शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सरकारको काम देखेर विपक्षी तर्सियो : मन्त्री अर्याल

शनिबार, १६ कात्तिक २०७६, २० : ०४
शनिबार, १६ कात्तिक २०७६

ओखलढुङ्गा – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारको काम देखेर विपक्षी तर्सिएको बताएकी छन् । शनिबार ओखलढुङ्गाको पोकली झरना सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मन्त्री अर्यालले सरकारले जनताको भावनाअनुसार काम गरेर लोकप्रियता कमाएसँगै विपक्षी तर्सिएको बताएकी हुन् । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले सबै तहका सरकार र दलबीचमा समन्वय गरेर काम गरिरहेको उनको भनाइ थियो । उनले सङ्घीयताको अभ्यास नेपालमा नौलो भएकाले यसको कार्यान्वयनमा चुनौती भए पनि सरकार सबै चुनौती सामना गरेर अघि बढ्न सफल भएको चर्चा गरिन् । 

मन्त्री अर्यालले मुलुक समृद्ध बन्न गाउँ–गाउँदेखि विकासको अभियान थालिएको बताइन् । पोकली झरनाजस्ता प्राकृतिक सौन्दर्यता र स्थानीय संस्कृतिको प्रचार गरेर भ्रमण वर्षमा पर्यटक ल्याउन सके विश्वमा नेपालको पहिचान स्थापित हुने उनले बताइन् । 

स्थानीय सरकार र प्रदेश सरकारले प्राथमिकतामा राखेका योजनालाई केन्द्र सरकारले सम्बोधन गर्ने उनको भनाइ थियो । प्रतिनिधिसभा सदस्य सांसद यज्ञराज सुनुवारले पोकली झरना क्षेत्रमा पूर्वाधार विकासका लागि रु ५० लाख सहयोग गर्ने घोषणा गरे। 

नेपाल सरकारका पर्यटन सचिव केदारबहादुर अधिकारीले पर्यटन वर्ष सफल बनाउन सबै संयन्त्र लागिपरेको बताए ।   पोकली झरना र थोलेदेम्बाडाँडालाई सरकारको सय पर्यटकीय गन्तव्यमा पारिएको छ र ककनी, चम्पादेवी, लिब्जुसहितका धार्मिकस्थल सेप्ली, रातमाटेसहितका झरना, चिशङ्खुगढीसहितका क्षेत्र स्रष्टा उद्यानसहितका दर्जनौँ पर्यटकीय क्षेत्रको विकासका लागि गुरुयोजना बनाएर काम भइरहेको छ ।
 
प्रदेश नं १ का अर्थसमिति सभापति तथा त्यस क्षेत्रका सांसद मोहन खड्काले प्रदेश नं १ पर्यटकीय प्रदेशका रुपमा चिनाउन सरकार लागिरहेको बताउनुभयो । प्रदेश सरकारले पर्यटक प्रवद्र्धनका लागि वर्षेनी प्राथमिकतामा राखेर कार्यक्रम गरिरहेको उनको भनाइ थियो । 

पूर्वसांसद रामहरि खतिवडाले वर्तमान सरकार थोरै काम गरेर धेरै प्रचार गर्न अघि बढेको आरोप लगाए । दुईतिहाइ बहुमत प्राप्त सरकारले अपेक्षित काम गर्न नसकेको उनको भनाइ थियो । कार्यक्रममा पूर्वसांसद बालकृष्ण ढुङ्गेलले सबै मिलेर पोकलीको प्रवद्र्धनमा जुट्न आग्रह गरे । पोकली झरना देशकै नमूना झरनाको रुपमा रहेकाले यसको विकास र प्रवद्र्धन आवश्यक रहेको उनको भनाइ थियो । 

दुई दिनसम्म चल्ने महोत्सवको पहिलो दिन शनिबार स्थानीय जातजातिको पहिचान झल्काउने झाँकी प्रदर्शन गरिएको थियो । राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुति दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप