बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

१६ वर्ष नेपाल बसेका चिनियाँ नागरिक ह्वाङको पहिलो भाइटीका अनुभव

‘ढाका टोपी लगाएर टीका–माला लगाउँदा ठ्याक्कै नेपाली देखिएँ’ (भिडियो)
बुधबार, १३ कात्तिक २०७६, १५ : २४
बुधबार, १३ कात्तिक २०७६

चीनको हेनान प्रान्तमा घर भएका चिनियाँ नागरिक ह्वाङ अर्दोङ नेपाल बसेको १६ वर्ष भयो । बितेका १५ वर्ष नेपाल बस्दा उनलाई कसैले पनि तिहारमा टीका लगाउन न त निम्ता दिए न उनले नै टीका लगाउने सोच बनाए ।

तर यस पटक भने एकजना दिदीले ३ दिनअघि उनलाई फोन गरेर घरको ठेगाना दिइन् । तिहारको टीकाको दिन अर्दोङ आफ्ना दुई छोराछोरीका साथ दिदीको घर पुगे । ती दिदी थिइन्, राधिका सिलवाल जोसँग सिंहदरबारमा तीन चार वर्षअघि चिनजान भएको थियो । एक दिन भेट भए पनि त्यसपछि भेट भएको थिएन ।

टीकाको दिन पनि बिहान साढे ११ बजे घरमा आउन भनेकी थिइन् । त्यहाँ उनका आफ्ना भाइ, अरू दिदीबिहिनी र छोराछोरी पनि थिए ।

ह्वाङले ती दिदीको अनुहार पनि बिर्सिसकेका थिए । उनको घर पुगेपछि मात्र उनलाई पहिले भेटेको सम्झना भयो ।

दिउँसोको न्यानो घाम लागिरहेको थियो । दिदीको घरको कौसीमा दिदीका आफन्तहरुसँगै अर्दोङ पनि टीका लगाउन तयार भए ।  ती दिदीले उनलाई चिल्लो लगाइदिइन् । निधारमा सप्तरङ्गी टीका लगाइदिइन् अनि मीठामीठा परिकार, सेलरोटी, फलफूल र सर्ट उपहार दिइन् । ह्वाङले पनि स्याउ, नास्पाती लगायतका फलफल र केही पैसा दिदीलाई उपहार दिए ।

उनले मात्र हैन उनका एक छोरा र छोरीले पनि एकआपसमा भाइटीका लगाए । उनीहरुको पनि यो पहिलो अनुभव थियो । १२ वर्षकी दिदी स्या ह्वाङले ७ वर्षका भाइ ह्वाङ जी स्वाङलाई भाइटीका लगाइदिइन् । स्वाङले पनि दिदीलाई टीका लगाएर उपहार दिए । भाइटीका लगाएपछि उनीहरु निक्कै खुसी भएको अर्दोङले बताए ।

यी दिदीभाइले टीका मात्र लगाएनन् लक्ष्मीपूजाको दिन नेपाली गीतमा नाच्दै देउसीभैलो समेत खेलेका थिए ।

उनले अघिल्ला वर्षमा दसैँमा नेपाली साथीको घरमा टीका लगाउन भने जाने गरेका थिए ।

‘पहिलो पटक तिहारमा टीका लगाउँदा धेरै खुसी लाग्यो । तेल लगाएर मसाज गर्ने, सातवटा रङ्गको टीका लगाउने, माला लगाउने, उपहार दिने एकदमै खुसी लाग्यो । मेरो छोराछोरी पनि मसँगै गएका थिए, उनीहरुलाई पनि एकदमै खुसी लाग्यो ।’

उपहारमा पाएको सेलरोटी पनि उनलाई मीठो लाग्यो ।

अर्को वर्ष निम्ता आए फेरि पनि तिहारको टीका लगाउने उनले बताए ।

अर्दोङका चीनको घरमा आफ्नै दिदीबिहिनी त छैनन् तर फुपूकी छोरी भने छिन् । तर नेपालमा जस्तो दिदीभाइ दाजुबहिनी भेटघाट गर्ने संस्कृति भने नभएको उनले सुनाए । उनलाई नेपालको यस्तो चाड देखेर धेरै खुसी लागेको बताए ।

परिवार आफन्तलाई नजिक बनाउने, सँगै बस्ने, गफ गर्ने भएकाले यो चाड आफूलाई निकै मन परेको उनले सुनाए ।

अर्दोङको रेस्टुरेन्टको ढोकाछेउ एउटा टाटेपाङ्ग्रे कुकुर बाँधिएको थियो । तिहार सकिएको भोलिपल्ट पनि उसको निधार रातै थियो । 

उनले कागतिहारदेखि नै तिहार मनाउन सुरु गरेका थिए । पहिलो दिन काग पूजा गरे भने दोस्रो दिन आफ्नो कुकुर लक्कीलाई पूजा गरेका थिए ।

यस्तै उनले दीपावली गरेर लक्ष्मी पूजा पनि गरे । लक्ष्मी पूजाको दिन उनका छोराछोरीले नेपाली साथीहरुसँग मिलेर देउसीभैलो पनि खेले ।

तिहारका बेला कुकुर पूजा, लक्ष्मी पूजा भने पहिलेदेखि नै गर्दै आएको उनले सुनाए । सुरुमा नेपाल आएका बेला उनलाई नेपाली चाडपर्वबारे केही पनि थाहा थिएन । तर बिस्तारै बिस्तारै उनले नेपालको संस्कृति र परम्परा सिक्दै बुझ्दै गए । अहिले उनी नेपालका ठूला चाडपर्व रमाइलो गरी मनाउन थालेका छन् ।

मङ्गलबार भाइटीका लगाएर उनी आफ्नो रेस्टुरेन्ट फर्किए । उनकोमा एकजना चिनियाँ अतिथि आएका थिए । ती अतिथिले अर्दोङले तिहारको टीकामाला लगाएको देखेर अनौठो माने र खुसी व्यक्त गरे ।

तिहारको टीकाको दिन उनले ढाका टोपी पनि लगाएका थिए । उनले खुसी व्यक्त गर्दै भने– ‘ढाका टोपी लगाएर टीका माला लगाउँदा ठ्याक्कै नेपाली देखिएँ ।’

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप