बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘ट्र्याकर डग’ कुशल : जसले एक वर्षमा ३ अपराधी पत्ता लगायो

आइतबार, १० कात्तिक २०७६, १७ : ४१
आइतबार, १० कात्तिक २०७६

नेपाल प्रहरीमा अपराध अनुसन्धान, नियन्त्रण तथा रोकथामको साथै विशिष्ट व्यक्तिहरूको गतिविधि तथा सुरक्षाल गायतका विषयमा कुकुरको महत्त्वपूर्ण भूमिका रहन्छ ।

२०७५ मा उत्कृष्ट डगमा ४ नम्बर प्रदेश प्रहरी कार्यालय, कुकुर शाखा पोखरामा सेवारत जर्मन सेफर्ड जातको ‘कुशल’को नाम सिफारिस भयो । ‘कुशल’ले २०७५ सालमा तीनवटा घटनामा सफलता हात पार्यो ।

पोखराकी श्रेया सुनारको हत्यारा, पोखराकै श्रीमाया गुरुङको हत्यारा र अर्का एक पुरुषको हत्यारालाई पक्राउ गर्न कुशलले सफलता पाएको थियो । कुशलले कसरी तीनवटा घटना पत्ता लगायो तल पढौँ ।

श्रेया सुनार हत्या प्रकरण

गत असोज ८ मा कास्कीको पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीबाट हराएकी श्रेया सुनारको बलात्कारपछि हत्या भयो ।

८ गते साँझ श्रेयाका छिमेकी कुसुम पौडेलले उनलाई बलात्कारपछि ढुङ्गाले टाउकोमा हानी हत्या गरेका थिए । श्रेया हत्यापछि शव प्रहरीले ९ गते बिहान झाडीमा फेला पार्यो ।

तर श्रेयाको कसले हत्या गर्यो भन्ने अनुमान गर्न समेत प्रहरीलाई हम्मे हम्मे भयो । प्रहरीलाई कुकुरको भर पर्नुको विकल्प थिएन । अन्ततः प्रहरीले ट्र्याकर डगको सहायता लिन पुग्यो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका इन्सपेक्टर विक्रमबहादुर पाण्डेको नेवृत्वमा कुशल नाम गरेको ‘ट्र्याकर डग’लाई घटनास्थलमा लगियो । पाण्डेले घटनास्थलमा श्रेयालाई प्रहार गरिएको ढुङ्गा भेटे र कुशललाई त्यही ढुङ्गा सुँघाए ।

घटनास्थलमा भेटिएको ढुङ्गाबाट कुशलले असोज १० मा सोही गाउँकै कुसुम पौडेललाई सङ्केत गरे । त्यही आधारमा प्रहरीले पौडललाई पक्राउ गर्यो ।

अन्ततः कुसुमले पनि श्रेयाको हत्या गरेको स्वीकारे ।

श्रीमाया गुरुङ हत्या प्रकरण

पोखरा महानगरपालिका–३२ को खुदीखोला सुकुम्बासी बस्तीमा बस्ने ६० वर्षीया श्रीमाया गुरुङको हत्या भयो । ढुङ्गा र हसिया प्रयोग गरेर श्रीमायाको गत असोज ११ गते हत्या भएको थियो ।

श्रीमायाको हत्या गरेर हत्यारा फरार भए । हत्यारा श्रीमायाको आफ्नै श्रीमान भनेर प्रहरीलाई अुनमान गर्न समेत सजिलो थिएन ।

प्रहरीले श्रीमायाको हत्यामा प्रयोग गरिएको ढुङ्गा र हसिया भेट्यो । प्रहरीले ट्र्याकर डग कुकुर ‘कुशल’लाई त्यही ढुङ्गा सुँघाए । घटनास्थलमा भेटिएको ढुङ्गा र हसियाबाट कुशलले यमबहादुर गुरुङलाई धानबारीबाट पक्राउ गर्न सफल भयो ।

पक्राउ परेका यमबहादुरले हत्यापछि शवलाई बोरामा पोको पारेर घरभन्दा केही पर फालेर धानबारीमा लुकेर बसेको बयानसमेत प्रहरीसमक्ष दिएका छन् ।

बेवारिसे शव प्रकरण

गत मङ्सिर ७ गते पोखरा शुक्लागण्डकी नगरपालिका–कवासेस्थित कार्की डाँडामा एक पुरुषको हत्या गरेर फालेको अवस्थामा शव फेला पर्यो । शव फेला परेसँगै प्रहरीले अनुसन्धान सुरु गर्यो ।

प्रहरी एक हप्तासम्म पनि हत्यारासम्म पुग्न सकेन । त्यसपछि जिल्ला प्रहरी कार्यालय कास्कीले हत्यारा पत्ता लगाउन ‘कुशल’को नै सहायता लियो ।

घटनास्थलमा प्राप्त सबुदको गन्धका आधारमा कुशलले विनोद विकको व्यक्तिलाई पक्राउ गर्न सफल यो । अन्ततः विनोदले नै व्यक्तिगत रिसिबीका कारण हत्या गरेको प्रहरीसमक्ष बयान दिए ।

डग स्कुलका डीएसपी रामचन्द्र सत्यालले कुशलको उत्कृष्ट काम देखेर नै ०७५ सालमा उत्कृष्ट ‘डग’मा पर्न सफल भएको बताए । कुशलको कामप्रति नेपाल प्रहरी सन्तुष्ट छ ।

लैला कुकुरको लिला

नेपाल प्रहरीमा ट्र्याकर डग ‘लैला’ पनि छ । लैलाले एउटा घटना अचम्म तरिकाले सफल गरेको छ ।

गत कात्तिक २६ गते उदयपुर रौतामाई गाउँपालिका–३ बस्ने एलजिना खड्का जङ्गलमा मृत अवस्थामा फेला परे । प्रहरीले खड्काको हत्या कसले किन गर्यो भनेर पत्ता लगाउन सकेन ।

प्रहरीले घटना अनुसन्धान गर्न धरानमा सेवारत अपराधी विषयको तालिम प्राप्त ‘लैला’ नामको कुकुरलाई पठाइयो ।  अभियुक्तले टेकेको पाइलाको गन्ध सुँघाएर लैलालाई छाडियो ।

लैलालाई परिचालन गर्दा ८०० मिटरसम्म ट्र्याक लिएको र सोही आधारमा अभियुक्त पक्रन सफल भएको प्रहरीको भनाइ छ ।

पैतलाको फुड प्रिन्ट सुँघाएर कुकुरले अभियुक्त पक्रेको नेपाल प्रहरीमा यो पहिला घटना हो । डग स्कुलका डीएसपी रामचन्द्र सत्याल भन्छन्, ‘यो काममा लैला डगको अचम्मको लिला नै हो ।’

रिया

रिया नाम ‘एक्सप्लोसिभ डग’ हो । बेल्जिय सेफर्ड जातको यो कुकुर भिआइपी, भिभिआइपीको सुरक्षा र बम, बारूद, विस्फोटक पदार्थ पत्ता प्रयोग गरिन्छ ।

जोली

नेपाल प्रहरीको डग स्कुलमा जोली नामको पछिल्लो समय धेरै नै चर्चा छ । पूर्वराजदूत केशव झाको हत्यारा पत्ता लगाएको थियो जोलीले ।

जोली ‘ट्रयाकर डग’ हो । ब्लडहाउण्ड जातको यो कुकुर हत्या, अपहरण, बलात्कारजस्ता घटनाको अनुसन्धानका लागि प्रयोग गरिन्छ ।

साथी

साथी पनि ‘एक्सप्लोसिभ डग’ हो । ल्याब्राडोर जातको यो कुकुर पनि भिआइपी, भिभिआइपीको सुरक्षा र बम, बारूद, विस्फोटक पदार्थ पत्ता प्रयोग गरिन्छ ।

स्याडो

‘सर्च एण्ड रेस्क्यू डग’ हो स्याडो । जर्मन सेफर्ड जातको यो कुकुर बाढी, पहिरो, भूकम्पलगायतका प्राकृतिक विपदमा परेर हराएका मानिसको खोजी गर्न प्रयोग गरिन्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप