बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिरहामा पन्ध्र जनप्रतिनिधिका लागि उपनिर्वाचन

शुक्रबार, १५ कात्तिक २०७६, २० : १९
शुक्रबार, १५ कात्तिक २०७६

सिरहा – सिरहाका विभिन्न स्थानीय तहमा रिक्त  १५ जनप्रतिनिधिका लागि उपनिर्वाचन हुने भएको छ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि विभिन्न दलले उम्मेदवारको नाम चयन गर्ने क्रम शुरु भएको छ । 

जिल्ला निर्वाचन कार्यालयका जिल्लामा एउटा वडाध्यक्ष र १४ वडा सदस्यका लागि उपनिर्वाचन हुनेछ । कल्याणपुर नगरपालिकामा वडाध्यक्ष रामदेव यादवको निधन भए पछि हाल सो पद रिक्त छ ।

यस्तै कर्जन्हा नगरपालिका–८ मा मनोनीत कार्यपालिका सदस्य रामचन्द्र ठाकुर जिल्ला समन्वय समितिको प्रमुख तथा विष्णुपुर गाउँपालिका–१ का वडासदस्य सरोजकुमार यादव उपप्रमुखमा निर्वाचित भएपछि वडासदस्य पद रिक्त रहेको जिल्ला निर्वाचन अधिकृत इन्दिरा यादवले जानकारी दिए ।

यस्तै लहान नगरपालिका–५ का महिला सदस्य नुरजहाँ खातुन, धनगढीमाई नगरपालिका–९ का दलित महिला सदस्य कृष्णमाया विक, गोलबजार नगरपालिका–१ का दलित सदस्य तेतरराम मोची, मिर्चैया नगरपालिका–१० का मनोनीत कार्यपालिका सदस्य उमेशकुमार सिंह, सिरहा नगरपालिका–७ का दलित महिला सदस्य गीता पासवान, नवराजपुर गाउँपालिका–१ का वडासदस्य छविलाल यादव र सखुवानन्कारकट्टी गाउँपालिका–१ का वडासदस्य शुभनारायण साह जिल्ला समन्वय समितिको सदस्यमा निर्वाचित भएपछि वडासदस्य पद रिक्त रहेकाले ती पदमा उपनिर्वाचन हुने यादवले बताए ।

यसैगरी सुखीपुर नगरपालिका–७ का वडासदस्य अजिताकुमारी यादवले २०७५ असार ८ गते तथा लक्ष्मीपुर पतारी गाउँपालिका–६ का दलित महिला सदस्य विनु महराले २०७५ मङ्सिर १४ गते दिएको राजीनामा स्वीकृत भइसकेकाले ती पदका लागि उपनिर्वाचन हुनेछ । 

सिरहा नगरपालिका–४ मा दलित महिला सदस्य पदमा उम्मेदवारी नपरेको र विष्णुपुर गाउँपालिकाको कार्यपालिका सदस्यको नामथर नमिलेकाले उम्मेदवारी दर्ता बदर भएका कारण ती पदका लागि उपनिर्वाचन हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप