बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मिथिलाञ्चलमा छठको रौनक, आज खरना

शुक्रबार, १५ कात्तिक २०७६, १३ : २०
शुक्रबार, १५ कात्तिक २०७६

जनकपुर– मथिलाञ्चलमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन शुक्रबार खरना गरिदैं छ । कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधि गरिएको छ ।  आईतवारसम्म मनाइने छठ पर्वको तयारी सिरहा सहित तराईका जिल्लाहरुमा जोरतोरले चलिरहेका छन् ।

मुलतः सूर्यदेवको उपासना गरिने छठ पर्वको पहिलो दिन व्रतालुहरुले व्रत सङ्कल्प गरेर स्नान गरेर चोखो नितो खाएका छन् । पहिलो दिनको यो विधिलाई स्थानीय बोलीचालीको भाषामा ‘नहाय–खाय’ भनिन्छ । पर्वको दोस्रो दिन आज (शुक्रवार) पञ्चमी तिथिमा व्रतालुले दिनभर निराहार व्रत बसेर राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गर्ने चलन छ । 

त्यस्तै, शनिवार सन्ध्याकालिन र आईतबार प्रभातकालिन सूर्यको अर्घदिएपछि चार दिवसीय छठ पर्र्ब बिधिवत रुपमा समापन हुनेछ । पर्वको मुख्य दिन मानिने षष्टी तिथिका दिन बिहानै न्वाई–ध्वाई गरेर निराहार व्रत बसेका व्रतालुले साँझमा अस्ताउँदै गरेका सूर्यलाई अघ्र्य दिने गरिन्छ । त्यस्तै, सप्तमीका दिन बिहान उदाउँदै गरेका सूर्यलाई अघ्र्य दिएपछि यो पर्व बिधिवत रुपमा सम्पन्न हुनेछ । 

छठ पर्वका लागि पूजा सामग्री र नैवेद्य तयार गर्दा अत्यन्त सावधानीका साथ ख्याल गर्नुपर्छ । यस पर्वमा ढिकी–जाँतोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहुँ तथा चामलको पीठोबाट बनाइएका ठकुवा, भुसुवा, मिष्टान परिकार, माटोको भाडामा जमाइएको दही, उखु, मौसम अनुसारका फलपूmल, कोसिया कुरवार लगायतका पुजा सामग्रीहरुले सूर्यलाई अघ्र्य दिने प्रचलन रहेको छ ।

निर्धनता र निःसन्तानबाट मुक्ति पाउन एवम् मानव जातिको उत्थान गर्न र आरोग्यका लागि यो पर्व मनाउने विश्वास गरिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने पण्डित अरुण झाले बताए । 
आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि पाइन्छ ।

मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनिसकेको यो पर्वको तयारीमा अहिले यस क्षेत्रका नदी, तलाउ र कुण्ड सहितका जलाशयहरु मनमोहक ढङ्गले सिङ्गारिने क्रम चलिरहेका छन् । जलाशय सजाउनुको साथै घरघरमा पर्वको तयारी चलिरहेको । छठ पर्व सुरुवात सँगै टोल टोलमा छठका गीतहरु गुञ्जिरहेकोले मिथिला क्षेत्र छठमय बनेको छ । 
                    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप