शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अपराधी सुँघ्ने कुकुर

कुकुरले पत्ता लगाएका प्रमुख १५ घटना
आइतबार, १० कात्तिक २०७६, ११ : ०७
आइतबार, १० कात्तिक २०७६

तिहारको दोस्रो दिन अर्थात् कुकुर तिहार । हिन्दु धर्मावलम्बी नेपालीहरूको दोस्रो ठूलो चाडअन्तर्गत तिहार (यमपञ्चक)को दोस्रो दिन कुकुर तिहार मनाउने गरिन्छ । यस दिन कुकुरको पूजा गरी मीठामीठा खानेकुरा दिने प्रचलन छ । 

रक्षक तथा पहरेदारका रुपमा कुकुरले निर्वाह गर्ने भूमिकाकै कारण कतिपयले कुकुर पाल्ने गर्छन् । आजको दिन कुकुरलाई भोजन गराउँदा यमराज तथा पितृहरू खुसी हुने धार्मिक मान्यता छ ।

कुकुर आज्ञाकारी र विश्वासिलो घरपालुवा जनावर हो । यही विशेषताका कारण कुकुरलाई विशेष तालिम दिएर सुरक्षा निकायले अपराध अनुसन्धानमा प्रयोग गर्दै आएका छन् । 

प्रहरी सेवामा २०२६ सालदेखि कुकुर सामेल
२०२६ सालदेखि प्रहरीले ‘डग सर्भिस’ सुरुवात गरेको हो । त्यतिबेला मलेसियामा भएको कुकुर तालिममा नेपाल प्रहरीका सई प्रतापकुमार वान्तवाको कमाण्डमा ५ प्रहरीले भाग लिएका थिए । कुकुरले प्रहरीलाई अपराध अनुसन्धानमा सहयोग गरेका धेरै कामहरू उक्त तालिममा देखाइएको थियो । 

तालिम पश्चात मलेसियाले नेपाल प्रहरीलाई २ वटा तालिमप्राप्त कुकुर दिएको थियो । रिभल र होस्का नाम गरेका दुई वटा कुकुर त्यतिबेला नेपाल प्रहरीले मलेसियाबाट ल्याएको थियो । ती दुवै कुकुर जर्मन सेफर्ड जातका थिए । पछि थप २ वटा तालिमप्राप्त कुकुर किनेर ४ वटा कुकुरबाट नेपाल प्रहरीले २०२६ सालबाट ‘डग सेवा’ सुरु गरेको हो । 

प्रहरीसँग चार विधाका ८५ तालिमप्राप्त कुकुर
संसारमा पाइने १ सय ८९ प्रजातिका कुकुरमध्ये आठ प्रजातिलाई मात्रै नेपाल प्रहरीले अपराध अनुसन्धानमा प्रयोग गर्दै आएको छ । नेपाल प्रहरीसँग जर्मन सेफर्ड, ल्याब्रोडर, ककर स्प्यानियल, गोल्डेन रिट्रिभर, बिगल, बेल्जियम मेनोलोइज, ब्लड हाण्ड र डच सेफर्ड गरी आठ प्रजातिका ८५ वटा कुकुर रहेको डग स्कूलका डीएसपी रामचन्द्र सत्यालले बताए ।

डग स्कूलका डीएसपी रामचन्द्र सत्याल

यी कुकुरलाई प्रहरीले ट्रयाकर डग, एक्सप्लोसिभ डग, सर्च एण्ड रेस्क्यू डग, ड्रक्स सर्च डग गरी चार विधामा वर्गीकरण गरी परिचालन गर्दै आएको छ ।

कसरी दिइन्छ तालिम ?
कुकुरलाई विषयगत रुपमा छुट्टाछुट्टै प्रकारका तालिम दिइन्छ । नेपाल प्रहरीसँग रहेका कुकुरहरुलाई हाल नेपालमै तालिम दिइन्छ । पहिला–पहिला अन्य मुलुकबाट तालिम गराएर ल्याइने गरे पनि हाल नेपालमै तालिम दिन थालिएको हो ।

तीन महिनाको आधारभूत तालिम दिएपछि कुकुरको क्षमताअनुसार विधा छुट्याएर अनुसन्धानमा लगाउने गरेको डीएसपी सत्यालले रातोपाटीसँग बताए । 

बाढी, पहिरो, भूकम्पलगायतका प्राकृतिक विपदमा परेर हराएका मानिसको खोजी गर्न ‘सर्च एण्ड रेस्क्यू डग’ प्रयोग गरिन्छ भने ‘ड्रग्स सर्च डग’ विधाका कुकुर लागूऔषध सम्बन्धी अनुसन्धानमा प्रयोग गरिन्छ । 

‘ट्रयाकर डग’लाई हत्या, अपहरण, बलात्कारजस्ता घटनाको अनुसन्धानका लागि प्रयोग गरिन्छ । भिआइपी, भिभिआइपीको सुरक्षा र बम, बारूद, विस्फोटक पदार्थ पत्ता लगाउन ‘एक्सप्लोसिभ डग’ प्रयोग गरिन्छ । 

प्रहरीसँग रहेका कुकुरले घटनास्थलमा छाडिएको सबुत प्रमाणलाई सुँघेर अपराधी पत्ता लगाउँछन् । नेपालमा पाइने स्थानीय भोट जातको कुकुरको सुघ्ने क्षमता (अल फ्याक्ट्री सेल्स) १ सय ५० मिलियन हुन्छ भने जर्मन सेफर्ड, ल्याब्रोडर लगायत प्रहरीसँग भएका तालिमप्राप्त कुकुरमा २ सय २५ देखि ३ सय मिलियनसम्म ‘अल फ्याक्ट्री सेल्स’ हुन्छ । 

सर्बियाको कुकुर सबैभन्दा चनाखो
सर्बियाबाट ल्याइएको कुकुर सबैभन्दा चनाखो मानिन्छ । बेल्जियममा उत्पत्ति भएको बेल्जियम सेफर्ड जातको यो कुकुरलाई प्रहरीले बम तथा विस्फोटक पदार्थ खोजीमा प्रयोग गर्दै आएको छ ।

यसलाई प्रहरीले २०७३ सालमा अमेरिकाबाट तालिम गराएर ल्याएको हो । हाल नेपाल प्रहरीसँग यस जातको पाँच वटा कुकुर छन् । पाँचवटै कुकुर बम तथा विस्फोटक पदार्थ खोजीमा परिचालन गरिँदै आएको छ ।

त्यो कुकुरको क्रियाकलाप देखेपछि नेपाल प्रहरीले पछिल्लो समय त्यही जातको कुकुर ल्याउन खरिद प्रक्रिया अगाडि बढाएको डीएसपी सत्यालले जानकारी दिए । 

के खान्छन् कुकुरले ?
तालिम प्राप्त कुकुरलाई दैनिक ‘डग फुड’ खुवाइन्छ । एउटा स्वस्थ कुकुरलाई १ केजी तौल बराबर १ सय ३२ क्लोरिनको आवश्यकता पर्छ । 

एउटा कुकुरले दैनिक ६ सय ग्राम खाना खान्छ । एकदिनमा कुकरले ३ सय ४० रुपैयाँ बराबरको खाना खान्छ । प्रहरी कर्मचारीले भने खानाका लागि दैनिक १५० रुपैयाँ पाउने गर्छन् । 

२०३२ सालमा विधिवत स्थापना
नेपाल प्रहरीले २०३२ सालमा प्रहरी कुकुर सेक्सन स्थापना गरेर औपचारिक रुपमा अनुसन्धानका लागि कुकुर पाल्न थालेको हो । उक्त सेक्सनलाई विकास गर्दै प्रहरीले २०४७ सालमा केन्द्रीय कुकुर तालिम केन्द्र नै बनाएको छ । 

प्रहरीले प्रदेश ५ बाहेक ६ वटा प्रदेशमा क्षेत्रीय कुकुर शाखासमेत स्थापना गरेको छ । प्रदेश ५ मा पनि क्षेत्रीय कुकुर शाखा विस्तार गर्ने तयारी भइरहेको छ । 

नेपाल प्रहरीले कहिलेकाहीँ अनुसन्धानमा पोख्त अधिकारी र प्रविधिले हार खाएका कतिपय जटिल अपराधका गाँठा कुकुरकै सहायताले फुकाएको छ । विश्वभरका प्रहरीले अपराध अनुसन्धानमा कुकुरको सहयोग लिँदै आएका छन् । कतिपय अवस्थामा अनुसन्धान अधिकृतहरूले पत्ता लगाउन नसकेका अपराधी कुकुरको सहयोगमा पत्ता लागेका छन् । 

कतिपय घटनामा प्रहरीले ‘अपराधी’ ठानेका व्यक्ति पनि वास्तविक अपराधी होइनन् कि भन्ने आशंका गर्ने गरिएको छ भने कुकुरले पत्ता लगाएका अपराधी सही हुन् भन्ने विश्वास बढ्ने गरेको छ । कुकुरमा भएको अद्भुत क्षमताका कारण नै उसले पत्ता लगाएकालाई वास्तविक अपराधी मानेर विश्वास गर्ने गरिएको हो । 

कुकुरले हासिल गरेका मूख्य सफलता
पछिल्लो ५ वर्षमा नेपाल प्रहरीका कुकुरले ३३ वटा घटनामा सफलता हात पारेको छ । ‘ट्रयाकर डग’ले ९ वटा घटनामा सफलता हात पारेको हो । ‘ड्रग्स सर्च डग’ले ५ वटा, ‘सर्च एण्ड रेस्क्यू डग’ले १० वटा र ‘एक्सप्लोसिभ डग’ले ८ वटा घटनामा सफलता हात पारेको डीएसपी सन्त्यालको भनाइ छ ।

प्रहरीसँग रहेका कुकुरले पत्ता लगाएका प्रमुख १५ घटना

घटना नम्बर १
२०४० सालमा दोलखाको चरिकोटमा एकै परिवारका चारजनाको विभत्स हत्या भयो । हत्या कसले र किन गरायो भन्ने खुल्न सकेन । प्रहरीले ‘डग स्कुल’ काठमाडौंबाट अनुसन्धानमा खटायो ‘नानी’ नामको कुकुरलाई । 

नानीले हत्यामा प्रयोग गरिएको खुकुरी बाँसको झाङमा फेला पा¥यो । त्यही खुकुरीको बिँड सँुघेर ‘नानी’ले हत्यारा पत्ता लगाएको थियो । हत्या गर्ने व्यक्ति थिइन्– शोभा श्रेष्ठ । 

घटना नम्बर २
२०५३ साल फागुन १८ गते बुढानीलकण्ठमा ६० वर्षीया वृद्धाको हत्यारा पनि कुकुरले नै पत्ता लगाएको थियो । देवरका छोरा र ज्वाइँले वृद्धाको घाँटी थिचेर हत्या गरेको तथ्य कुकुरकै सहयोगमा प्रहरीले पत्ता लगाएर अपराधी पक्राउ गरेको थियो ।

घटना नम्बर ३
३५ वर्षका देवराज न्यौपानेको २०६२ वैशाख २६ गते सुनसरीको धरान नगरपालिकास्थित पञ्चकन्या मन्दिरमा रहस्यमय तरिकाले हत्या भएको थियो । उनको गर्धनमा खुकुरी प्रहार गरी हत्या भएको थियो ।
अनुसन्धानमा खटिएको ‘आकाश’ नामको कुकुरले शर्मिला लिम्बूलाई संकेत गरेपछि डग ह्याण्डलरले उनलाई हत्कडी लगाए । पछि हत्यारा शर्मिला नै भएको पुष्टि भयो । 

घटना नम्बर ४
बाराका पत्रकार वीरेन्द्र साह २०६४ कात्तिक १८ गते अज्ञात समूहद्वारा अपहरणमा परे । पत्रकार साह अपहरणमा परेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले उनको खोजी गरे ।

एक महिनासम्म खोजी गर्दा पनि साहको अवस्थामा पत्ता लागेन । एक महिनापछि साहको खोजी गर्न प्रहरीको केन्द्रीय डग तालिम केन्द्रबाट ‘ब्ल्याकी’ नामको कुुकर पठाइएको थियो । ब्ल्याकीले दुई दिनपछि कात्तिक २२ मा बाराको भैवानाकाको जंगलमा पत्रकार साहको शव गाडिएको स्थान पत्ता लगायो । 

घटना नम्बर ५
नेपाल प्रहरीले कुकुरको सहायताले ठमेल र बसपार्क क्षेत्रबाट ठूलो मात्रामा लागूऔषध बरामद गरेको छ । प्रहरीको कुकुरले २०६९ मंसिर २७ गते लागूऔषधका मुख्य नाइके भारतीय नागरिक पुतन खानसहित दुई जनालाई पक्रन सफल भएको थियो । 

घटना नम्बर ६
रसुवाको ब्राप्चेको पहिरोमा २०७० माघ १० गते सिभिल इन्जिनियर चेरव घिमिरे पुरिएर बेपत्ता भएका थिए । ‘रेस्क्यु’ र ‘खुस्बु’ नामक दुई कुकुरको सहयोगमा घिमिरेको शव फेला पारेको थियो । 

भूकम्प गएका बेला मानिस पुरिएको आशंका भएका काठमाडौंका धेरै ठाउँमा कुकुर प्रयोग गरी उद्धारको काम गरिएको थियो । 

घटना नम्बर ७
२०७१ असोज १४ गते राति लमजुङको पिप्ले ४ भोटेओडारमा अर्जुन प्रसाद रेग्मीसहित ३ जनाको हत्या अभियोगमा घटनास्थलमा प्राप्त सबुतको गन्ध दिई कुकुर परिचालन गर्दा ज्वाला नामको कुकुरले अभियुक्त राममणी रेग्मीलाई पक्रन प्रहरी सफल भएको थियो । 

घटना नम्बर ८ 
२०७२ फागुन ५ गते बर्दिया जिल्ला ठाकुरद्वारा गाविस–४ सुस्तामा अन्दाजी ६८ वर्षीय जोरा सिंह थापाको हत्याको अनुसन्धानको लागि भुन्टी नामको कुकुरलाई उक्त घटनास्थलमा प्राप्त सबुदको गन्ध दिई परिचालन गर्दा अजित बुढा (वैकल्पिक नाम टोप बहादुर बुढा) लाई पक्रन प्रहरी सफल भएको थियो ।

घटना नम्बर ९ 
२०७४ जेठ ९ गते ललितपुरको गोदावरी नगरपालिका–११ बस्ने दिपक दमाई सोही नगरपालिकाको वडा नं ११ छम्पी र चापागाँउ बीचको खोल्सामा मृत अवस्थामा फेला परेका थिए । उक्त घटनाको अनुसन्धानका लागि ‘लिजा’ नाम गरेको कुुकुरलाई घटनास्थलमा प्राप्त सबुदको गन्ध दिई परिचालन गर्दा कुकुरले लिएको ट्र्याकको आधारमा अभियुक्त पक्राउ गर्न सफल भएको प्रहरीको भनाइ छ ।

घटना नम्बर १०
२०७५ भदौ ३ गते काठमाडौंको थापाथली, कुरिया गाउँस्थित पूर्वराजदूत केशवराज झाको आफ्नै घरको बेडरुममा मृत अवस्थामा फेला परेका थिए । सो घटनाको अनुसन्धानमा ‘जुली’ र ‘म्याक्सल’ नाम गरेका दुई कुकुरलाई घटनास्थलमा प्राप्त सबुदको गन्ध दिई परिचालन गर्दा सोही घरमा सहयोगीको रुपमा काम गर्ने सानु कान्छा तामाङ सुत्ने कोठासम्म पुगेको तथ्य प्रकाशमा आएको प्रहरीले जनाएको छ ।

घटना नम्बर ११
२०७५ असोज ९ गते पोखरा महानगरपालिका–२२ पुम्दिभुम्दी, कोदीबाट हराईरहेकी बालिका श्रेया सुनार जंगलको झाडीमा मृत अवस्थामा भेटिएको घटनाको अनुसन्धानमा पनि कुकुरले तत्कालै सफलता हात पारेको थियो । अपराधी खोजीमा तालिमप्राप्त ‘कुशल’ नामको कुकुरलाई अभियुक्तले हत्या गर्न प्रयोग गरेको सबुद प्रमाण, ढुंगामा रहेको गन्ध दिई परिचालन गर्दा सोही गाउँकै कुसुम पौडेल नाम गरेको व्यक्तिलाई पक्राउ गर्न प्रहरी सफल भएको थियो ।

घटना नम्बर १२ 
२०७५ असोज ११ गते पोखरा महानगरपालिका–३२, पाँच नं टोल खुदिखोला बस्ने वर्ष ६० की श्रीमाया गुरुङको शव फेला परेपछि उनको हत्यामा संलग्नलाई पक्राउ गर्न पनि प्रहरीको तालिमप्राप्त कुकुरले सफलता पाएको थियो । कुकुरले सुँघेरै धानबारीमा लुकीछिपी बसेको अवस्थामा मृतकको श्रीमान् यम बहादुर गुरुङलाई फेला पारेको थियो जसले प्रहरीसमक्ष पत्नीको हत्या गरेको स्वीकार गरेका थिए ।

घटना नम्बर १३
२०७५ मंसिर ७ गते शुक्ला गण्डकी नगरपालिका–३ कवासेस्थित कार्की डाँडामा बेवारिसे अवस्थामा एक पुरुषको शव भेटिएको थियो । उक्त घटनाको अनुसन्धानमा ‘कुशल’ नाम गरेको कुकुर परिचालन गरिएको थियो, जसले बिनोद विक नाम गरेको व्यक्तिलाई पक्राउ गर्न सफल भएको थियो ।

घटना नम्बर १४
२०७६ जेठ २७ गते स्याङ्जा, भिरकोट नगरपालिका–१ बयरघारीस्थित बजारको सडक छेउ एक पुरुषको शव फेला परेको थियो । घटनाको अनुसन्धानका लागि पोखराबाट लगिएको ‘जङ्गे’ नाम गरेको कुकुरले हत्यामा संलग्न लेखाबहादुर सुर्यबंशीलाई पत्ता लगाएको थियो ।

घटना नम्बर १५
२०७५ कात्तिक २६ गते उदयपुर, रौतामाई गाउँपालिका–३ बस्ने एलजिना खड्का जंगलमा मृत अवस्थामा फेला परेकी थिइन् । घटनाको अनुसन्धानमा धरानबाट ‘लैला’ नाम गरेको कुकुर लगिएको थियो । अभियुक्तले टेकेको पाइलाको गन्ध दिई परिचालन गर्दा ‘लैला’ले अभियुक्त पत्ता लगाउन सघाएको थियो ।

तस्विर तथा भिडियो : कृष्ण खड्का

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप