मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

हतियारसहित नेता पक्राउ प्रकरण : तरुण दल भन्छ – प्रहरीले आफै हतियार लगेर फसायो

‘फिङ्गर प्रिन्ट’ जाँच गर्न अध्यक्ष जीतजङ्गको माग
शुक्रबार, १५ कात्तिक २०७६, १२ : ३३
शुक्रबार, १५ कात्तिक २०७६

काठमाडौंँ – नेपाली काँग्रेस निकट तरुण दल नेपालगञ्ज नगर कमिटीका अध्यक्ष सन्दीपजङ्ग शाहसहित ६ जनालाई पक्राउ गरिएको विषयमा नेपाल तरुण दलले आपित्त जनाएको छ ।

प्रहरीले बिहीबार बेलुकी साढे ८ बजे नगर अध्यक्ष शाहसँगै दिनेशकुमारी शाही, राघव शाह, पृतम थापा, माधव नेपाली र यामबहादुर बुढामगरलाई कोहलपुरको नमस्ते भिलेज रिसोर्टबाट पक्राउ गरेको थियो ।

बाँके प्रहरीले उनीहरुलाई हातहतियारसहित पक्राउ गरिएको बताएको छ । तर, तरुण दलको केन्द्रीय अध्यक्ष जीतजङ्ग बस्नेतले भने प्रहरीबाट झुठा आरोपमा फसाउने र सामाजिक आतङ्क सृजना काम भएको जिकिर गरेका छन् ।

उनीहरु निर्दोष रहेको भन्दै प्रहरीलाई हतियारमा भएको ‘फिङ्गर प्रिन्ट’ जाँच गरेर सत्यतथ्य बाहिर ल्याउन अध्यक्ष बस्नेतको माग छ ।

प्रहरी आफैँले लगेको हतियार सन्दीपजङ्ग शाहको गाडीबाट बरामद भएको भन्दै झुठो प्रचार गरेको अध्यक्ष बस्नेतद्वारा शुक्रबार विज्ञप्तिमा भनिएको छ । तरुणलाई दुःख दिने कुत्सित एवम् दुरासययुक्त नियतले नगर अध्यक्ष शाहलाई प्रहरीले पक्राउ गरेको उनको भनाइ छ ।

अध्यक्ष बस्नेतले पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्न र झुठा प्रपञ्च रच्ने प्रहरीहरुमाथि हदैसम्मको कारवाहीको माग गरे ।

तरुण दलले माग बेवास्ता गरे सरकारले गम्भीर मूल्य चुकाउनुपर्ने उनको चेतावनी छ । ‘हाम्रो सदासयता र धैर्यतालाई बेवास्ता गरिएमा वर्तमान सरकार र यसका मतियारहरुलाई यसको गम्भीर मूल्य चुकाउनुपर्ने चेतावनी दिन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

उनीहरु शान्तिपूर्ण रुपमा आफ्नो घरायशी छलफलमा रहेकै अवस्थामा प्रहरीले विनाकारण अमर्यादित र अमानवीय ढङ्गले पक्राउ गरेको दाबी गरिरहेको उनको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप