शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कास्की-२ उपनिर्वाचन: विद्या र देवराजबीच भीडन्तको संकेत !

शुक्रबार, १५ कात्तिक २०७६, १९ : ०१
शुक्रबार, १५ कात्तिक २०७६

पोखरा– मंसिर १४ मा हुन लागेको उपनिर्वाचनका लागि उमेद्वार चयनको विषय कास्की २ मा थप पेचिलो बन्दै गएको छ । उम्मेद्वारी मनोनयनका लागि निर्वाचन आयोगले तोकेको मिति सकिन एकसाता मात्रै बाँकी रहँदा ठुला पार्टीलाई उमेदवार छान्न सकस परेको देखिन्छ । निर्वाचन आयोगले उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने अन्तिम म्याद २१ कात्र्तिक बिहान १० बजेदेखि दिउँसो १ बजे तोकेको छ । 

सिङ्गो देशकै ध्यान खिचेको कास्की २ उपनिर्वाचन प्रतिनिधिसभाको एकमात्र रिक्त स्थान पनि हो । यसअर्थमा पनि कास्की २ को उपनिर्वाचनलाई विशेष महत्वकासाथ हेरिएको छ । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएपछि रिक्त रहेको कास्की २ मा ठुला पार्टीको मात्र होइन, साना पार्टीले पनि चुनाव जित्न उत्तिकै दाउपेच लगाएका छन् । तर, उमेदवार चयन गर्न भने सकिरहेका छैनन् । रवीन्द्र मिश्रको साझा पार्टी मात्र उम्मेदवार घोषणा गर्ने पहिलो पार्टी बनेको छ । 

प्रदेशले किन थप्यो सोमनाथ र राजकाजीको नाम ? 

सत्तारुढ नेकपा कास्कीले रवीन्द्र पत्नी विद्या भट्टराईको एकल नाम सिफारिस गरेको भोलिपल्टै प्रदेश कमिटीले सोमनाथ अधिकारी ‘प्यासी’ र राजकाजी गुरुङ ‘करण’को नाम थपेर पठायो । यसले विद्यालाई अघि सारेर उम्मेदवारमा अर्कैलाई बनाउने हो कि ! भन्ने आशंका पनि योसँगै बढेको छ । विद्याको नाम अघि सारेर ‘सिमप्याथी’ भोट पाउनको लागि नेकपाले चलखेल  कि ! भन्ने आशंका पनि जनमानसमा उब्जिएको छ । 

यद्यपि, प्रदेश र जिल्ला कमिटीले विद्याको नाम नै अग्रपंक्तिमा राखेर नियम पु¥याउनको लागि २ जनाको नाम थप गरेर पठाएको जनाएका छन् । नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले रातोपाटीसँगको अघिल्लो कुराकानीमा कास्की २ को उपनिर्वाचनमा विद्या बाहेक अरु कसैको विकल्प नभएको समेत दाबी गरेका थिए । 

गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङको पनि कुरा उही छ । नियम पु¥याउनको लागि मात्रै विद्यासहित २ जनाको नाम थप गरेर ३ जना पु¥याइएको हो । विद्यार्थी राजनीतिबाट उदाएका रवीन्द्रको हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएपछि उनकी पत्नी विद्यालाई सहानुभूतिको ओइरो लाग्यो । कास्की २ बाट रवीन्द्रको उत्तराधिकारी विद्या नै बन्नुपर्ने तर्क पनि त्यसबेलादेखि नै सुनिन थालेको छ । 

प्रध्यापन पेशामा आवद्ध विद्या केही वर्षअघि विद्यार्थी राजनीतिमा सक्रिय नेतृ पनि हुन् । रवीन्द्रसँग गृहस्थी बसाएपछि राजनीतिबाट ओझेल परेकी विद्या प्रध्यापकको पेशा छाडेर राजनीतिमा कम ब्याक नहुने पनि कतिपयको अड्कल छ । यद्यपि, विद्याको ग्रीन सिग्नल बिना नेकपाले नाम सिफारिस गर्न नसक्ने तर्क पनि सुनिन्छ ।  

कास्की उपनिर्वाचनमा दाउ लगाइरहेका नेकपाका केन्द्रीयस्तरका नेता वामदेव गौतम ब्याक हुनुले पनि विद्याको बाटो खुलेको अड्कल काटिएको छ । जिल्लादेखि केन्द्रसम्म विद्या नै पहिलो प्राथमिकतामा परेकाले पनि टिकट पाउने निश्चित प्राय छ । 

काँग्रेस उम्मेद्वार छनोटमा भद्रगोल 

काँग्रेसमा केन्द्रले ३ जनाको नाम सिफारिस गर्न लगायो । तर, आकांक्षी देखिए १६ जना । भोटिङ गरेर नाम सिफारिस गर्ने कुरा पनि आयो । अन्ततः सबैजना केन्द्रकै निर्णय मान्न तयार भइसकेपछि प्रमुख प्रतिपक्ष काँग्रेसले उम्मेद्वारका आकाँक्षी १६ जनाकै नाम केन्द्रमा पठायो ।

काँग्रेसका कास्की उप–सभापति आइबहादुर गुरुङले केही  समयअघि रातोपाटीसँग कुराकानी गर्दै ३ जनाको नाम सिफारिस गर्न सबैजना सहमत नभएपछि आकाँक्षी देखिएका सबै जनाको नाम केन्द्रमा पठाइएको बताएका थिए । जानकारहरुका अनुसार यसरी कास्की काँग्रेसले ३ जनाको नाम पनि सिफारिस गर्न नसक्नुले काँग्रेसभित्र गुटउपगुट भएको प्रस्ट हुन्छ । 

केन्द्रमा पठाइएका १६ जनामध्ये ०७४ को चुनावमा रवीन्द्रका प्रतिस्पर्धी देवराज चालिसे नै अरु आकांक्षी भन्दा बलिया देखिन्छन् । काँग्रेसका एक नेताका अनुसार चालिसेको पक्षमा अरु आकांक्षीको भन्दा धेरै मत पनि छ । अघिल्लो चुनावमा देवराज चालिसे रवीन्द्रसँग ८ हजार ५ सय ४६ भारी मत अन्तरले पराजित बनेका थिए । 

 विद्या र देवराज कै भीडन्त हुन्छ 

कास्की २ मा जुनसुकै पार्टीका नेता कार्यकताले दाउपेच लगाए पनि चुनावी घमासान भने रवीन्द्र पत्नी विद्या र देवराजबीच नै हुने जानकारहरु बताउँछन् । पोखरामा रहेर राजनीतिक विश्लेषण गर्दै आएका प्रध्यापक÷राजनीतिक विश्लेषक कमलमणि दाहालका अनुसार काँग्रेसका देवराजको पक्षमा २ तिहाई मत देखिएको थियो । नेकपा कास्कीको पहिलो रोजाइमा विद्या नै पर्नुले पनि कास्की २ उपनिर्वाचनमा घमासान युद्ध हुने भनेको नै विद्या र देवराजबीच नै हो ।

‘सम्भावनाको हिसाबले काँग्रेसबाट देवराज चालिसे नै देखिन्छ । हक पनि उनैको हो जस्तो लाग्छ । आकांक्षी राख्नु स्वभाविक पनि हो,’ उनले भने, ‘आकांक्षीमध्येबाट पनि कसलाई दिँदा ठिक हुन्छ भन्दा देवराज चालिसेलाई नै हो । किन भने उनी प्रध्यापक पेशाबाट पनि आएका हुन्, बौद्धिक छन् । चुनाव जितेकै भए ५ वर्ष सांसद पनि हुन्थे ।’

केन्द्रले ३ जनाको नाम माग्दा १६ जनाको नाम सिफारिस गर्नु लिडरसिपको असक्षमता रहेको उनले बताए । यद्यपि, सिफारिस गरेकामध्ये कोही पनि आकांक्षी उमेदवार असक्षम नभएको उनले प्रस्ट्याए । ‘सबै मन्त्री बन्ने हैसियतका मान्छे हुनुहुन्छ, पहिले पनि मन्त्री बनि सकेका मान्छे हुनुहुन्छ,’ उनले भने, ‘यसको अर्थ जति पनि आकांक्षीहरु हुनुहुन्छ । उहाँहरु उम्मेदवार हुन योग्यता राख्नुहुन्न भन्ने होइन । सबैजना सक्षम हुनुहुन्छ ।’ देवराज चालिसेको ठाउँमा अर्को आकांक्षी उमेदवार अघिल्लो चुनाव लडेको भए स्वभाविक रुपमा उमेदवार हुने हक उसकै हुनुपर्ने उनले प्रस्ट्याए । काँग्रेसको पहिलो रोजाइमा देवराज नै परेको र उनले नै टिकट पाउने उनले खुलाए । 

‘केन्द्रमा राजनीतिक समिकरण बिग्रिए त अर्कै कुरा । नत्र देवराजको ठाउँमा अर्कै उम्मेदवार उठाएमा फरक पर्छ । यो कुरा निश्चित नै हो,’ उनले भने ।  विद्याको हकमा केन्द्रदेखि जिल्लासम्म उनी नै पहिलो रोजाइमा परेको हुनाले विद्या नै उमेदवारको रुपमा चयन हुने उनले तर्क राखे । यद्यपि, विद्याले पनि बीचमा अनइच्छा भने देखाएकी थिइन । तर, विद्याको ग्रिन सिग्नल बिना नेकपाले नाम सिफारिस गर्न नसक्ने उनले तर्क राखे । यद्यपि, विद्या उमेदवारीबाट ब्याक भएकि राजनीतिक रुपमा ठुलै चलखेल हुने अन्यथा नेकपाकै छनौट प्रक्रिया कमजोर साबित हुने उनले प्रस्ट्याए । 

कास्की २ को उपनिर्वाचनले कास्की मात्रै होइन सिंगो नेपाललाई नै प्रभाव पार्ने उनको भनाई छ । ‘काँग्रेसको जनमत मापन गर्ने । सत्तापक्षको कामकारबाही कस्तो छ भनेर जनमत संग्रह नै, साँच्चिकै भन्ने हो भने सत्तापक्ष र विपक्षको जनमत संग्रह नै हो यो,’ उनले भने । कुनै पनि पार्टीले हार्ने गरि उमेदवार चयन नगर्ने उनले प्रस्ट्याए । रवीन्द्रको क्षेत्र प्लस सहानुभूतिले गर्दा पनि विद्या नेकपाको बलियो उमेदवार हुनाले नेकपाले विद्यालाई नै चयन गर्ने उनले सुनाए । 

सोमनाथ अधिकारी पुरानो नेता पनि हुन् । नेकपा कास्कीको ईन्चार्ज समेत रहेका राजकाजी अघिल्लो चुनावमा प्रदेशसभा सदस्यका लागि लडेका थिए । अघिल्लो चुनावमा उनले हार व्यहोरिसकेका छन् । सोमनाथलाई रिझाउनकै लागि र राजकाजीलाई जनजातिबाट समावेशी बनाउनको लागि नाम थप गरेको हुनसक्ने उनको अड्कल छ । यता विद्याले भने नेपाली राजनीतिको लिगेसीकै कारण पनि टिकट पाउने उनले दाबी गरे । 

‘नेपालमा श्रीमानको निधनपछि चुनाव लडेका जति पनि पत्नी छन्, उनीहरुले चुनाव जितेकै छन् । विद्या उमेदवारको लागि क्यापेबल पनि छन्, यसले पनि उनको सम्भावन बलियो छ,’ उनले भने । कास्की २ मा लामो समयदेखि दाउ लगाएका नेकपाका केन्द्रीय नेता वामदेव गौतम अन्तिममा ब्याक भएको स्मरण गर्दै यस्तो अवस्थामा सोमनाथ र राजकाजीले टिकट नपाउने उनले अड्कल काटे । 

‘दावा हुनु स्वभाविक हो, जिल्लाले नै सर्वसम्मत रुपमा निर्णय गरेर पठाइसकेको छ । सिंगो पार्टीमा सर्वसम्मत रुपमा सिफारिस हुनु भनेको चानचुन कुरै होइन,’ उनले भने ।  प्रदेश कमिटीले पनि आकांक्षी देखिएको हुनाले र प्रक्रिया पु¥याउनकै लागि सोमनाथ अधिकारी र राजकाजी गुरुङको नाम सिफारिस गरेको सुन्नमा आएको उनले सुनाए । मंसिर १४ मा काँग्रेसबाट देवराज चालिसे र नेकपाबाट विद्या भट्टराईकै चुनावी युद्द हुने उनले अड्काल काटे ।

विद्याको पक्षमा नेकपाको केन्द्रीयस्तरबाटै सर्पोट रहेको देखिन्छ । यद्यपि, नेकपाको आधिकारिक निर्णय भने आउन बाँकी नै छ । पोखरा महानगरपालिकाका ११ वडामा समेटिएको कास्की क्षेत्र नम्बर २ मा ७२ हजार ३ सय मतदाता छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप