शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कपिलवस्तु अपडेट: कृष्णनगरमा कर्फ्यु कायमै

शुक्रबार, १५ कात्तिक २०७६, १९ : ३४
शुक्रबार, १५ कात्तिक २०७६

बुटवल–जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले हिजो बिहान ११ बजेदेखि लगाएको कर्फ्यु कायमै रहेको छ । मूर्ति बिर्सजनलाई लिएर उत्पन्न हिंसा रोक्न कृष्णनगरमा जारी कर्फ्युलाई प्रशासनले अझै कायम राखेको हो । दीपावलीमा पूजा गरिएको गणेश र लक्ष्मीको मूर्ति विसर्जनका क्रममा झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कफ्र्यु लगाएको थियो । झडपमा सुरजकुमार पाण्डेको मृत्यु भएको थियो । सो घटनापछि लगाइएको कर्फयु नहटाएको कपिलवस्तु प्रहरी प्रमुख दिपशमसेर राणाले रातोपाटीलाई बताए । उनले भोली बिहानसम्म कर्फयु जारी रहने र भोली पनि अवस्था हेरेर निर्णय हुने जानकारी दिए । 

गएराति दुवै पक्षबीच सहमति भएपछि लक्ष्मीको मूर्ति विसर्जन गरिएको थियो । कर्फ्युकाबीच सुरक्षा घेराबन्दीमा मूर्तिको विर्सजन गरिएको थियो । दुई पक्षबीच भएको सहमतिमा मृतक सुरजकुमार पाण्डेको क्षतिपूर्तिका लागि गृहमन्त्रालयलाई सिफारिस गर्ने, मूर्ति विर्सजन गर्न अवरोध गर्ने ब्यक्तिलाई कानुनी कार्वाही गर्ने, प्रहरीले दमन गरे–नगरेको छानबिन गर्ने, कृष्णनगर क्षेत्रमा आगामी दिनमा कुनै अप्रिय घटना हुन नदिनका लागि साझा पहल गर्ने, कर्फ्युलाई क्रमशः घटाउँदै लैजाने लगायतका बुँदा रहेका छन् । 

दुवै पक्षबीच भएको वार्तामा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, प्रहरी उपरीक्षक दीपशमशेर जबरा, कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष लगायतको सहभागिता रहेको थियो । कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मिटर उत्तर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा बिहीबार बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्मका लागि प्रशासनले कर्फ्यु जारी गरेको थियो ।

कर्फ्यु आदेशको अवज्ञा गरेको भन्दै प्रहरीले चलाएको गोली लागेर कृष्णनगरमै चियापसल सञ्चालन गर्दै आएका भारतीय नागरिक सुरजकुमार पाण्डेको दाहसंस्कार गरिएको छ  । उनीहरुले शवलाई ठेलामा राखेर हिजो पनि विरोध गरेका थिए । अहिले अवस्था समान्य बन्दै गएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप