बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ५ मा फस्टायो ‘सामूहिक व्यावसायिक’ फूल खेती

सोमबार, ११ कात्तिक २०७६, ११ : ४४
सोमबार, ११ कात्तिक २०७६

बुटवल– पछिल्ला वर्षहरुमा प्रदेश नम्बर ५ मा व्यावसायिक फूल खेतीतर्फ आकर्षण बढेपछि भारतबाट आयत हुने फूलमा कमी आएको छ । 

विगत वर्षका तुलनामा यो वर्ष भारतबाट फूल आयातमा कमी आएको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

 यसअघि भारतबाट लाखौँ रूपैयाँको सयपत्री, मखमली र कृत्रिम फूलमाला आयात हुने गरेको थियो । यो प्रदेशमा समूह बनाउँदै धमाधम व्यावसायिक फूलखेती गर्न थालेपछि आयातमा कमी आएको पुष्प व्यवसायी सङ्घ प्रदेश पाँचका अध्यक्ष रमेश पाण्डेको भनाइ छ । 

पाण्डेका अनुसार महिलाहरु उत्साहित बनेर प्रदेशमा फूलखेतीमा लागेका छन् । प्रदेशका प्युठान र कपिलवस्तुका विभिन्न ठाउँमा समूहमार्फत फूल खेती गरेर उत्पादन गरेका छन् । 

भैरहवा भन्सार कार्यालय प्रवक्ता कलिराम पौडेलले गतवर्षभन्दा यस वर्ष फूल अयात भारतबाट कम भएको रातोपाटीलाई बताए । उनका अनुसार गत वर्ष कृत्रिम माला मात्रै ५४ लाख ४१ हजार रूपैयाँ बराबरको आयात भएको थियो । यो वर्ष ५२ लाख रूपैयाँको फूल आयात भएको छ । 

धमाधम समूहमा फूल खेती 
रूपन्देहीको तिलोत्तमा नगरपालिका वडानम्बर ४ डिङ्गरनगरका ९ जना महिलाहरुले क्षितिज नमुना कृषक समूूह गठन गरी यस वर्षदेखि व्यावसायिक पुुष्पखेती सुुरु गरेका छन् । रूपन्देहीको सैनामैनामा पनि प्रत्येक वडामा फूल खेती गर्ने अभियान नै चलाइएको छ । 

कपिलवस्तुमा शवराज नगरपालिका–५, नौडिहवामा व्यावसायिक फूल खेती गरिएको छ । प्युठान पनि व्यावासायिक फूल खेती सुरु भएको छ । कपिलवस्तुको शिवराजमा स्थानीय ८ युवाले सञ्चालन गरेको ऋग्वेद कृषि फर्मले १० कट्ठा जमिनमा सयपत्री फूलको खेती गरेको हो  । 

आठमध्ये ६ युवा वैदेशिक रोजगारीबाट फर्किएका हुन् भने २ जना वैदेशिक रोजगारमा जान छोडेर फूल खेतीतर्फ लागेका हुन् । प्रदेश सरकारले पनि पुष्पखेती गर्ने किसानहरूलाई अनुदान दिएको छ जसले किसाहरु उत्साहित बनेको बताउँछन् । 

तिलोत्तमाको  क्षितिज नमुना कृषक समूूहबाट तालिमसमेत लिएका उनीहरुले थोरै लगानीमा धेरै प्रतिफल पाइने भएपछि फूलखेती सुुरु गरेका हुुन् । उनीहरुले १० कठ्ठा जग्गामा गरेको सयत्रपत्री फूलखेती दीपावली (तिहार) का लागि तयार भएको छ । 

समूूहकी अध्यक्ष नविना भण्डारीले स्थानीयस्तरमै रोजगार सिर्जना गरी भारतीय फूूलको आयात रोक्न पुुष्पखेती सुुरु गरेको बताइन् । समूहमा आबद्ध महिलाहरु  बिहानदेखि साँझसम्म बगैँचामा फूूलको व्यवस्थापनमा खटिन्छन् । उनले भनिन्, ‘अहिलेको तिहारमा ५ हजार माला बिक्री गर्ने लक्ष्य छ ।’ 

बुुटवल–१३, नयाँगाउँमा पौरखी कृषि नारी फर्म चार जना महिलाहरुले पनि यस वर्षदेखि फूूलखेती सुुरु गरेका छन् । सीता खनाल, बनिका भण्डारी, टीका भण्डारी र कान्त बेल्वासेले २ लाख लगानीमा पुुष्प खेतीमा हात हालेका हुन् । उनीहरुले पहिलो लटमा २० हजारभन्दा बढीको फूूल बिक्री गरिसकेका छन् । 

गत वर्षदेखि तिलोत्तमाको मधवलियामा देवी वाग्लेलगायतको महिला समूूहले तिलोत्तमा सहकदम कृषक समूह गठन गरी पुुष्पखेती सुरु गरेका थियो ।  यो वर्ष यो समूहले कुञ्जलापुरमा पुष्पखेती गरेको छ । गत वर्ष दुई हजार ५ सय माला बिक्री गरेको समूहले यो वर्ष त्यसलाई बढाउने लक्ष्य लिएको छ ।

रूपन्देहीको तिलोत्तमाम नगरपालिकाले गत वर्ष सार्वजनिक कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका जारी गरी भारतीय माला र फूल तथा खादाको प्रयोगमा निषेध गरेसँगै यहाँ व्यावसायिक पुष्पखेती सुरु भएको देवी वाग्लेको भनाइ छ । पुष्प व्यवसायी सङ्घ प्रदेश पाँचका अध्यक्ष रमेश पाण्डे महिलाहरुले उत्साहजनक रूपमा फूल खेतीमा लागेकाले केही वर्षभित्रै प्रदेश पाँच फूलमा आत्मनिर्भर हुने बताउँछन् । 
पाण्डे भन्छन्, ‘फूलमा आत्मनिर्भर बन्न निजी क्षेत्रबाट हामीले धेरै काम गरिरहेका छौँ । राज्यले पुष्पखेतीमा निजी क्षेत्रलाई प्रोत्साहन गर्न आवश्यक छ ।’ 

हरेक वर्ष फूलहरुमा नेपाली रकम विदेशिन थालेपछि अघिल्लो वर्षदेखि रूपन्देहीको तिलोत्तमा फूल खेती सुरु गरिएको थियो । तिलोत्तमाबाट सुरु भएको फूल खेती यस वर्ष बढेर जिल्लाका दर्जन बढी स्थानमा फैलिएको छ । उनले राज्यका प्राविधिकहरुले सबै प्रकारका बाली लगाउन सिकाउने गरे पनि फूल लगाउने विधि र तरिका राज्यकै कृषि निकायलाई थाहा नभएको बताउँछन् ।

कृत्रिम मालाको माग पनि उस्तै 
पुष्प व्यवसायी सङ्घ प्रदेश पाँचका अध्यक्ष रमेश पाण्डले प्रदेशमा प्रशस्त मठमन्दिर भएको, धार्मिक कार्य, मेला महोत्सव तथा  सभा समारोहमा पनि मालाहरुको माग बढ्दो भएको बताए । उनका अनुसार भारतबाट आयात हुने फूल उपभोक्तासम्म आइपुग्दा महँगो हुने भएकाले पनि आफ्नो क्षेत्रमा फूलखेती गर्दा सस्तोमा उपलब्ध गराउँन सकिने र स्वदेशको पैसा स्वदेशमा नै लगानी हुने भएकाले फूलखेतीको महत्त्व धेरै नै रहेको छ । 


व्यावसायीहरुका अनुसार कृत्रिम माला तिहारमा मात्र नभएर अन्य बेला पनि प्रयोग हुन थालेको छ । तिहारमा फूल नपाउने र फूललाई धेरै दिनसम्म राख्न नसकिने भएकोले कृत्रिम मालाको रोजाइ बढेको हो ।

कृत्रिम माला पटक पटक पनि प्रयोग गर्न सकिने भएकाले उपभोक्ताहरु अन्य मालाको झन्झटबाट टाढिएका हुन् । 

बुटवलका विभिन्न सपिङ सेन्टरदेखि हाटबजारसम्म कृत्रिम माला बिक्रीका लागि राखिएका छन् । अहिले तिहार लक्षित गरेर विभिन्न चोकहरुमा  पनि फूलमाला बेच्च राखिएका छन् । 

सक्कली फूलको माला पाउनै गाह्रो र पाए पनि महँगो पर्न थालेपछि नक्कली  आर्थत् कृत्रिम मालाको बजारमा बिगबिगी भएको हो । बुटवल नेपालगञ्जरोडका मजिद मियाँले मात्र वार्षिक ७० लाखभन्दा बढीको नक्कली फूलमालाको कारोबार गर्ने गरेको बताए । 

कृत्रिम माला लामो समयसम्म राख्न र बेच्च मिल्ने भएकाले सयपत्री र मलखलीभन्दा कृत्रिम माला धेरैको रोजाइमा पर्ने गरेको बुटवल उद्योग वाणिज्य महासङ्घका महासचिव हरिप्रसाद अर्याल बताउँछन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप