केन्द्रीय संस्करण

महाकविलाई सम्झँदै विसङ्गतिविरुद्ध व्यङ्ग्य

person explore access_timeकात्तिक १६, २०७६ chat_bubble_outline0

नारायण ढुङ्गाना 

काठमाडौं – महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झँदै कवि, कवयत्री, कलाकार, पत्रकार, गायक र चलचित्रकर्मीहरुले शनिबार काठमाडौँमा विकृति, विसङ्गति, माया, प्रेम, शान्ति र समानताका विषय आ–आफ्ना रचनामार्फत छरपष्ट पारेका छन् । 

छन्दमा समेटिएका कवितामा मात्रै होइन स्रष्टाका मुक्तक र गजलमा उपस्थित दर्शक मोहित बने । अधिकांश कविहरुले समसामयिक घटनाक्रम र विकृति, विसङ्गतिविरुद्ध तिखो व्यङ्ग्य प्रहार गरेका थिए । उनीहरुको प्रस्तुतिमा समर्थन जनाउँदै उपस्थित दर्शकले ताली बजाएर स्वागत गरे ।

स्रष्टाहरुको भीडमा उपस्थित वरिष्ठ साहित्यकार तुलसी दिवसको मन रचनावाचन नगरी बस्न मानेन । प्रेम किशोर–किशोरीबीच मात्रै हुँदैन । आमा र सन्तानबीचको माया, वृद्धवृद्धा तथा बालबालिकाबीचको माया फरक–फरक हुन्छ । कविताको अर्थ एकल पनि हुँदैन । कवि या पाठकले आफ्नो ढङ्गले अर्थ लगाएर बुझ्न सक्छ । कविले लेखेकै अर्थमा बुझ्नुपर्छ भन्ने छैन । साहित्यकार दिवसले आफ्नो कविताको अर्थ लगाउने जिम्मा दर्शकलाई छाड्दै यसरी रचना प्रस्तुत गरे ।

तिमी नखोज मलाई बाहिर
म तिमै आँखाको नानीमा बसिरहेछु 
सित्तै किन रोयौ मलाई सम्झेर 
म तिमै्र आँखाको नानीमा बगिरहेछु...

महाकवि देवकोटाको १११औँ जन्मजयन्तीको अवसरमा विशालनगर पुस्तकालयद्वारा काठमाडौँको हाँडीगाउँमा भएको  विशेष कविगोष्ठीमा उहाँले प्रस्तुत गरेको कवितामा प्रेमभाव झल्किन्छ ।

देवकोटाको प्रतीभा बाढी र झरीजस्तै अनियन्त्रित रहेको उल्लेख गर्दै दिवसले महाकवि देवकोटासामु कवितावाचन गर्दाको क्षण स्मरण गर्नुभयो । कविता तालीभन्दा माथि या तल भए पनि त्यसको मर्म सशक्त र सवल हुनुपर्ने त्यहीबेला देवकोटाले आफ्नो कविताको प्रशंसा गरेकोबाट महसुस भएको उनले अनुभव सुनाए ।

झण्डै ४० कवि तथा कवयत्रीले रचनावाचन गरेको गोष्ठीमा उपस्थित कलाकार, पत्रकार, गायक, चलचित्रकर्मीदेखि नयाँ र पुराना स्रष्टाले राजनीतिप्रति तिखो व्यङ्ग्यसँगै विकृति, विसङ्गति, माया, प्रेम, शान्ति र समानताका विषय रचनामार्फत उठान गरेका थिए । 

आसन्न मृत्यु खोकीराख्यौँ 
बोझ जिन्दगीको बोकीराख्यौँ
गाँस नाता अँध्यारोसित 
उज्यालो सधैँ खोजी राख्यौँं...

गजलका हस्ती ज्ञानुवाकर पौडेलको एक मात्रै गजलले उपस्थित स्रष्टाको वाहवाही पाएको थियो । कवयत्री डा बेञ्जु शर्माले महाकवि देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै ‘निस्त्रीह साँझ’ शीर्षकमा शोक कविता प्रस्तुत गर्नुभयो ।

अलिनो मेरो बस्तीभित्र साँझ विस्तारै ओर्लँदैछ
ज्वरोले दिमाग झ्याप्प छोपेजस्तो 
सुगरको रोगीको थकित गोडामा 
सूर्यको शक्ति शिथिल भएर 
एउटा निष्पन्ध तलाउको आँखामा
कुनै धापभित्र विस्तारै केही पुरिँदैजस्तो  

त्यसो त चलचित्र निर्देशक दयाराम दाहाल पनि रचनावाचन नगरी बस्न सक्नुभएन । क्यामरा अघि बसेर सधैँ ‘एक्सन र कट्’मा रमाउने दाहालले कविता र फिल्मको अलग–अलग बाटोलाई जोड्ने प्रयास गर्दै कवितावाचन गर्नुभयो ।

हामी बाँडियौँ, नराम्रोसँग बाँडियौँ 
कित्ता–कित्तामा बाँडियौँ,
कित्ता नम्बर एक, दुई, तीन... भन्दै
अलग–अलग कित्तामा बाँडियौँ 
हामी दिन प्रतिदिन नराम्रोसँग बाँडियौँ 
र त हामी भाँडियौँ... 

उनको कवितामा साझा हितलाई छाडेर राजनीति, सङ्घसंस्था, समूह तथा जातजाति र धर्ममा मानिस बाँडिएकोप्रति व्यङ्ग्य मिसिएको थियो । हरेक तिहारमा समसामयिक विषयमा दुनियाँलाई डाम्दै आएको सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङ्गेको व्यङ्ग्यात्मक कवितामा उपस्थित स्रष्टा पेट मिचिमिचि हाँसे । उनले समसामयिक विकृति, विसङ्ति र नेताका झुटा आश्वासनविरुद्ध कवितामार्फत छेडछाड गरे ।

...माथिमाथि जानुछ
छिटोभन्दा छिटो चन्द्रमा छुनुछ 
त्यसैले यात्रीहरु,
सबैले शिर ठाडोठाडो गर्नु
कोही ननिहुरिनु, भुईँतिर नहेर्नु
भूईँतिर हेरेर धुलो उड्यो नभन्नु
हिलो भयो नभन्नु
महङ्गी, खानेपानी र रोगका कुरा नगर्नु
पहिरो, बाढी र भोकका कुरा नगर्नु
महान् यात्राको शुभसाइतमा मसिना थाङ्ना कुरा 
गर्दै नगर्नु...

गोष्ठीमा उपस्थित सिमित कवयत्रीहरुले महिलाका पीडा वेदना, सामाजिक असमानता र आमाको महत्वका बारेमा रचनावाचन गर्नुभएको थियो । मेनका पोखरेलले रचनामार्फत ‘छोरो नदेऊ’ शीर्षकमा सामाजिक दासताबाट पाएको सामाजिक पीडा समेटेर विद्रोहको चेत छर्दै छोराछोरीको समान महत्वबारे प्रष्ट्याए ।

गोष्ठीमा आ–आफ्ना रचनामार्फत कवि रवीन्द्र आशिषले ‘छायाँ’ शीर्षकमा, मदन कार्कीले स्वाभिमानी र आत्मनिर्भर बाँसको कथा, रुद्र अधिकारीले यथार्थपरक मुक्तक, डम्बर घिमिरेले समसामयिक व्यङ्ग्य, विजयध्वज थापाले देशप्रेमको भाव, रामबहादुर पहाडीले पाँच लाइनमा रहने गजल र मुक्तकबीचको ‘लिम्रिक’ विधाबाट जो पनि शहीद बन्ने प्रसङ्गलाई व्यङ्ग्यात्मकरूपमा कोट्याए । गोष्ठीमा त्रिभुवनचन्द्र वाग्ले, गायक भुवन शिवाकोटी, रुद्र अधिकारी, अनिता लामा, उर्मिला पन्त, महेन्द्रबहादुर गुरुङलगायतले रचनावाचन गरे ।

कवि रोचक घिमिरेले महाकवि देवकोटासँग आफ्नो साक्षात्कार भएको प्रसङ्ग जोड्दै जन्मजात प्रतिभावान देवकोटा पछिल्लो समयमा भनिएजस्तो गरीब पनि नभएको र मनोरोगी पनि नभएको जिकिर गरे । 

घनघोर दुःख सागर संसार जान भाइ
नगरे घमण्ड कहिल्यै, मर्नु छ हामीलाई..

देवकोटाले १० वर्षको उमेरमा कोरेको उक्त कविताले नै उहाँको जन्मजात प्रतिभालाई प्रष्ट्याउँछ । विसं १९६६ कात्तिक २७ गते लक्ष्मी पूजाको दिन जन्मनुभएका देवकोटाको १९८५ साल वैशाख १८ र २५ गते गोरखापत्रमा पहिलो कविता छापिएको जानकारी दिँदै कवि घिमिरेले उक्त कवितालाई  २०६९ सालमा आफूले ‘रचना’ पत्रिकामा समावेश गरेको जानकारी दिनुभयो । 

कतिपय साहित्यकारहरुले १९९१ सालमा लेखिएको ‘पूर्णिमाको जलधि’लाई देवकोटाको पहिलो कविता भनेर उल्लेख गरेकामा उनले रोष प्रकट गरे ।

 महाकवि देवकोटाको जुद्धशम्शेरबारे ‘समर्पण’ शीर्षकमा लेखिएको पुस्तक पहिलो भएको जानकारी दिँदै घिमिरेले अझै धेरै पाण्डुलिपिहरु प्रकाशित हुननसकेको उल्लेख गरे । वरिष्ठ गजलकार पौडेलले पछिल्लो समयमा साहित्यकारहरुमा पठन र सुन्ने संस्कृति नभएको जिकिर गर्दै आफूले कवितावाचन गरेपछि घर हिँड्ने चलन स्वयं कविका लागि नै घातक हुने बताए । कविहरुले महाकवि देवकोटाको, मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन.., कुन मन्दिरमा जान्छौ यात्री...लगायत कविता लय हालेर प्रस्तुत गरेका थिए ।

आयोजक विशालनगर पुस्तकालय २०१९ सालमा स्थापना भएको हो । यसले साहित्यिक कार्यक्रमसँगै बुद्धिचाल, ब्याडमिन्टन प्रतियोगितालगायत विभिन्न खेलकूद कार्यक्रमसँगै सामाजिक सचेतना र सहयोगका कार्यक्रम गर्दै आएको छ । पुस्तकालयका अध्यक्ष सुनिल कर्माचार्य र सदस्य गणेश श्रेष्ठले विगत २४ वर्षदेखि महाकवि देवकोटाको सम्झनामा यहाँ कविगोष्ठी गर्दै आएको जानकारी दिँदै कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।  

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...