बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

महराविरुद्वको आरोपपत्र : घटनास्थलको चस्मा र हाल महराले लगाइरहेको चस्माको पावर मिल्यो

पीडक र पीडित दुवैले मोबाइल सेट दिन इन्कार
बिहीबार, १४ कात्तिक २०७६, १७ : ३४
बिहीबार, १४ कात्तिक २०७६

काठमाडौँ । जबरजस्तीकरणी प्रयासको आरोप लागेको निर्वतमान सभामुख कृष्णबहादुर महरामाथि ३६ पृष्ठको आरोपपत्र दायर भएको छ । सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा बिहीबार उक्त आरोपपत्र दायर गरेको हो । 

आरोपपत्रमा ५ जना सुरक्षाकर्मीसहित संसद सचिवालयमा कार्यरत रोशनी शाहीको कोठामा महरा आफैले ‘रक्सीको बोत्तल’ बोकेर पुगेको उल्लेख गरिएको छ । 

‘राज्यको उच्च ओहोदामा पुगेका महराले कुनै हेक्का नराखी राज्य र आमनागरिक समेतका हकमा पर्ने असर समेतलाई ख्याल नगरी सोको संवेदनशीलताप्रति वेवास्ता गरी, केही सुरक्षाकर्मी मात्र लिई साँझ मादक पदार्थ सेवन गरी, साथमा रक्सी रहेको बोत्तल आफ्नो साथमा लिई, पीडित एक्लै रहेको निजको डेरामा गई निजलाई जबरजस्ती मादक पदार्थ सेवन गर्न कर लगाई गराई अनुचित प्रभावमा पारी पीडितलाई जबरजस्तीकरणी गर्न खोजेको’ आरोपपत्रमा उल्लेख गरिएको छ । 

दुई नेपाल प्रहरीका असई, एक जना नेपाली सेनाका जमदार, एक प्रहरी हवल्दार र एक सशस्त्र जवानसहित महरा रोशनीको तीनकुनेस्थित सुविधानगर कोठामा पुगेको आरोपपत्रमा उल्लेख छ । 

आरोपपत्रमा शाहीकी घरबेटीले बयान दिन इन्कार गरेको बताइएको छ । त्यस्तै पीडक र पीडित दुवैले मोबाइल सेट दिन इन्कार गरेको समेत उल्लेख छ । 

प्रहरी समक्ष आरोपित महराले रिसको झोकमा आफूले मोबाइल फुटाइदिएको बताएका छन् । यद्यपी आरोपितको हकमा मोबाइल सेट जफत गर्न सकिने कानुनी व्यवस्था छ । 

प्रहरीको बयानमा घटनास्थल नजिक पुगेको स्वीकार गरेपनि कोठामै भने नगएको बताएका छन् । घटनास्थलबाट प्रहरीले बरामद गरेको चस्मा र हाल महराले लगाइरहेको चस्माको पावर मिलेको छ । 

चस्माको पावर आरोपपत्रमा प्लस २.७५ भएको डी विस्फोकल रहेको उल्लेख छ । 

प्रहरीले मरहाको डीएनए परीक्षणको लागि अस्पताललाई पत्र पठाएपनि अस्पतालले स्याम्पल नपठाएको आरोपपत्रमा उल्लवेख गरिएको छ । बिहीबार आरोपपत्र दर्तापछि अरोपितको बयान भोलि (शुक्रबार) मात्रै हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप