बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मध्यावधि चुनाव गराउन इराकी राष्ट्रपति सहमत, विरोध प्रदर्शन जारी

शुक्रबार, १५ कात्तिक २०७६, १५ : ३७
शुक्रबार, १५ कात्तिक २०७६

बग्दाद– इराकी राष्ट्रपति बरहाम सालेहले देशमा एक महिनादेखि सरकार विरोधी हिंसात्मक विरोध प्रदर्शन जारी रहेको भन्दै मध्यावधि चुनाव गर्न प्रतिबद्ध रहेको बताएका छन् । तर प्रदर्शनकारीहरुले चुनावले मात्र समस्याको समाधान नहुने बताएका छन् ।

टेलिभिजनमा बिहीबार प्रशारित एक सन्देशमा राष्ट्रपति सालेहले प्रधानमन्त्री अदेल अब्देल माहदी राजिनामा गर्न तयार रहेको बताए । उनले प्रधानमन्त्री पदका लागि अर्को कुनै व्यक्ति तत्काल तयार नरहेको पनि बताए ।

राष्ट्रपति सालेहले भने, ‘प्रधानमन्त्रीले राजिनामा दिने बताइसक्नु भएको छ । सबैलाई स्वीकार्य विकल्पमा पुग्न सबै राजनीतिक दललाई आग्रह गर्दछु ।’ उनले नयाँ निर्वाचन कानुन र निगरानी आयोगमा सहमति हुनासाथ चुनाव गर्न आफू प्रतिबद्ध रहेको बताए । तर उनको सन्देशले प्रदर्शनकारीलाई खासै प्रभावित गर्न सकेको छैन ।

राष्ट्रपतिको सन्देशका बारेमा बग्दादको सडकमा भेटिएका एक ४९ वर्षीय हेदर काजिमले भने, ‘अब्देल माहदीको राजिनामाले मात्र समस्याको समाधान गर्दैन । समस्या त सत्तारुढ दलहरुभित्रै छ, प्रधानमन्त्री अब्देल माहदीसँग होइन ।’

इराकी नेताहरुले ठुल्ठूला प्रदर्शनलाई जारी राख्ने घोषणा गरेका छन् । गत अक्टोबर १ मा बेरोजगारी र भ्रष्टाचारको विरोधमा शुरु भएको यो प्रदर्शन हाल सरकारको विरोधमा केन्द्रित भएको छ ।  राष्ट्रपति सालेहले पछिल्लो समय प्रधानमन्त्री र अन्य दलहरुसँग गम्भीर विचार विमर्श जारी राख्नु भएको छ ।

प्रदर्शनका बारेमा छलफल गर्न संसदको बैठक समेत डाकिएको छ । प्रधानमन्त्री माहदीले टेलिभिजनबाट संसदका कारबाही प्रत्यक्ष प्रशारण गरिए आफू संसदको रोष्ट्रममा उभिएर सांसदहरुले राखेका प्रश्नको जवाफ दिन तयार रहेको बताउँदै आएका छन् । 

७७ वर्षीय अब्देल माहदी इराकको प्रधानमन्त्रीमा एक वर्षअघि चुनिनु भएको हो । उनलाई मोक्तादा सदर र संसदीय नेता हादी अल–अमेरिको समर्थन छ । तर पछिल्लो समय मोक्तादा सदरले प्रदर्शनकारीलाई समर्थन गरेका छन् भने अमेरी र अरु केही दलले सरकारलाई समर्थन गरिरहेका छन् ।

एक महिनादेखिको यस प्रदर्शनका कारण कम्तीमा २५७ जनाको मृत्यु हुनुका साथै १० हजारभन्दा बढी घाइते भएका छन् । गत सातामा मात्र १०० जनाको ज्यान गएको इराकी मानव अधिकारी आयोगले जनाएको छ । –एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप