शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कथा गीतको : अनि जन्मियो एक ‘अजर’ गीत ‘परेलीमा’...

शुक्रबार, १५ कात्तिक २०७६, ०८ : ५६
शुक्रबार, १५ कात्तिक २०७६

लगभग २२ वर्ष पुरानो, अर्थात् दुई दशक अघिको । यो समयचक्रमा चार पुस्ताको जन्म भइसक्यो । यो समयावधिमा कतिले धर्तीमा पदार्पण गरे, कतिको अवसान भयो । के कति परिवर्तन भए, त्यसको कसैले लेखाजोखा गरेको छैन न त त्यसो गर्न सम्भव नै छ ।

प्रत्येक पल परिवर्तनशील छ । परिवर्तित समयले आफ्नो परिधीभित्रका लगभग सबै कुरालाई आफ्नो पकडमा गाँजेको हुन्छ । तर संगीतको संसारमा यस्ता केही सृजनाहरु छन् जुन कहिल्यै परिवर्तन हुँदैनन्, जसको महत्त्व कहिल्यै घट्दैन बरु समयसँगै बढ्छ । जुन महिना, वर्षसम्म मात्र नभई दशकौँसम्म पनि चर्चित हुन्छ, जसले मानिसको मनमस्तिष्कमा सुन्दर घर बनाएको हुन्छ ।

निकै लामो इतिहास बोकेको नेपालको चर्चित ब्यान्ड १९७४ एडीको ‘परेलीमा’ बोलको गीत यस्तै ‘अजर’ गीतको श्रेणीमा पर्छ । ‘कथा गीतको’ स्तम्भका लागि हामीले यो गीतका गायक फिरोज स्याङ्देनलाई भेट्यौँ । उनले निकै उत्सुकताका साथ र खुसी मुद्रामा गीतबारे विभिन्न जानकारी साझा गरे ।

अनि जन्मियो ‘परेलीमा’

परेलीमालाई फिरोजले स्वर भरे पनि यो गीतका मुख्य कम्पोजर ब्यान्डका लिड गितारिष्ट मनोज कुमार केसी हुन् । कुरा सन् १९९७–१९९८ तिरको हो । ब्यान्डले आफ्नो एल्बम ‘सम्झी बस्छु’ को तयारी गरिरहेको थियो । एल्बमका लागि एक दुईवटा गीतको कमी भइरहेको थियो । सायद यही कमीको स्थितीलाई मनोजले मौका ठाने । आफूले कम्पोज गरेको गीतलाई ब्यान्डसमक्ष पेश गर्ने सुनौलो मौका । त्यसैले फिरोजलाई भने, ‘दाइ मैले पनि एउटा गीतको ट्युनिङ कम्पोज गरेको छु ।’ फिरोजले तत्काल भने, ‘सुनौँ न त ।’

मनोज खासमा गितार बजाउन पोख्त । यसअघि कुनै गीत कम्पोज गरेका थिएनन् त्यसैले सायद अप्ठेरो लाग्यो । लजाउँदै गितार बजाएर ‘परेलीमा लुकाइराख न अँगालोमा बाँधिराख न’ गाए । गीत सुनेपछि फिरोज मन्त्रमुग्ध । उनलाई गीत असाध्यै मनपर्‍यो ।

उनले भने, ‘मलाई गीत एकदमै मिठो लाग्यो । यसमा एक्स्ट्रा मेलोडी थियो, सरल, सबैको मुखमा झुण्डिने खालको ।’ त्यसैले तत्काल मनोजलाई भने, ‘लेट्स डु इट’’ । गीत पूर्ण नभएकोले ‘लेट्स कम्प्लिट दिस सङ्ग’ भनेर केही इल्याबोरेटेड पार्टहरु अलिअलि उनले सच्याइदिए ।

गीतबारे छलफल भयो । पूर्ण रुपमा एकोस्टिक अनप्लग्ड भर्सनमा गर्ने निर्णय भयो । उनले भने, ‘म र मनोज दुईजना बसेर दुईवटा गितार माइकिङ गर्‍यौँ, सेकरको पार्टहरु एड्रियन र सञ्जयले गरेका हुन् । गीतको भोइसिङ सेक्सन, हार्मोनाइजेसनहरु सबै एड्रियनले नै गरेका हुन् ।’


गीतको सबै कम्पोजिसन मनोजले गरेकोले फिरोज यसको विशेष क्रेडिट मनोजलाई दिन्छन् र थप्छन्, ‘गीतको क्रेडिट पक्कै पनि पूरा १९७४ एडी ब्यान्डलाई पनि जान्छ ।’

सोलो पार्टः

सोलो पार्टमा के चाँही गर्ने भनेर ब्यान्डका सदस्यबीच छलफल भयो । उनीहरुलाई एउटै खालको कर्ड राखेर गीत मोनोटोनस बनाउन मन थिएन । धेरै कर्डहरु राखेर ‘झ्याङ्झ्याङ झुङ्झुङ’ बनाउन पनि चाहँदैनथे । उनले भने, ‘गीत सरल बनाउने योजना अनुरुप  एउटै कर्डजस्तो सुनिने तीनवटा कर्ड राख्ने निश्चित गर्‍यौं । यी तीन कर्ड परिवर्तन भएता पनि त्यहाँनिर ‘बी’ र ‘ई’ को नोट हरदम आइरहेको छ । यो ‘इ’ नोटको रुपमा काउन्ट भयो । यही तीनवटा कर्डमाथि एकोस्टिक गितारमा मनोजले यो मेलोडी क्रिएट गरेका हुन् ।’

किन यति धेरै चर्चित भएको होला ?

परेलीमा गीतको खुबीका कारण फिरोजलाई यो गीत चर्चित भएको जस्तो लाग्छ । कस्तो खुबी ? उनी भन्छन्, ‘यो गीत एकदमै सरल छ । मिठो मेलोडी, सिम्पल । भोइसलाई ट्वीस्ट गरेको पनि छैन । धेरै हाई नोटमा पनि छैन, लो नोटमा पनि छैन ।’

उनी थप्छन्, ‘अर्को कुरा के हो भने भर्खरै गितार सिकिरहेका भाइ बहिनीहरुले उहाँहरुका लागि सजिलो पार्ट छ जस्तै ‘ई’, ‘एफ सार्प माइनर’, ‘ए’ जस्ता निकै सजिला कर्ड छन् । त्यसैकारण पनि यो गीत अलि चर्चित भयो ।’

उनलाई यो गीत राइम्स जस्तै लाग्छ । उनी भन्छन्, ‘यो गीत राइमिक टाइप अर्थात् मुखमा झुण्डिने खालको भएर पनि होला यो अलि चर्चित भयो ।’

सृजनाको सरुवाती अवस्थामा नै गीत चर्चित हुने लख ब्यान्डले काटिसकेको थियो ।


एउटा यस्तो गीत, जुन नगाई सुखै छैनः

यदि कसैले आफूलाई संगीतको पारखी ठान्छिन् भने उनले आफ्नो जीवनकालमा यो गीत पक्कै सुनेकी छिन्, गुन्गुनाएकी छिन् र आफ्नै लागि रचिएको होला भनेर सोचेकी छिन् । त्यसैले त यो गीत विगतमा चर्चित रह्यो, अहिले पनि छ र भविष्यमा पनि रहिरहनेछ । र त जुनसुकै कन्सर्ट वा कार्यक्रममा जाँदा यो गीत नगाई सुखै छैन । उनले भने, ‘काठमाडौंमै पनि बारहरु तिर जाँदा, संसारै भरी जहाँ नेपाली संगीतकर्मीहरुले प्रस्तुती दिइरहेका हुन्छन्, ‘परेलीमा...’ गीत नगाएको ठाउँ नै छैन । नेपालमै पनि परेलीमा गीत नगाएको ठाउँ नै छैन ।’

विदेशतिर कार्यक्रम हुँदा केही प्रशंसकलाई स्टेजमा बोलाएर गीत गाउन लगाउँदा अत्यधिक खुसी भएर आँसु झारेका क्षणमा फिरोजलाई गर्व लाग्छ ।  उनले भने, ‘विशेषगरी विदेशमा जाँदा जुन इमोशन हुन्छ, घर छोडेको, दाजुभाइ आफन्त, आमाबुवा, दिदीबहिनी छोडेको, त्यो इमोशनले उनीहरु स्टेजमा रुने गर्छन् । त्यो रोएको क्षण मिठो त नभनौँ तर त्यतिबेला हामीलाई चाँही गर्व लाग्छ । भावनात्मक रुपमा मिठो लाग्छ ।’

अरुको कभर सुन्दा...

उनले यो गीतको थुप्रै कभर सुनेका छन्, रेष्टुरेन्ट, कार्यक्रमतिर लाइभ पनि सुनेका छन् । कतिजनाले त आफूले भन्दा पनि राम्रो गाएको उनलाई लाग्छ । उनले भने, ‘यो गीत कतिले त धेरै नै राम्रो गाउनुभएको छ । मेरो टाइप बेग्लै छ । मैले जतिसक्दो कोसिस गरेको छु । तर कतिजनाले छुट्टै प्रकारले पर्फम गर्दा मलाई ‘आहा ! यो ठाउँमा यसो गरेको भए हुन्थ्यो’ भनेर फिल पनि हुन्छ । उहाँहरुले त्यो गरेको देख्दा अलिकति गर्व पनि लाग्छ ।’

अन्त्यमा झम्सिखेलस्थित मोक्षमा रहेको आफ्नो अभ्यास कक्षमा उनले उक्त गीत गाएर कुराकानीलाई बिट मारे...

‘परेलीमा लुकाइराख न, अँगालोमा बाँधिराख...

जान नदेउ रोक न रोक उड्न न देउ आकाशको चरी जस्तै मलाई

बाँधेर राख तिम्रै मुटुमा यो त तिम्रै धड्कन हो, साँचेर राख तिम्र्रै आँखामा यो त तिम्रो साहारा हो...’

तस्विर भिडियो : कृष्ण खड्का

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता कार्की
सरिता कार्की

सरिता कार्की रातोपाटीकी डेस्क सम्पादक हुन् ।

लेखकबाट थप