शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पूर्वाधार निर्माणले गाउँमा खुशियाली

शुक्रबार, १५ कात्तिक २०७६, २० : ४२
शुक्रबार, १५ कात्तिक २०७६

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ चौधरी टोलका भलमन्सा भरत चौधरी स्थानीय सरकार आएपछि गाउँमा भएको विकास देखेर आश्चर्यचकित भएको छन् । जनप्रतिनिधि आएपछि गाउँमा सडक, नदी तटबन्ध, पुललगायत संरचना निर्माण देख्दा उहाँलाई सिंहदरबारको अधिकार गाउँमै आएको अनुभूति भएको छ ।

“दुई वर्ष अघिसम्म गाउँ सडक सञ्जालसित नजोडिँदा दुई विवाहका लागि जेठ कुर्नु पथ्र्यो”, चौधरीले भने, “अहिले गाउँसम्मै बस गुड्न थालिसके ।” 

झण्डै ५० परिवार रहेको शुक्लाफाँटा नगरपालिका–२ रानीपुर गाउँ तीन दशकसम्म सडकविहीन अवस्थामा थियो । “पहिले गाउँमा मोटरसाइकल मुस्किलले चलाउन सकिन्थ्यो”, उनले भने, “जेठमा खेत रित्ता हुँदा मात्रै विवाहमा बस तथा अन्य ठूला सवारीसाधन गाउँसम्म सञ्चालन गर्न सकिन्थ्यो ।” 

दुई वर्ष अघि वडा कार्यालयको पहलमा डेढ किलोमिटर सडक निर्माण गरिएको शुक्लाफाँटा नगरपालिका–२ का वडाध्यक्ष शिवराज पनेरुले बताए । “गाउँ छेउमै रहेको सुनवरा नदीमा पुल नहुँदा सुत्केरीलाई समेत बोकेर पारी जोनापुरसम्म पु¥याएर बस चढाउनुपर्ने अवस्था थियो”, वडाध्यक्ष पनेरुले भने, “विगतको समस्या सम्झिदा अहिले कथाजस्तै लाग्छ ।” नगरपालिका र वडा कार्यालयको सहयोगमा सडक कालोपत्रे भएपछि अहिले स्थानीयवासीलाई सहज भएको छ । 

यस वडामा गत आर्थिक वर्षमा सङ्घ, प्रदेश र नगरपालिकाले रु दुई करोडभन्दा बढीको लागतमा विभिन्न विकास निर्माणका काम गरिएको छ । लामो समयसम्म अवरुद्ध लक्ष्मीपुर र ढकनिँया जोड्ने मितेरी पुल निर्माणको अन्तिम चरणमा रहेको वडाध्यक्ष पनेरुले बताए ।

“द्वन्द्वकालमा भत्काइएको पुल बनेपछि स्थानीयवासीलाई निकै सहज भएको छ”, उनले भने । दुई वर्ष अघि रानीपुर र जोनपुर जोड्ने सुनवरा नदीमा झोलुङ्गे पुल निर्माण गरिएको थियो । 

“पुल नहुँदा जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता थियो”, उनले भने, “अहिलेसम्म वडामा तटबन्ध निर्माणमा रु ८० लाख खर्च भइसकेको छ ।” यस्तै लामो समयसम्म जीर्ण रहेको झारखण्ड बैजनाथ ताल संरक्षणका लागि पहल भइरहेको वडाध्यक्ष पनेरुले बताए ।

“शहरी विकास मन्त्रालय र नगरपालिकाको सहयोगमा ताल संरक्षणको काम अघि बढेको छ”, उनले भने । नगरपालिकाले ताल आफ्नो स्वामित्वमा लिएर माछापालन गर्न बोलपत्र आह्वानको तयारी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप