केन्द्रीय संस्करण
समाचार

यसरी जन्मियो जीवनकै आशा गुमाएकी सविताको ‘होप क्याफे’

भारतमा ८ वर्ष बन्धक जीवन बिताएकी सविताको नयाँ जीवन

person explore access_timeकात्तिक १३, २०७६ chat_bubble_outline0
मदन ढुङ्गाना

रातोपाटी

भरतपुरको हाकिमचोक भन्दा केही तल रिजाल चोक छ । रिजाल चोकबाट करिब २ सय मिटर अगाडि पुगेपछि बायाँतर्फ एउटा सानो क्याफे देखिन्छ, होप क्याफे ।

गुलाबी रङ पोतिएको एउटा सानो क्याफेभित्र एक युवती र अर्की किशोरी मःम बनाउनमा व्यस्त थिए ।

रातोपाटीको टोली क्याफेमा पुग्दा रातो कुर्ता र कालो सलवारमा रहेकी एक युवती बाहिर निस्किइन् । उनी थिइन्, होप क्याफेको सञ्चालिका सविता शर्मा (नाम परिवर्तन) ।

हामीलाई देख्ने बित्तिकै हल्का मुस्कुराएर उनी बाहिर निस्किइन्, मानौँ पहिले नै चिनेजानेको व्यक्तिजस्तो ।

सुरुमै उनले के खानुहुन्छ भन्दै अर्डर लिन आइन् ।

हामीले मःमः खाने भनेपछि उनी फेरि भित्र गइन् ।

अनि भित्र रहेकी अर्की किशोरीसँग मिलेर आँटामा किमा भरेर मःमः बनाउन थालिन् ।

केही समयमा मःमः तयार भयो । मःमः लिएर सविता बाहिर आइन् ।

हामीले उनलाई सोध्यौँ, क्याफेको नाम त गज्जब राख्नुभएछ । नामको केही थप अर्थ छ कि ? उनी केही लजाएजस्तो गरिन् । उनले ‘नाममा के छ ?’ र भन्दै खास अर्थ नभएको बताइन् ।

सविताले ‘नाममा के छ र ?’ भने पनि होप क्याफेको नाममा केही अर्थ रहेको हामीले पहिले नै थाहा पाइसकेका थियौँ ।

त्यसकारण हामी खाजा खाने बाहाना बनाएर ‘होप क्याफे’मा पुगेका थियौँ ।

उनी त्यही युवती थिइन्, जो ८ वर्षसम्म भारतको नयाँ दिल्लीमा बन्धकजस्तै जीवन बिताइएकी थिइन् ।

उनी जुन घरमा ८ वर्ष बसिन्, त्यो अवधिमा सुरुको पहिलो महिना घरमा एकपटक फोन गर्न पाइन्, त्यसपछि उनले कहिल्यै परिवारका अन्य सदस्यलाई सम्पर्क गर्नसमेत पाइनन् । न त आफूलाई दिल्ली ल्याइ पुराउने व्यक्तिलाई भेट्न नै पाइन् ।

८ वर्षसम्म दिल्लीको एक घरमा घरेलु कामदार रहेकी सविता डेढ वर्ष अगाडिमात्रै नेपाल आइपुगेकी थिइन् । ६ महिना ‘सेफ होम’ मा बसेपछि अनिमात्रै सविता आफ्नो व्यवसायिक जीवनमा अगाडि बसेकी हुन् । अहिले सविताले कुक तथा फास्ट फुडसम्बन्धी तालिम लिएर क्याफे सञ्चालन सुरु गरेकी छिन् ।

 दिल्ली यात्रा

सविताको खास घर उदयपुर हो । उदयपुरको एक गाउँमा जन्मिएकी सविताको परिवारमा २ दिदी, दुई बहिनी, दुई भाइ र आफू तथा आमा र बुवा गरी ९ जना सदस्य थिए । बुवा र आमा खेती किसानी गर्थे । यद्यपि उनीहरुलाई खान र सामान्य लगाउन भने पुगेकै थियो ।

२ कक्षामात्रै पढेकी सविता उमेरले १८ वर्ष लागेकी थिइन् । घरमा पनि आमा बुवालाई सघाउने बाहेक अरु केही काम थिएन । उनको दैनिकी घरमै बित्ने गरेको थियो ।

सविताको गाउँबाट धेरै मानिसहरु रोजगारीका लागि भारत जाने गरेका थिए । उनीहरुमध्ये धेरैजसो नयाँ र पुरानो दिल्लीमा जाने गरेका थिए । सविताको गाउँबाट पुरुषमात्रै होइन, महिला र किशोरीहरु पनि कामका लागि भन्दै दिल्ली जाने गरेका थिए । उताबाट फर्कँदा उनीहरुले राम्रो कपडा लगाएर आउँथे भने केही नगद पनि लिएर आउँथे ।

सविताकै गाउँमा कुमार भन्ने व्यक्ति थिए, जो दिल्ली जाने र आउने गरिरहन्थे । गाउँमा कुमारको रवाफ नै अर्कै थियो । राम्रो कपडा, गोजीभरि पैसा । उनको रहनसहनले सबैलाई भारत जान लोभ्याउँथ्यो ।

सवितालाई पनि काम गरेर केही आम्दानी गर्ने मन थियो । उनले तिनै कुमार अंकललाई आफू पनि दिल्ली जाने कुरा बताइन् ।

कुमारले दिल्लीमा राम्रो काम पाउने भन्दै सन् २००९ मा सवितालाई लिएर दिल्ली पुगे ।

कुमारले सवितालाई सुरुमा एक बेबी केयर सेन्टरमा काममा लगाइदिए ।

सविताले त्यहाँ एक महिना त्यहाँ काम गरिन् । तर एक महिनापछि सविता बिरामी परिन् । करिब एक महिनासमम सविता बिरामी परेपछि उनले जागिर पनि छाडिदिइन् ।

जागिर छाडेपछि सविता करिब ३ महिना रोजगारविहीन भइन् । यद्यपि सविताको लागि अर्को कामको खोजी जारी नै रह्यो । सन् २०१० को मार्चमा एक घरमा हाउसमेडका रुपमा काम गर्ने अवसर मिल्यो । उनलाई त्यतिबेला घरमा काम गरेवापत् मासिक ३ हजार ५ सय भारतीय रुपैयाँ दिइने सहमति भयो । उनलाई खान तथा बस्नको बन्दोबस्तसमेत त्यही घरमा गरिने भयो ।

दिल्लीको मयुर बिहार कोलोनीमा सविताले काम गर्न थालिन् । सुरुको समय सविताले एक दुई पटक घरमा फोनसमेत गरिन् । काम राम्रो भएको र सजिलो भएको जानकारी परिवारलाई दिइन् ।

तर दोस्रो महिनादेखि सविताले परिवारसँग सम्पर्क गर्न पनि पाइनन् । घरधनी मधुले सवितालाई मोबाइल बोक्न तथा परिवारसँग सम्पर्क गर्न निषेध गरिदिइन् । सविताले पाउने भनेको तलब पनि मधुले दिइनन् ।

तलब खोइभन्दा बैंक खातामा राखिदिएको छु भन्ने जवाफ मात्र पाउँथिन् । तर कुन खाता हो सवितालाई थाहा थिएन । सुरुमा बैङ्कमा गएर खाता खोल्न खोज्दा भारतीय कागजात नभएको कारण सविताले आफ्नै नाममा बैङ्कमा खाता खोल्न पाएकी थिइनन् । यद्यपि उनकी ‘माल्किन’ले तलब खातामा राखिदिएको छु भन्ने गर्थिन् ।

बुवा आमा तथा अन्य साथीसँग कुराकानी गर्न पनि नपाएपछि सविता एक्लो बनिन् । उनलाई त्यो घर छाडेर गाउँ फर्कन मन लाग्यो । उनले आफू गाउँ जाने कुरा बताइन् । तर सवितालाई गाउँ जान दिइएन । उनले माल्किनसँग धेरैपटक गाउँ पठाइदिन आग्रह गरिन् । तर उनलाई गाउँ फर्किन दिइएन । न त सविताले पाउनुपर्ने तलब नै दिइयो ।

अति भएपछि सविता एकपटक त्यो घर छाडेर भाग्ने कोशिस पनि गरिन् । तरकारी किन्न निस्केको बेलामा उनी त्यहाँबाट भागिन् । तर जाने ठाउँ कहीँ थिएन । अलमलिएको देखेपछि दिल्ली प्रहरीले उनसँग सोधपुछ गर्यो । अनि कुनै घरमा हाउसमेड भएको थाहा पाएप्छि प्रहरीले सवितालाई त्यही घरमा लगेर छाडिदियो ।

प्रहरीले फिर्ता लगिदिएपछि सविताको दुःखको दिन झन् बढ्न थाल्यो । उनलाई राम्रोसँग खाना पनि दिइन छाडियो । समयमै घरको काम नसकाएमा उनले पिटाइ खानुपथ्र्यो ।

अन्जान सहर, गोजीमा पैसा नभएपछि सवितासँग जाने अर्को ठाउँ थिएन, अरु कुनै विकल्प थिएन ।

सविता बस्ने कोलोनी मै एकजना नेपाली सुरक्षा गार्ड राखिएको थियो । उनले ती गार्डलाई आफू घर जान चाहेको तर माल्किनले जान नदिएको कुरा बताइन् । सविताको कुरा सुनेपछि ती गार्डले आफन्त नेपालको कार्यालयमा फोन गरी सविताको अवस्थाबारे बताइदिए । त्यसपछि आफन्त नेपालको दिल्लीस्थित कार्यालयले ३ अप्रिल २०१८ मा दिल्ली प्रहरीसँग मिली सविताको उद्धार गर्यो । र, नेपाल ल्याइयो ।

....

सविताले काम गरेको अवधि अर्थात् ८ वर्षसम्मको तलब पनि भराउने कुरा भयो । दिल्ली प्रहरी, आफन्त नेपाल, पीडित युवती र माल्किनसँगको वार्ताबाट सविताले एकमुष्ठरुपमा ८ लाख ८० हजार नेपाली रुपैयाँ पाउने भइन् । सवितालाई सुरुको ४ वर्ष मासिक ३ हजार ५ सय रुपैयाँको दरले र अर्को ४ वर्ष मासिक ८ हजार भारतीय रुपैयाँको दरले एकमुष्ठरुपमा तलब भुक्तानी गर्ने भयो । जसवापत सुरुमा सवितालाई ५ लाख ५२ हजारको चेक दिइयो । तर रकमको भुक्तानी ३ महिनापछि मात्रै दिइने भनियो । त्यसको ग्यारेन्टीमा दिल्ली प्रहरी बस्यो ।

जब सविताको उद्धार भयो, त्यतिबेला सविताले अर्को जुनी पाएको भन्दै खुशीले गदगद बनिन् । त्यो बन्धक जीवनबाट बाहिर आएलगत्तै उनले उदयपुरको गाउँमा परिवारका सदस्यहरुलाई सम्पर्क गरिन् । आफू ‘जिउँदै’ र सुरक्षित रहेको भन्दै चाँडै नै नेपाल फर्कने जानकारी दिइन् ।

उद्धार गरिएको ३ दिन अर्थात् ६ अप्रिल २०१८ मा सवितालाई नेपाल ल्याइयो । सुरुको केही दिन सविता आफ्नै घर उदयपुर गइन् । तर सवितालाई गाउँमा बस्न अप्ठेरो भयो ।

गाउँमा केही समय बसेपछि सविता भरतपुरस्थित आफन्त नेपालको सेल्टरमा आइन् । सविताले त्यहीँ सिलाइ कटाइको तालिम लिइन् ।

तर धेरैले सिलाइ–कटाइ को काम गरेको देखेकी सवितालाई त्यो भन्दा भिन्न काम गर्न मन लाग्यो । त्यसपछि सविताले भरतपुरमै कुकको तालिम लिइन् । फास्ट फुडसम्बन्धी कुकको सामान्य तालिम लिएपछि उनलाई क्याफे खोलेर व्यावसाय गर्न मन लाग्यो ।

... त्यसपछि जन्मियो होप क्याफे

उनले तालिम त लिइन्, तर लगानी गर्न पैसा थिएन । दिल्लीबाट आएको पैसा उनले ५ वर्षका लागि फिक्सड डिपोजिट गरिसकेकी थिइन् । त्यो पैसा निकाल्न मिल्दैनथ्यो ।

त्यसपछि सविताका लागि लगानीकर्ताको खोजी भयो । व्यावसाय सञ्चालनमा लागि चेली नेपाल नामक संस्थाले आर्थिक सहयोग गर्ने भयो । तर त्यो सहयोग अनुदान नभएर सापटीकारुपमा । चेली नेपालले लगानी त गरिदिने तर निश्चित समयपछि उक्त रकम फिर्ता गर्नुपर्ने । यद्यपि त्यसको ब्याज भने नलिने ।

सविताले चेली नेपालकै सहयोगमा यो क्याफे खोलेकी हुन् । जहाँ सविताले अर्की एक पीडित किशोरीलाई समेत रोजगारी दिएकी छिन् ।

‘क्याफेको नाम कसले राखिदियो त ?’ हामीले फेरि सोध्यौँ । उनले मुस्कुराएर भनिन्, ‘अब त बुझिहाल्नुभयो नि क्याफेको नाम किन होप क्यापे राखियो भनेर ।’

मतलब ? हाम्रो प्रश्नमा उनले बेलिबिस्तार लगाइन् । उनलाई दिल्लीबाट नेपाल जान पाउँछु, परिवारसँग भेट्न पाउँछु बाहिरी संसारमा आउन पाउँछु भन्ने लागेकै थिएन । उनको सबै आशा सकिएका थिए । नयाँ जीवन जिउन पाउँछु भन्ने सवितासम्म थिएन सवितालाई ।

तर दिल्लीको त्यो बन्धक जीवनबाट बाहिर निस्किएपछि सविताको जीवनमा नयाँ आशा अर्थात् ‘होप’ पलायो । बरु सानो नै काम गर्ने तर आफैँ व्यावसाय गरेर बाँच्ने आशा पलाएपछि त्यही आशाका रुपमा जन्मियो होप क्याफे ।

...

सविताका अनुसार क्याफे त्यति चलेको त छैन, यद्यपि क्याफेले खर्च भने धानेको छ । सापटी रकम फिर्ता गर्न पाएकी छैनन् । यद्यपि अर्की किशोरीलाई दिने सामान्य तलब, क्याफेको भाडा र आफ्नो कोठाको भाडा तिर्न भने सवितालाई पुगेकै छ ।

सविताले क्याफेमा मःमः, चाउमिनदेखि चिकेन चिल्ली, अम्लेट, थुक्पा, फ्राइड राइस, पानी पुरी आदि बेच्ने गरेकी छिन् । उनको क्याफेमा धेरै चल्ने भनेको मःमः र साँझपख पानीपुरी र चटपट नै हो । सविताको दैनिक व्यापार औसतमा ३ हजारको हाराहारीमा हुने गरेको छ ।

तर क्याफेमा काम गर्ने अर्को मान्छे नभएकाले कार्यालयहरुमा खाजा पुराउन जान पाएकी छैनन् । अब बिस्तारै नजिकैको कार्यालयहरुमा सम्पर्क गरी खाजाको अर्डर लिने र खाजा पुराउन जाने सोच पनि सविताले बनाएकी छिन् । क्याफेको सेवालाई थप बिस्तार गर्ने सविताको लक्ष्य छ । तिहारपछि क्याफेलाई नयाँ ढङ्गले चलाउने सविताले सोच बनाएकी छिन् ।

 

बाहिर नजान सविताको आग्रह

८ वर्ष दिल्लीमा बन्धक जीवन बिताएकी सविता कामका लागि विदेशीभूमिमा नजान दिदीबहिनीलाई आग्रह गर्छिन् । केटा मान्छेहरु संघर्ष र विद्रोह गर्न सक्ने भएपनि महिलालाई विदेशमा धेरै गाह्रो हुने सविताको बुझाइ छ । महिलालाई विदेशमा बस्न, काम गर्न धेरै अप्ठेरो रहेको सविताको जिकिर छ । उनी भन्छिन्, ‘बरु देशमै सानोतिनो काम गर्ने र जीवन चलाउने । तर विदेश गएर बन्धक वा नारकीय जीवन नबाँच्ने । पैसा कमाउन नसकिएला तर देशमा इज्जत हुन्छ, स्वतन्त्रता हुन्छ । त्यसकारण विदेश जानुहुन्न ।’

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...