज र एयरक्राफ्टबाट हुने उत्सर्जन बराबर नै हो ।

भिगन असोसिएशनको तर्फबाट जुटाइएका आँकडाका अनुसार अहिले धर्तीको कुल जनसंख्या सात सय करोड छ जसमा ५५ देखि ९५ करोड व्यक्ति शाकाहारी वा भिगन छन् ।

संयुक्त राष्ट्रको अनुमान अनुसार सन् २०५० सम्म विश्वको जनसंख्या ९८० करोडसम्म पुग्नेछ र त्यतिबेला हामीले अहिलेको समयभन्दा ७० प्रतिशत बढी खानाको उत्पादन गर्नुपर्ने हुन्छ ।

भिगन व्यक्तिहरुका अनुसार खानाबारे मानिसहरु अत्यधिक जिम्मेवार र जागरुक हुनुपर्छ ।

Photo: Getty Image

३. भिगनको बढ्दो व्यापारः

भिगनरी, ब्रिटेनको एक च्यारिटी संस्था हो जसले मानिसहरुलाई भिगन बनाउनका लागि प्रेरित गर्छ । उनका अनुसार पाँच वर्ष अघि उनीहरुले यो च्यारिटी सुरु गरेका थिए, त्यतिबेलादेखि अहिलेसम्म हरेक वर्ष भिगन व्यक्तिहरुको संख्या दोब्बर हुँदै गइरहेको छ ।

उनका अनुसार सन् २०१९ मा १९० देशमा साढे दुई लाख व्यक्तिहरु भिगन बन्न सहमत भएका थिए ।

यसका साथै भिगनसँग जोडिएको व्यापार पनि तीब्र रुपमा बढिरहेको छ । अमेरिकामा मिट–फ्री खानाको माग १० गुणा बढी भइरहेको छ ।

 सोसल मिडियामा मानिसहरुलाई भिगन बन्न आग्रह गरिन्छ, यसमा थुप्रै सेलिब्रिटी पनि समावेश हुन्छन् । इन्स्टाग्राममा मात्रै भिगनसँग जोडिएका १० करोड पोस्ट छन् ।

भिगन पनिर बनाउने कम्पनीको लागत सन् २०२० सम्म ४ सय करोड डलरसम्म पुग्ने अनुमान छ ।

यतिमात्र होइन खानासँग जोडिएका ठूल्ठूला कम्पनी अब भिगन उत्पादनतर्फ ध्यानदिइरहेका छन् । नेस्लेजस्तो ठूलो कम्पनीले अब आफूहरुले बोटबिरुवासँग सम्बन्धित खानाको अत्यधिक उत्पादन गर्ने बताएको छ ।

सन् २०१८ मा चिकन, बिफ र पोर्कलाई प्रोसेस गर्ने संसारको दोस्रो सबैभन्दा ठूलो कम्पनी टायसन फुड्सले भिगन खानासँग जोडिएको एउटा नयाँ कम्पनी ‘बियोन्ड मिट’ को ६.५ प्रतिशत स्टेक खरिद गरेको थियो ।

एक वर्षपछि नै यो कम्पनीले आफ्नो सेयर करिब ८ करोड डलरमा बेचेको थियो र त्यसपछि भिगन खानासँग जोडिएको आफ्नो फूड चेन सुरु गरेको थियो ।

भिगन सेक्टरमा आएको यो बढोत्तरीबारे भिगनरीका क्याम्पियन हेड रिच हार्डीका अनुसार केही समयका लागि भिगन शब्द धेरैजसो व्यक्तिहरु अञ्जान थिए तर अब हरेक स्थानमा यो शब्द सुन्न पाइन्छ । पसल, रेष्टुरेन्ट र सडकमा मानिसहरु यसबारे कुरा गर्छन् । पत्रिका र म्यागजिनमा यसबारे आर्टिकल लेखिन्छन् ।

Photo: Getty Image

४. अत्यधिक भिगन हुँदा पनि हानीः

भिगन अभियानसँग जोडिएका मानिसहरु जनावर र पर्यावरणप्रति आफ्नो प्रेमका लागि परिचित हुन्छन् तर केही समयदेखि अत्यधिक भिगन कल्चरको आलोचना पनि हुन थालेको छ ।

केही स्थानमा किसान र मासु पसलमा हमला गरेको र उनीहरुको पसल जबर्जस्ती बन्द गराएको घटना सार्वजनिक भएका छन् ।

ब्रिटेनका एक किसान एलिसन वागले बीबीसीसँग भने, ‘जब मानिसहरुले हामीलाई हत्यारा र बलात्कारी भनिन्छ तब सबैभन्दा धेरै नराम्रो लाग्छ ।’

यस्तै मौकामा सेभ मुभमेन्टजस्ता केही संगठन पनि सार्वजनिक भएका छन् जसले मानिसहरुलाई अहिंस्रक तरिकाले भिगन बन्नका लागि प्रेरित गरिरहेका छन् ।

यस्तै भिगन समुदायले यस्ता मानिसहरुलाई नक्कली भिगन भनेका छन् जसले एभोकाडो, बदाम र ब्रोकोलीको सेवन गर्छन् । यी तीन खानेकुरा भिगन फुडमा समावेश छैनन् ।

वास्तवमा, यी बोटबिरुवामार्फत् मौरी, किराफट्याङ्ग्राको पोलिनेशन प्रक्रिया सुरु हुन्छ । यदि मानिसहरुले यी सेवन गरे भने मौरी किराफट्याङ्ग्रालाई समस्या हुनेछ ।

Photo: Getty Image

५. भिगन हुनु नयाँ परम्परा होइनः

भिगन शब्द आजकाल निकै प्रचलनमा आएको छ तर सन् १९४० मा ब्रिटेनमा डोनल्ड वाटसनले एक भिगन सोसाइटी बनाएका थिए ।

डोनल्ड वाटसनले जब डेरी इन्डस्ट्रिमा जनावरमाथि भएको अत्याचार देखे तब उनले दुग्धजन्य पदार्थ खान बन्द गरे र मानिसहरुलाई पनि यसका लागि प्रेरित गर्न सुरु गरे ।

युरोपमा शाकाहारी खाने विचार पुरातन ग्रीसबाट उदय भएको हो । यहाँ पाइथागोरसले यसको निकै प्रचार गरे । पाइथागोरसलाई हामी सबैले गणितमा दिइएको पाइथागोरस थ्योरमका कारण चिन्दछौं ।

उनले भनेका थिए, ‘कुनै अन्य जीवको मासु आफ्नो मासुमा निल्नु, आफ्नो भोकका लागि अरुलाई मार्नु कुनै दानवजस्तो काम हो ।’

यहाँसम्म कि जबसम्म मानिसहरुलाई भेजिटेरियन शब्दबारे थाहा थिएन तबसम्म मानिसहरुले यस्ता खानालाई ‘पाइथागोरस डाइट’ भन्ने गर्थे ।

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...