शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भक्तपुरमा प्रदेशको उपनिर्वाचन : दलहरुलाई उम्मेदवार छान्नै सकस, नेकपाबाट ६ जनाको नाम सिफारिस

शुक्रबार, १५ कात्तिक २०७६, १६ : ३३
शुक्रबार, १५ कात्तिक २०७६

भक्तपुर । भक्तपुर जिल्लाको निर्वाचन क्षेत्र–१ (क) बाट प्रदेश सभामा तत्कालीन नेकपा एमालेबाट निर्वाचित हरिशरण लामिछानेको निधनपछि सो क्षेत्रमा यही मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने समय नजिकिँदै गर्दा दलहरुलाई उम्मेदवार छान्न सकस परिरहेको छ । निर्वाचन आयोगको तालिका अनुसार कात्तिक २१ गते राजनीतिक दलले आ–आफ्नो उम्मेदवारी तोकेको कार्यालयमा दर्ता गर्नुपर्नेछ । 

जिल्लाको यो प्रदेशमा २०७४ सालमा सम्पन्न निर्वाचनमा बिजयी दल तत्कालिन नेकपा एमाले (हाल नेकपा), मुख्य प्रतिस्पर्धी नेपाली काँग्रेस र अर्को प्रतिस्पर्धी दल नेपाल मजदुर किसान पार्टीले शुक्रबारसम्म पनि उम्मेदवारको टुङगो लगाउन सकेका छैनन ।

भक्तपुर क्षेत्र नम्वर १ (क) (चाँगुनारायण नगरपालिकाका सबै वडा र भक्तपुर नगरपालिका वडानम्बर १०) मा उप निर्वाचन हुदैछ ।

नेकपाबाट ६ जनाको नाम सिफारिस

अघिल्लो निर्वाचनमा (नेकपा एमाले) नेकपाका स्वर्गीय हरिशरण लामिछाने १२ हजार सात सय ७९ मतसहित निर्वाचित भएका थिए । नेकपाको पार्टी बैठकले सर्वसम्मत रुपमा तीन जनाको नाम सिफारिस गर्न सक्ने अधिकार नेकपाका इन्चार्ज दिलिप प्रजापति, सहइन्चार्ज सोमप्रसाद मिश्र, जिल्ला अध्यक्ष बचन देउजा र सचिव डीपी ढकाललाई दिएपनि उनीहरुले समयमै निर्णय गर्न नसक्दा उम्मेदवारको टुङ्गो लाग्न नसकेको हो ।

नेकपा एक नेताले रातोपाटीसँग कुरा गर्दै भने, ‘हामीले ६ जनाको नामावली केन्द्रमा पठाएका छौं ।’

नेकपाको तर्फबाट उम्मेदवारका लागि सिफारिस भएका नाममा देवीप्रसाद ढकाल (डीपी), रमेश बुढाथोकी मोहनवीर श्रेष्ठ, शम्भु दाहाल, दामोदर दंगाल र रामबहादुर श्रेष्ठ छन् । पार्टीले बोलाएको बैठकमा १८ जनाले उम्मेदवार बन्ने आकांक्षा राखेपनि अन्तिममा ६ जनाको नाम प्रदेशमा पठाएको स्रोतले जनाएको छ ।

काँग्रेसबाट १० जना उम्मेदवार

अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसका जीवन खत्रीले ९ हजार ९ सय ७७ मत प्राप्त गर्दै निकटतम प्रतिद्धन्द्वी बनेका थिए । उपनिर्वाचनमा सुरुबाटै सक्रिय देखिएको काँग्रेसले पनि उम्मेदवार चयनमा भने सर्वसम्मत छनोट गर्न सकेको देखिएन ।

काँग्रेसको गत बुधबार बसेको बैठकले उम्मेदवारीका लागि जिल्लामा निवेदन दिएका १० जनाको नाम सिफारिस गरेको सभापति दुर्लभ थापाले रातोपाटीलाई बताए । प्रदेश सभाका लागि आकांक्षीहरुमा कृष्णलाल भँडेल, यादव प्रसाद अधिकारी, शुरेष श्रेष्ठ, विनोद प्रसाद कायस्थ, रुपा थापा, उद्धव खड्का, किरण न्यौपाने, मनोज कुमार थापा, हरी प्रसाद नेपाल र सुभद्रा काफ्लेको नामावली पार्टी केन्द्रमा पठाइएको जिल्ला सभापति थापाले जानकारी दिएका छन् ।

नेमकिपाको उम्मेदवार, दर्ताको दिन सार्वजनिक हुने

नेमकिपाका उम्मेदवार निरज लवजुले २०७४ सालमा सम्पन्न निर्वाचनमा ७ हजार ११ मत ल्याएका थिए । उक्त प्रदेश क्षेत्रको अर्को प्रतिस्पर्धी दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भने कार्तिक २१ गते उम्मेदवारी दर्ताको दिनमात्र पार्टीका उम्मेदवार को हुने भन्ने थाहा हुने जानकारी दिएको छ ।  नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजुले भने, ‘हामी छलफल गर्दैछौं, उम्मेदवार तय नभएपनि निर्वाचन केन्द्रीत गतिविधि जारी छ ।’

साझा पार्टीबाट प्रधान उम्मेदवार

साझा पार्टी भक्तपुरले उक्त प्रदेश सभाको निर्वाचनका लागि भक्तपुर जिल्ला संयोजक सुरज प्रधानलाई उम्मेदवार तोकेको छ । २८ वर्षीय सुरज प्रधानलाई उम्मेदवार घोषणा गरेको साझा पार्टीले इमान्दारिता र उत्कृष्टतामा जिम्मेवारी बहन गर्ने प्रतिवद्धता व्यक्त गरेकाले प्रधानलाई उम्मेदवार बनाएको बताएको छ ।

कति छन् मतदाता ?

यो प्रदेशको निर्वाचन क्षेत्रमा ४५ हजार ३६ जना मतदाता रहेका छन् । निर्वाचन आयोगले १८ साउनभित्र दर्ता भइसकेका मतदाताले मात्रै उपनिर्वाचनमा मतदात गर्न पाउने जनाएको छ । सो क्षेत्रमा २१ वटा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख घमचन्द्र तिम्सिनाले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप