शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

खेलमार्फत सैनिक कुटनीतिक सम्बन्ध विस्तारः पदक भने शून्य !

शनिबार, १६ कात्तिक २०७६, १० : ४३
शनिबार, १६ कात्तिक २०७६

काठमाडौँ । चीनको उहानमा भएको सातौँ विश्व सैनिक खेलकूद प्रतियोगितामार्फत नेपाली सेना सैनिक कूटनीतिक सम्बन्ध विस्तार र खेलक्षेत्रमा विकसित अन्तर्राष्ट्रिय अनुभव हासिल गर्न सफल भएको छ ।

इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिलद्वारा आयोजित उक्त प्रतियोगितामा नेपाली सेना पदक प्राप्त गर्ने सूचीमा भने परेन ।

    नेपाली सेनाका महासेनानी शशीकिरण रायमाझी भन्छन्,  “यस पटक मेडल प्राप्त गर्न सकेनौँ, तर पनि धेरै राष्ट्रलाई पछि पार्न  सफल रह्यौ । विभिन्न मुलुकका सेनासँग मित्रता कायम गर्ने र ओलम्पिक विजेतासम्मका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर मिल्यो, जुन हाम्रा लागि निकै महत्वपूर्ण र गौरवको विषय हो ।” नेपालले फ्रान्स, म्यान्मा, लक्जेम्बर्ग, बुर्गीना फाँसोलगायतका देशलाई बक्सिङ र ब्याडमिन्टनजस्ता खेलमा पराजित गरेको थियो । 

     विश्वका १०९ मुुलुकका नौ हजार ३०८ सैनिक खेलाडीको सहभागिता रहेको उक्त प्रतियोगितामा दुई प्रदर्शनीसहित २७ खेल विधा समावेश गरिएको थियो । आयोजक राष्ट्र चीन, रसिया र ब्राजिलले  प्रतियोगितामा क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गरे । प्रतियोगितामा पदक जित्ने ६६ मध्ये ३३ राष्ट्रले स्वर्ण पदक जित्न सफल भए । 

    पहिलो पटक सहभागी भएको नेपालले १३ विधामा प्रतिस्पर्धा गरेको थियो । प्रतियोगितामा तुलसा खत्रीले ट्राक एण्ड फिल्डअन्तर्गतको ४०० मिटरको दौड ५९।५७ सेकेन्डमा पूरा गरी नयाँ राष्ट्रिय रेकर्ड कायम गर्नुभयो भने सोही विधाको ८०० मिटर दौडमा सोमबहादुर कुमालले अन्तिम चरणमा प्रवेश गर्ने अवसर प्राप्त गरे । छोटो समयको तालीम लिएर उक्त प्रतियोगितामा भाग लिन ४० जना खेलाडी उहान पुगेका थिए । प्रशिक्षकलाई समेत खेलक्षेत्रका नवीनतम् ज्ञान पर्याप्त थिएन ।

    महासेनानी रायमाझी भन्नुहुन्छभन्५न्, “अन्तर्राष्ट्रिय खेलजगतमा हामीले हाम्रो क्षमता देखेका थिएनौँ, छनोट गरेर ल्याएका केही खेलाडीबाट राम्रो प्रदर्शन पनि भयो, हामीले कल्पनासम्म नगरेका खेल मैदान देख्न र त्यसमा खेल्न पायौँ ।”
 
    तीस  जना सहभागी रहेको बक्सिङको ४९ केजी तौल समूहमा तेजबहादुर देउवा पाँचौँ भए भने महिलातर्फ ६० केजी समूहमा पुनम रावले पनि पाँचौँ स्थान हासिल गरिन्। नेपाली खेलाडी प्रतिस्पर्धामा अब्बल देखिए पनि कतिपय खेल विधामा अङ्क प्राप्त गर्ने नवीनतम् विधिबारे अनविज्ञ भएका कारण नतिजा हासिल चुनौती खडा भएको प्रतिक्रिया प्राप्त भएको थियो ।

    ब्याडमिन्टनतर्फ ३२ जना सहभागी रहेको प्रतिस्पर्धामा रञ्जीत तामाङ र अनुमाया राईले पाँचौँ स्थानमै सीमित हुनु प¥यो भने ६२ केजी तौल समूहमा भएको कुस्तीमा सुशीला चन्द पाँचौँ भइन् । पदकका लागि नेपालले निकै आशा गरेको २० राष्ट्रको सहभागी रहेको तेक्वान्दो ८० केजी तौल समूहमा रामदत्त भट्ट र २७ जना सहभागी रहेको ६३ केजी तौल समूहमा ज्ञानेन्द्र हमाल दुवैले सातौँ स्थानमै चित्त बुझाए । 

    सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रका प्रमुख रायमाझी भन्छन्, “नेपालले सातौँ सिजम्स् वल्र्ड मिलिटरी गेम्सबाट उत्कृष्ट अनुभव बटुलेको छ, निकट भविष्यमा हुने साफ र अन्य खेलमा नेपाली  खेलाडीले राम्रो प्रदर्शनी गर्न सक्छन् भन्ने आशा छ ।”प्रतियोगितमा सहभागी हुने क्रममा प्रतिनिधिमण्डलस्तर र खेलाडीबीचको भेटघाटमा भएका अनुभव आदानप्रदानले सैनिक कुटनीति विस्तारमा समेत योगदान पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप