शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

किन बढ्दैछ युवामा निराशा ?

बिहीबार, ०१ भदौ २०७४, १२ : ३५
बिहीबार, ०१ भदौ २०७४


‘गरिबी उन्मुलनमा युवा प्रतिबद्धताः उत्पादन र उपभोगमा आत्मनिर्भरता’ भन्ने नाराका साथ सरकारले गत अगस्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ । विश्व शान्ति र सुरक्षाका लागि युवाहरुको मुद्दाप्रति हरेक देशका सरकारलाई ध्यानाकर्षण गर्ने, गराउने उद्देश्यका साथ संयुक्त राष्ट्र सङ्घले सन् २००० बाट अगस्ट १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसका रुपमा मनाउन थालेको हो । अन्तर्राष्ट्रिय युवा दिवसकै अवसरमा विश्वव्यापी रुपमा युवाकेन्द्रीय सेमिनार, कन्सर्ट, सांस्कृतिक तथा अन्तक्र्रियात्मक कार्यक्रमहरु हुने गरेका छन् । यस वर्ष संयुक्त राष्ट्र सङ्घले ‘शान्ति स्थापनाका लागि युवा’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनायो भने नेपालमा गत वर्षको गरिबी उन्मुलनको नारालाई नै यस वर्ष पनि निरन्तरता दिइयो ।  

सरकारले गएको सालको अन्त्यतिर मात्रै समृद्ध राष्ट्र निर्माणका लागि युवा उद्यमशीलता विकास गर्ने मुख्य उद्देश्य राखेर राष्ट्रिय युवा परिषद् गठन गरेको छ । यसपाली युवा परिषद्कै अगुवाइमा युवा दिवस मनाइयो । विगत केही वर्षदेखि नेपालमा पनि सुरु भएको अन्तर्राष्ट्रिय युवा दिवस मनाउने तरिका भने उही पारम्परिक खालकै छ । दुई चार थान युवाकेन्द्रित नारा, जुलुस, र्याली अनि केही औपचारिक भाषणबाजी तथा शुभकामना सन्देश अनि आफू निकटका केही व्यक्तिलाई सम्मान नै दिवसका मुख्य झाँकीहरु हुन् । अनि साँझ डिनर पार्टी र भोलिपल्टबाट उही पुरानै निरन्तरता । यसपालि पनि त्यही झाँकीका साथ युवा दिवस मनाइयो । हो, यो देशमा मनाइने सबैजसो दिवस र पर्वहरुको अवस्था यही हो र यसपालिको युवा दिवस पनि भिन्न रहेन, देखिएन ।

राज्यले युवालाई लक्षित गर्दै तयार गरेको युवा नीति र त्यसलाई लागू गर्न बनेको राष्ट्रिय युवा परिषद्ले केही औपचारिक कार्यक्रम तथा गोष्ठी आयोजना गर्नेबाहेक अहिले बेरोजगारी र विसङ्गतिका कारण आक्रान्त बन्दै गएको युवापुस्तालाई सामाजिक जागरण तथा सचेतना दिलाउने सवालमा कुनै लक्षित कार्यक्रम गरेको सुनिएको छैन । जे जति गतिविधि भएका छन् ती सबै मूलतः औपचारिक अनि गैरसरकारी संस्थास्तरका गतिविधि सञ्चालित भएका छन् । अनि परिषद्मा पनि राजनीतिक नियुक्तिका आधारमा अमूक पार्टीका केही युवा कार्यकर्ताको भरणपोषण हुने गरी जागिर बाँड्नेबाहेक युवा सशक्तीकरण र युवालाई वर्तमानको विकल्पका रुपमा बुझ्ने र प्रस्तुत गर्नेतिर बहस सुरु नै हुन सकेको छैन । यद्यपि युवाका लागि काम गर्ने भनेर छुट्टै संवैधानिक निकाय बन्नुलाई पनि आफैंमा उपलब्धि नै ठान्नुपर्ला ।

युवा दिवसकै अवसरमा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलका अनुसार– ‘मुलुकको हरेक राजनीतिक परिवर्तनमा युवाको योगदान ऐतिहासिक रहे पनि यो शक्तिलाई सपना देखाउन योग्य बनाउन नसक्नुमा हाम्रो परम्परागत राजनीतिक सोच र चिन्तनले काम गर्यो । राजनीतिक अस्थिरता, अव्यावहारिक र अवैज्ञानिक शिक्षा जस्ता पक्ष पनि यसमा जोडिएर आए ।’ निश्चित रुपमा यो देशको अहिलेसम्मको राजनीतिक आन्दोलनको परिदृश्य हेर्ने हो भने युवाको सक्रिय सहभागिताले नै राजनीतिक सङ्घर्षका कार्यक्रमहरु निर्णायक भएका छन् । २००७ सालको क्रान्तिदेखि २०३६ सालको विद्यार्थी आन्दोलन हुँदै ०४६ सालको जनआन्दोलन, माओवादी जनयुद्धदेखि ०६३ सालको जनविद्रोहलगायत मधेस–थरुहट–जनजाति आन्दोलन सबैमा युवाले निर्णायक भूमिका निर्वाह गरेका छन् ।

जब राजनीतिक सङ्घर्षमार्फत मुलुकमा रुपान्तरणको प्रक्रिया सुरु हुन्छ र नयाँ संरचना निर्माणको प्रश्न आउँछ, त्यहाँनेर भने युवाहरुको अर्थपूर्ण सहभागितालाई अस्वीकार गरिन्छ । अनि व्यक्तिको अनुभव नै प्रमुख बनेर आइदिन्छ । युवाहरुले काम गर्ने त्यस प्रकारका प्लेटफर्म पाउँदैनन् । राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा युवाहरुले काम गर्ने अवसर पाइरहेका छैनन् । उनीहरुले आफ्नो क्षमता प्रदर्शन गर्ने स्थान पाएका छैनन् । परिणामतः मुलुकको अर्थराजनीतिक रुपान्तरणको सन्दर्भमा युवा सहभागिता केवल औपचारिक भाषणबाजी र वक्तव्यवाजीमै सीमित देखिन्छ ।

युवा शक्तिको कुरा गर्दा अहिले हामी असाध्यै धनात्मक विन्दुमा छौँ । अहिलेको जनसङ्ख्याको बनावट अनुसार अहिले प्रत्येक घरमा दुई या तीन जना युवा जनशक्ति छ, जसको जन्मान्तर ५ देखि ७ वर्ष मात्र छ । अनि औपचारिक रुपमा नेपालको राष्ट्रिय युवा नीतिले परिभाषा गरेअनुसारको युवा उमेर (१६ देखि ४० वर्ष) समूहको जनसङ्ख्या ४० प्रतिशतभन्दा बढी छ । यसर्थ अहिले हामी युवाशक्ति अधिकतम् बचतको अवस्थामा छौँ । तर, आगामी तीन दशकमा यो जनसाङ्ख्या अनुपात निकै कम हुने देखिन्छ । किनकि अबको परिवारको आकार निकै सानो भइसकेको छ । यसर्थ, युवा शक्ति जसलाई अझै पनि हाम्रो समाजमा भविष्यको कर्णधारकै रुपमा हेर्ने गरिन्छ, यो शक्तिलाई वर्तमानका साझेदार अनि भविष्य निर्माणका आधारको रुपमा परिभाषित गरेर यो युवावयलाई राष्ट्र निर्माणमा लगाउनुपर्ने आवश्यकता हो । यहीँनेर राज्य चुकेको छ । 

अहिले करिब ६५ लाख नेपाली युवा कामको खोजीमा विदेशिएका छन् । यसरी विदेशिएको जनशक्ति साँच्चिकै काम गर्ने उमेर समूहको शक्ति हो । यसो कल्पना गरौँ ६५ लाख श्रमशक्ति विदेशिएको नेपाल जस्तो सानो मुलुकको आर्थिक समृद्धिको सपना कसरी पूरा होला ? अलिकति अतीतमुखी भएर हेर्दा इतिहासमा युवाहरुलाई राजनीतिक दलहरुले उपयोग मात्रै गरेको देखिन्छ । विभिन्न राजनीतिक दलनिकट युवाहरुको आवाज पनि त्यही छ । 

एक टेलिभिजन बहसमा युवा नेताहरुले अब युवा आन्दोलनको एजेन्डा परिवर्तन हुनुपर्ने मत राखेका थिए । तर युवाले देशको राजनीतिक रुपान्तरणमा जसरी महत्वपूर्ण योगदान गरेको थियो, अब देशको विकास र समृद्धिमा त्यस्तै योगदान गर्न रचनात्मक रुपले आफूलाई नयाँ विकल्पको रुपमा एक्पोज गर्न सकेको छैन किन ? एकथरी युवाहरु राजनीतिलाई फोहोरी खेल भन्दै निराशा र कुण्ठा पालेर बसेका छन् भने अर्काथरी राजनीतिक रुपले सचेत युवाहरु पनि पार्टीभित्र राजनीतिक बार्गेनिङमै समय बिताइरहेका छन् । के युवा आफैंले रचनात्मक भएर विकल्प बन्नुपर्ने अवस्था होइन यो ? के यहाँका राजनीतिक पार्टीका युवा सङ्गठनहरुले आफूलाई अबको विकल्पको रुपमा प्रस्तुत गर्नुपर्दैन ? 

हिजोको इतिहासमा बन्द, हड्ताल, सभा, जुलुसको समयमा युवा विद्यार्थीहरुलाई सडकमा उतार्ने काम मात्रै भयो । तर, युवालाई केन्द्रीय राजनीतिमा भूमिका कहिल्यै दिइएन । के अब पनि राजनीतिमा युवाको भूमिका त्यही हो ? अनि युवाले जहिल्यै पनि प्रौढहरुसँग माग्ने मात्रै हो ? के युवाले अब आफ्नै पहलमा रचनात्मक हस्तक्षेप गर्ने बेला भएन ? किन युवाहरु निराशाको शिकार भइरहेका छन् ? किन मुलुकमा विकल्प देख्दैनन् ? किन सम्भावना देख्दैनन् ? किन विदेशतिरै आकर्षित भइरेका छन् ? युवा दिवस मनाउँदै गर्दा अनि समाज परिवर्तनमा युवाहरुको सक्रिय भूमिकाको आवश्यकता खोज्दै गर्दा यी र यस्ता प्रश्नहरुको उत्तर पनि खाजिनु जरुरी छ । हो, अहिले यो मुलुकमा युवाको अपेक्षा र वर्तमान आवश्यकताबीच जटिल प्रकारको अन्तरविरोध पैदा भइरहेको छ । यदि साँच्चिकै हामीले सोचेजस्तो नयाँ र समृद्ध नेपालको परिकल्पना गर्ने हो भने युवा सक्रियता र परिचालनको सन्दर्भमा विद्यमान विरोधाभासको अन्त्य अनिवार्य छ । 

निश्चित रुपमा यदि मुलुकको विकास र समृद्धि चाहने हो भने सबैभन्दा पहिले जोश, जाँगर भएको अनि हरेक काममा सक्रियतापूर्वक खट्नसक्ने त्यो युवा शक्तिलाई विदेशिनबाट रोक्नसक्नुपर्छ । उनीहरुलाई रोक्ने एउटै मात्र उपाय भनेको मुलुकभित्रै व्यापक मात्रामा रोजगारीका अवसरहरुको सिर्जना गर्ने हो । यसको पहलकदमी राज्यबाटै हुनु आवश्यक छ । आर्थिक समृद्धिका लागि निकै ठूला भाषणबाजी र गोष्ठी हुन्छन् तर ससानो रुपबाट समेत आर्थिक समृद्धिका लागि कुनै कार्य भएको छैन । आखिर गफै बेचेर खानेहरुको जमात बढिरहेको छ, देशमा । गाउँहरु युवाविहीन बन्दै गएका छन् । यसरी जुनसुकै तह र तप्काका मानिस भए पनि उनीहरुलाई विदेशिनु बाध्यता बन्न पुगेको छ । विदेशिनु कसैको रहर होला तर धेरै नेपाली युवाको बाध्यता बनेको छ । अब त्यो बाध्यता किन र कसरी सिर्जना भयो ? प्रश्नको उत्तर खोज्नुपर्छ । 

हो, वैदेशिक रोजगारीमा जाने नेपालीहरुले विदेशमा दुःखजिलो गरेर कमाएको पैसाले नेपालमा बसोबास गर्ने आफन्तजनको दैनन्दिनीको आवश्यकता पूरा भएको त छ नै साथसाथै मुलुकको आर्थिक प्रणालीलाई पनि टेवा पुगेको छ । कम्तीमा पनि गाउँघरको चुलोचौकामा मीठो मसिनो पाकेको छ । नानीहरुले राम्रा लुगा लगाउन पाएका छन् र औषधिमूलो पनि भएको छ । तर, त्यसैको आधारमा यसलाई सकारात्मक मान्न सकिँदैन । किनकि रेमिट्यान्सको कुप्रभाव समाजमा यत्रतत्र देखिन थालिसकेको छ । यसले डरलाग्दो गरी पारिवारिक र सामाजिक विघटनको अवस्थामा पु¥याएको छ । अनि यसले नयाँ परजीवी तप्काको निर्माण गरिरहेको छ । 

हामीले सोचेको विकास र समृद्धि हासिल गर्न अहिले दुबई, कतार या कुनै खाडी मुलुकले नेपालबाट सस्तो श्रम शक्ति भित्र्याएर निर्माण गरेजस्तो हामीले गर्न सक्नेछैनौँ । त्यसैले सबैभन्दा पहिले हिनताबोधले ग्रसित भएर विदेशिन म्यानपावर कम्पनीहरुमा पासपोर्ट बुझाएर पालो कुरेर बस्ने युवा जमातलाई रोक्न सक्नुपर्छ, त्यसपछि पहिले नै विदेशिएका युवाहरुलाई स्वदेशमै पर्याप्त अवसर सिर्जना गरी फिर्ता ल्याउन सक्नुपर्छ । त्यसो भयो भने हामीले सोचेको विकास र समृद्धि हासिल हुनसक्छ । 

देशको युवा शक्तिलाई विकास र समृद्धिका लागि परिचालन गर्ने सवालमा राज्यले पनि स्पष्ट नीतिगत व्यवस्थासहितका ठोस कार्यक्रम ल्याउनु जरुरी छ भने आम युवापङ्क्तिले पनि अब देशको समग्र आर्थिक, राजनीतिक, सामाजिक एवं सांस्कृतिक रुपान्तरणमा रचनात्मक हस्तक्षेपकारी भूमिका निर्वाहका लागि पहलकदमी लिनुपर्छ । सामाजिक रुपमा सक्रिय युवाहरुले पनि हाम्रो आफ्नो मौलिक आवश्यकता अनुसारको नीति तथा कार्यक्रम बनाएर अघि बढ्नुपर्छ, नकि दाताले पे्रस्क्राइब गरेको फम्र्याटमा खाली ठाउँ भरेर विदेशी अनुदानकै अपेक्षा गर्ने । अनि राजनीतिक रुपमा सक्रिय युवापुस्ताले पनि समग्र राजनीतिक सुधारका लागि पहल लिनुपर्छ, केवल आफ्नो व्यक्तिगत र समूहगत स्वार्थका लागि नेतृत्वसँग बार्गेनिङमै केन्द्रित हुने होइन । यसो भयो भने कम्तीमा युवामा बढ्दै गएको असन्तुष्टि कम हुन्छ र युवा शक्ति रचनात्मक बन्न सक्छ । 

[email protected] 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनिकर कार्की निवर्तमान
मनिकर कार्की निवर्तमान

Twitter : @nibartaman

[email protected]

लेखकबाट थप